PahiloPost

May 14, 2024 | १ जेठ २०८१

नेपालको विजयी सुरुवात, सीता र रुविनाको उत्कृष्ट ब्याटिङ



पहिलोपोस्ट

नेपालको विजयी सुरुवात, सीता र रुविनाको उत्कृष्ट ब्याटिङ
Photo : ThailandCricket

काठमाडौँ : टी २० अन्तर्राष्ट्रियमा सबैभन्दा उच्च स्कोर बनाएको खेलमा नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाको महिला टोलीलाई पराजित गर्दै आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर (एसिया) मा विजयी सुरुवात गरेको छ।

थाइल्याण्डमा भइरहेको क्वालिफायर अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मंगलवार मलेसियामाथि ३४ रनको जित हात पारेको हो।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२६ रन बनाएको हो। यो टी २० अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर समेत हो।

१२७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो। पहिलो खेलमा सोमवार कुवेतलाई पराजित गरेको मलेसियाको यो पहिलो हार हो।

ओपनर सीता राना मगर र कप्तान रुविना क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले राम्रो स्कोर बनाएको थियो।

पहिलो विकेटका लागि सीताले काजोल श्रेष्ठसँग ४६ रनको साझेदारी गरिन्।

नेपालको लागि ओपनर सीता राना मगरले ४० बल खेल्दै २ चौकाको मद्दतमा सर्वाधिक ४२ रन बनाइन्।

यस्तै ओपनर काजल श्रेष्ठले १६ तथा इन्दुर बर्माले १३ रन बनाइन्। कप्तान रुविना क्षेत्री बेलबाशीले नटआउट ३३ रन बनाइन्। २५ बल खेलेली रुविनाले ३ चौका प्रहार गरिन्।

नेरी थापा मगर ६ रनमा रनआउट भइन् भने ममता चौधरीले खाता खोल्न सकिनन्।

मलेसियाका विनिप्रेड दुराइसिंगम, लागि सशा अज्मी र जुमिका अज्मीले एक-एक विकेट लिइन्।

मलेसियाका लागि क्रिस्टिना बरेटले सर्वाधिक २१ रन बनाइन् भने दुराइसिंगमले १८ रन जोडिन्। यी दुईले तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गर्दै १० रन हुँदा २ विकेट मलेसियाको स्कवर उकासेका थिए। तर ११औँ ओभरमा करुण भण्डारीले बरेटलाई कट एण्ड बोल्ड गरिन् भने १३औँ ओभरमा दुराइसिंगमलाई बोल्ड गरिन्। यस्तै सशा अज्मि १६ रनमा नटआउट रहिन्।

नेपालको कसिलो बलिङ सामु अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।

नेपालको लागि करुण भण्डारीले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन्। यस्तै सरीता मगरले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन्।

कविता कुँवर र सीता राना मगरले १-१ विकेट लिइन्। सीताले ४ ओभरमा १७ रन खर्चिन् भने कविताले २ ओभरमा ६ रन दिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell