PahiloPost

May 15, 2024 | २ जेठ २०८१

फागुन ७ को सम्झना : दिल्लीमा ५ बुँदे प्रस्ताव बनिरहँदा भारदारबीच छलफल : राजा ज्ञानेन्द्र कि त्रिभुवन?



पहिलोपोस्ट

फागुन ७ को सम्झना : दिल्लीमा ५ बुँदे प्रस्ताव बनिरहँदा भारदारबीच छलफल : राजा ज्ञानेन्द्र कि त्रिभुवन?

२००७ साल माघ १८ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन भएछ। धेरै मानिस समातिएछन्। 'निरंकुश राणा शासन मुर्दावाद', 'श्री ५ त्रिभुवन जिन्दावाद' भन्ने नारा लागेछ। ब्रिटिस र अमेरिकाका प्रतिनिधिहरुले मोहनशम्शेरसँग भेटवार्ता गरेछन्। तर मोहनले आफ्नै कुरा ठीक भनी अडान लिएपछि यी दुवै देशले भारतले अपनाउने नीति अपनाई ज्ञानेन्द्रको राज्यारोहणलाई अवैध मानेछन्।

यसबेलासम्म सशस्त्र क्रान्तिले उग्ररुप लिइसकेको थियो। उनीहरु (मुक्तिसेना) क्रान्तिमा भाग लिनुअघि आत्मराम ओझाले लेखेको राष्ट्रिय गीत गाउने गर्थे। यो गीत सबैले मिलेर गाइसकेपछि अनि अगाडि बढ्ने गर्थे रे। त्यो गीत यस्तो बोलीमा रहेछ :

सेती गण्डकी पश्चिमककाली पूर्व छ मेची सिमाना
मानसरोवर उत्तरपथको प्राकृत बन्यो निशाना
गोरखावीर जगत प्रख्यात अमर नाम गर आउ
देशद्रोही शोषक नाम मिटाउ
 
वीरगञ्ज, विराटनगर, कोइलावास, दाङ, देउखुरी, भालुवाङ, जाजरकोट, मुसिकोट, प्युठान, सल्यान, सुनारपानी र अरु धेरै ठाउँ मुक्तिसेनाले कब्जा लिइसकेको थियो। काठमाडौं जेल तोड्न गएको जुलुसमाथि गोली चलाउँदा धरहरानजिकै भोगेन्द्र सिं भन्ने मारिएछन्।

भक्तपुर, पाटनमा पनि यस्ता जुलुस ठाउँ ठाउँबाट निस्किए। राणा सरकारले अब कन्ट्रोल गर्न सक्ने अवस्था भएनछ। यसपछि म बसेको हैदरावाद हाउसमा मलाई भेट गर्न सिंहशमशेर केशरशमशेर र विजयशमशेर आएको खबर आयो।

मैले सबैसँग सल्लाह गरेर यिनीहरुलाई भोलिपल्ट भेट गरेँ। उनीहरुले मलाई आराम विरामको प्रश्न सोधे। मैले बडो दयनीय अवस्थामा भने – शरीरलाई आराम छ तर मोहनशमशेरको एकोहोरो प्रवृत्तिले देशमा नेपालीहरुले दु:ख पाएको देख्दा मनमा चाहिँ पटक्कै आराम छैन।

उनीहरुले कुनै जवाफ नदिएर अकमक्किएर मलाई हेरिरहे। त्यसपछिका अन्य भलाकुसारीपछि मैले मोहनशमशेरलाई देखाएर स्वीकार गराउन ५ बुँदे टिपोट दिएँ। त्यो यसप्रकार थियो :

श्री ५ त्रिभुवनलाई नेपालको राजा मान्ने
नेपालको नयाँ विधान तयार गर्ने र बालिग मताधिकारको आधारमा चुनाव गर्ने
सबै राजनीतिक बन्दीहरुलाई तुरुन्त रिहा गर्ने
राजनीतिक संगठन बनाउने अधिकार दिने
राणाहरु र जनप्रतिनिधिहरु भएको १४ जनाको संयुक्त मन्त्रिमण्डलको गठन गर्ने

यता (दिल्ली) पाँच सुत्रीय प्रस्तावको विषय थियो भने काठमाडौंमा मलाई राजा मान्ने कि ज्ञानेन्द्रलाई राजा मान्ने विषयमा गुटबन्दी सुरु भएछ।

यी दुई समुहहरुमा छलफल भएछ। मलाई दिल्लीबाट फर्काउनुपर्छ भन्ने राणाहरु पहिले २०-३० जनामात्र थिए। पछि बढेर १२० जनासम्म पुगेछन्। त्यसैबेला बालकृष्ण शमशेर, जनार्दन शमशेरले 'ओम शान्ति जय नेपाल' नारा लगाएर 'शमशेर' हटाएर 'सम' मात्रै राख्ने निर्णय गरेछन्। उनीहरुले आफ्नो कम्पाउण्डको पर्खाल त पहिले नै होचो पारिसकेका रहेछन्।

राणाहरु आठपरिया र केही सिपाईहरु जम्मा गरी गोरखादल भन्ने समूह गठन गरेछन्। त्यसको केही दिनपछि त्यही गोरखादलले हातमा नाङ्गो खुकुरी लिएर असनबाट नारा लगाउँदै जनतालाई आतंकित बनाएछ। त्यसपछि गोरखादललाई खुकुरी दल भन्न थालिएको रहेछ।

काठमाडौंमा खुकुरी दलको आतंकले त्रसित भएका युवाहरुले टोल रक्षा समिति बनाएर रातभर टोलको रक्षाका लागि पालैपालो पहरा दिएछन्। रातरातभर युवाहरु जमात बनाएर घुम्न थालेछन्। केही सीप नलाग्ने देखेपछि विजयशमशेरले यो पाँच प्रस्ताव नमानी सुख छैन भनी 'कोड' शब्दमा मोहनशम्शेरसँग आवामा कुरा गरेछ।

यो समस्याको समाधानका लागि छलफल गर्न मोहनशमशेरले सिंहदरबारमा पुस २३ गते सबै भारदारलाई उर्दी गरेछन्। भेला भएका सबै भारदारले अगाडि मलाई राजा नमान्ने भनेको भए पनि अहिले चै मलाई नै राजा मान्ने भनेर दस्तखत गरेछन्।

सिंहदरबारको पटांगिनीमा राखेको पुस्तकमा हाँसीहाँसी सबैले दस्तखत गरेको देखेपछि मोहनशमशेरले बल्ल राजनीति बुझेर हार स्वीकार गरी भारतले राखेको पाँच बुँदे प्रस्ताव मान्न बाध्य भएको रहेछ।

२००७ साल पुस २४ गते मोहनशमशेरले ६ बुँदे प्रस्तावको घोषणा गरेछन्। ६ बुँदामा ५ बुँदा त मैले पठाएजस्तै हो। अर्को एक बुँदा प्रस्तावमा चाहिँ मात्र शब्दले नमान्दा ज्ञानेन्द्रले मान्यता नपाएको हो भन्ने परेको रहेछ। त्यसपछि नेपालको सशस्त्र क्रान्ति रोक्न लगाएर भारतमा दिल्लीबाटै प्रचार गरियो।

सबै खुसी भए। काठमाडौंमा मेरा प्रजाहरु पनि खुसी भए। २००७ साल फागुन ४ गते म दिल्लीबाट काठमाडौं हवाइ मैदानमा उत्रिँदा मेरो हातमा सम्झौतापत्र थियो। मनमा नयाँ हौशला थियो।

मेरा स्वागतमा अपार जनसमूह थियो भने यता मोहनशमशेर पनि छातीमा तक्मा भिरेर लामो कोट लगाएर हातमा लठ्ठी लिएर टाउको निहुर्‍याउँदै एयरपोर्टमा मेरा स्वागतमा थिए। यसरी हामीले प्रजातन्त्र ल्याएका हौं।

(एसपी आसाको त्रिभुवनको जीवनीमा आधारित उपन्यास 'हामीले कसरी प्रजातन्त्र ल्यायौं'बाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell