PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

पोखरा म्याराथनको उपाधि हरि रिमाललाई



रासस

पोखरा म्याराथनको उपाधि हरि रिमाललाई
photo : pokharasports

कास्की : तेह्रौँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जितेका छन्। भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आज भएको प्रतियोगितामा दुई घण्टा ४० मिनेट १० सेकेण्डको समयमा निर्धारित दूरी पार गर्दै उनले उपाधिसहित नग एक लाख पुरस्कार प्राप्त गरेका छन्।

पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन पोखराका विभिन्न स्थान परिक्रमा गर्दै पुन रङ्गशालामा नै आएर टुङ्गिएको थियो। त्यस्तै सशस्त्र प्रहरीका खिमबहादुर खत्रीले दोस्रो स्थान हासिल गरे। दुई घण्टा ४० मिनेट २० सेकेण्डको समयमा लक्ष्य पूरा गरेका उनले रु ७० हजार पुरस्कार पाए।

नेपाल प्रहरीका भूमिराज राईले तेस्रो स्थान हासिल गर्दै रु ५० हजार पुरस्कार पाए। उनले दुई घण्टा ४१ मिनेटको समयमा निर्धारित दूरी पार गरेका थिए। सान्त्वना भएका सेनाका पूर्ण तामाङले रु सात हजार पुरस्कार प्राप्त गरे।

विजेता खेलाडीलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, मुख्य प्रायोजक लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, प्रदेशसभाका सदस्य कृष्ण थापालगायतले पुरस्कार वितरण गरे। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए।

प्रतियोगितामा म्याराथनसहित १० किलोमिटर महिला तथा पुरुष दौड, पाँच किलोमिटर छात्र तथा छात्रा दौड, अपाङ्गता भएका लागि ४०० मिटर पुरुष तथा १०० मिटर महिला र १०० मिटर दृष्टीविहीन ह्विलचियर प्रतियोगिता गरी आठ इभेन्टमा प्रतिष्पर्धा भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell