PahiloPost

May 14, 2024 | १ जेठ २०८१

एक ट्याक्सी चालक, 'जो भेटिएको साढे तीन लाखको गहना प्रहरीलाई बुझाउन पुगे'



पहिलोपोस्ट

एक ट्याक्सी चालक, 'जो भेटिएको साढे तीन लाखको गहना प्रहरीलाई बुझाउन पुगे'

काठमाडौँः यात्रुले ट्याक्सीमा छुटाएको सुनका गहना एक चालकले फिर्ता गरेका छन्। धरान १९ चौकीबारी घर भएका ट्याक्सी चालक सिमल राईले गहना बुझाएका हुन्।

बुधबार बिहान बा २ ज २२७९ नम्बरको ट्याक्सीमा छुटेको अन्दाजी तीन लाख ५० हजार बराबरको गरगहना, नगद र लेडिज पर्स चालकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा बुझाएका हुन्।

महाशाखाका डिएसपी कृष्णदत्त भट्टले चालक आफैंले गहना बुझाउन आएको बताए। डिएसपी भट्टले भने, 'उहाँ आफैं गहना फेला परेको भन्दै हामीकहाँ आउनुभयो। हामीले सम्बन्धित धनी पहिचान गरी फिर्ता गरिसकेका छौँ। हामी यस्ता चालकको सम्मान गर्छौँ।'

भट्टका अनुसार चालक राईले यसअघि पनि यात्रुले ट्याक्सीमा छाडेको मोबाइल प्रहरीलाई बुझाएका थिए।

बुधबार बिहान करिब साढे चार बजेतिर अनामनगर भाटभटेनीदेखि नैकापसम्म जाँदा गहना ट्याक्सीमा छुटेको थियो। चालकले फिर्ता गरेको गहना गुल्मी बाझकटेरी ३ की वसन्ता भुसालको भएको पुष्टि भएपछि प्रहरीले उनलाई बुझाएको छ। चालक राईले आफुले कोठामा पुगेर ट्याक्सीको डिकीमा सामान देखेर प्रहरीमा बुझाएको बताएका छन्। पहिलोपोष्टसँगको कुराकानीमा चालक राईले भने,' दुइ तिन टिप गरेर कोठामा सुत्न गएको थिए। ट्याक्सीमा सामान देखेपछि प्रहरीकहाँ पुगेर  बुझाएको हुँ।'

भुसालको पर्समा ठूलो मंगलसुत्र, सानो मंगलसुत्र, चन्द्रमुखी, तिलहरी, घाटीको हार, टप, बेरुवा रिङ, औँठी तीन वटा र नगद ६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell