PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

राजस्वका पूर्वअधिकृत रिजालविरुद्ध तीन करोडको अकुत सम्पत्ति मुद्दा दायर



पहिलोपोस्ट

राजस्वका पूर्वअधिकृत रिजालविरुद्ध तीन करोडको अकुत सम्पत्ति मुद्दा दायर

काठमाडौँः अवकाशको करिब एक वर्षपछि राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध अख्तियारले अकुत सम्पत्तिमा मुद्दा चलाएको छ। पदमा रहँदा गैरकानुनी रूपमा करिब तीन करोड स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

३४ वर्षको सरकारी सेवाबाट रिजालले ०७४ वैशाखमा अवकाश पाएका थिए।

अख्तियारले छानबिनका लागि लिइएको जाँच अवधिमा रिजालको पारिश्रमिक आय¸ जग्गा विक्री¸ श्रीमती स्वस्थानी रिजालको नाममा सञ्चालित सञ्जीवनी आयुर्वेदिक डिस्ट्रिव्युटर्स र पिगासस् ट्राभल्स् एण्ड टुर्सको आय¸ अवकाशपछिको सुविधा समेत गरी एक करोड ९६ लाख ८६ हजार ५०९ रुपियाँ आय कायम गरेको छ।

सोही अवधिमा जग्गा खरिद¸ घर निर्माण¸ सवारीसाधन खरिद¸ पिगासस् ट्राभल्स् एण्ड टुर्स प्रालिको लगानी विभिन्न बैङ्क तथा वित्तीय संस्थाको सेयर खरिद, बैङ्क मौज्दात समेत गरी चार करोड ९४ लाख २४ हजार ८१९ रुपैयाँ खर्च तथा लगानी रहेको अख्तियारको ठहर छ।

रिजालले खर्च र आयबीचको अन्तर कायम भएको दुई करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँलाई अख्तियारले स्रोत खुल्न नसकेको सम्पत्तिमा गणना गरेको छ।

अख्तियारले स्रोत खुल्न नसकेको दुई करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँलाई बिगो कायम गरेको छ। बिगो अनुसारको जरिवाना पनि अख्तियारले दाबी गरेको छ। अवैध सम्पत्ति लुकाउन सहयोग गरेको अभियोगमा श्रीमती स्वस्थानीलाई पनि मतियारका रूपमा प्रतिवादी कायम गरिएको छ।

गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबाट बढे बढाएको रकम जफतको माग पनि आयोगले गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell