PahiloPost

May 14, 2024 | १ जेठ २०८१

डीपीएल : दीपेन्द्र ऐरीको अलराउण्ड प्रदर्शनमा अत्तरियाले काठमाडौँलाई हरायो



पहिलोपोस्ट

डीपीएल : दीपेन्द्र ऐरीको अलराउण्ड प्रदर्शनमा अत्तरियाले काठमाडौँलाई हरायो

धनगढी : दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शन, सन्नी पटेलको उत्कृष्ट बलिङ मद्दतमा सिवाइसी अत्तरियाले धनगढी प्रिमियर लिग डीपीएल ३ को अन्तिम लिग खेलमा काठमाडौँलाई पराजित गरेको छ।

मंगलवार फाप्लान मैदानमा भएको खेलमा काठमाडौँमाथि ७ विकेटको जित हात पारेपछि अत्तरियाले लिगमा पहिलो हुँदै क्वालिफायर्स पुग्यो। यसअघि नै क्वालिफायर्समा स्थान बनाइसकेको काठमाडौँको लागि भने यो पहिलो हार हो। लिगमा ४ खेल जितेको अत्तरिया ८ अंकसहित पहिलो हुँदा काठमाडौँ ३ जित र एक खेलमा अंक बाँड्दै ७ अंकसहित दोस्रो भयो।

अत्तरियाले ६ ओभरमा घटाइएको महेन्द्रनगर विरुद्धको खेल मात्र हरेको थियो।

उत्कृष्ट बलिङ गरेको अत्तरियाले काठमाडौँलाई ७५ रनमा अलआउट गरेको थियो। ७६ रनको लक्ष्य अत्तरियाले १७ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो।

अब अत्तरिया र काठमाडौँबीच नै बुधबार पहिलो क्वालिफायर्स हुनेछ र उक्त खेल जित्ने टिम सिधै फाइनल पुग्नेछ। यस्तै पराजित हुने टिमले तेस्रो स्थानमा रहेको रुपन्देही च्यालेन्जर्स र चौथो स्थानमा रहेको महेन्द्रनगर युनाइटेडबीच हुने एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि अर्को खेल खेल्ने मौका पाउनेछ।

 

दिपेन्द्र र सन्नीको उत्कृष्ट बलिङ

टस जितेर काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले पहिले ब्याटिङ रोजेका थिए। तर अत्तरियाका कप्तान दिपेन्द्र ऐरी, सन्नी पटेल लगायत स्पिनरले उत्कृष्ट बलिङ गरेपछि काठमाडौँले २० ओभरमा सबै विकेट गुमाएर ७५ रन मात्र बनायो।

अत्तरियाका स्पिनरले पाँच विकेट लिँदा ३ खेलाडीलाई रनआउट गरेको थियो।

काठमाडौँका लागि कप्तान ज्ञानेन्द्रले ४९ बल खेल्दै २ चौकाको मद्दतमा ३२ रन बनाउनु बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। यस्तै योगेन्द्र सिंह कार्कीले १३ र अंकित दबासले १० रन जोडे भने बाँकी ८ खेलाडीले दोहोरो अंक छुन सकेनन्।

काठमाडौँलाई कम स्कोरमा रोक्न कप्तान दिपेन्द्रले २ ओभरमा ४ रन मात्र खर्चेर ३ विकेट लिए। दिपेन्द्रले अन्तिम ओभरमा २ विकेट लिएका थिए भने एक रनआउटमा मद्दत गरेका थिए। सन्दी पटेलले ४ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर १ विकेट लिए।

रामनरेश गिरीले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए। भुवन कार्कीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए।

 

कोल्सावालाको सुरुवात, दिपेन्द्रको फिनिसिङ

७६ रनको सामान्य लक्ष्य पछ्याएको अत्तरियाका लागि जयकिसन कोल्सावालाले उत्कृष्ट सुरुवात दिलाए। पहिलो विकेटका लागि सुबेन्दु पाण्डेसँग २५ रनको साझेदारी गरेका कोल्सावालाले दोस्रो विकेटका लागि पनि प्रेम तामाङसँग २५ रनकै साझेदारी गरे।

४२ बल खेलेका कोल्सावालाले ५ चौकाको मद्दतमा ३३ रन बनाए।

सुबेन्द्र ५ र प्रेम १० रन बनाएर आउट भए। चौथो नम्बरमा ब्याटिङ गरेका कप्तान दिपेन्द्रले

११ बल खेल्दै ३ चौकाको मद्दतमा नटआउट २० रन बनाए। सन्दीप जोराले नटआउट ७ रन जोडे।

काठमाडौँका ललित नारायण राजवंशी, रसिद खान र सूर्य तामाङले १-१ विकेट लिए।

अलराउण्ड प्रदर्शन गरेका दिपेन्द्र म्यान अफ दि म्याच घोषित भए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell