PahiloPost

Jun 6, 2020 | २४ जेठ २०७७

'ओ पोजिटिभ' खोज्दै जीवनसँग संघर्ष गरिरहेको त्यो १० दिने शिशु



पहिलोपोस्ट

'ओ पोजिटिभ' खोज्दै जीवनसँग संघर्ष गरिरहेको त्यो १० दिने शिशु
प्रतीकात्मक तस्बिर

  • उन्‍नत सापकोटा

मध्य दिनमा अफिसमा खाना खाँदै थिएँ, सागर बुढाथाेकीका साथै अन्य सहकर्मी साथीहरु माझ। आज अचार मिठाे लागेर खाना सकिएपछि पनि थप्न उठे‌ं। मैले अचार, सहकर्मी सागरले बफेमा राखिएका सबै थप्न थाले। थप्दाथप्दै सागरकाे फाेन बज्याे।

फाेन गर्ने व्यक्ति थिए समाजसेवी विवेक उपाध्याय। उनी जेल परेकाहरुलाई सुधार्ने काममा सक्रिय छन्। फाेनमा उपाध्यायले सागरलाई तुरुन्तै ‘ओ पाेजेटिभ’ ब्लड चाहिएकाले मिलाइदिन आग्रह गरे।

‘ओ पाेजेटिभ’ सुन्ने बित्तिकै मेरा कान ठाडा भए। किनकि मेराे ब्लड ग्रुप पनि त्यही हो। मनमनै साेचे कसलाई रगत चाहिएछ। केही नसाेधी मैले सागरलाई भनें, ‘मेराे हाे ‘ओ पाेजेटिभ’, म दिन्छु।’

उनले फाेनमा उपाध्यायलाई भने, ‘हाम्रै अफिसमा भेटियाे। म पठाइदिन्छु।’

यसपछि सागरले भैंसीपाटीमा रहेकाे मेडिसिटी हस्पिटल पुगेर रगत दिनुपर्ने बताए। बच्चालाई चाहिएकाे भन्दै सागरले राहुल उपाध्याय नाम गरेका अर्का एक व्यक्तिकाे नम्बर दिए।

सागरलाई सँगै लैजाउँ भन्ने मेराे चाहाना थियाे। तर, स्टाेरी सक्नुपर्ने भएकाले त्यति दुःख गरिदिन उनले मलाई विनम्र आग्रह गरे। म अक्क न बक्क भएँ। अनि राहुललाई फाेन लगाएँ र भनें सर, म आउँदैछु रगत दिन। उनले आफू मेडिसिटीकाे गेटैमा रहेकाे बताए। र, म हुइकिएँ मेडिसिटी तिर।

हस्पिटल पुगेर राहुललाई फाेन गरेँ र भने‌ं, ‘म आइपुगें, एटिएमहरु भए तिर छु, तपाईं कता हुनुन्छ ?’

उनले मलाई माथि जानु भएछ भन्दै इमर्जेन्सी कक्षतिर फर्किन सु‌‌‌झाए। केही मिटर हिँडेपछि फाेनमै उनले भने, ‘हात हल्लाइराछु देख्नु भाे?’

म उनी भएतिर पुगें। त्यहाँ थिए स्वयम् राहुल र विवेक। हात मिलाउँदै राहुलले मलाई ‘ब्लड ब्यांक’ तिर जाउँ भने। कागजी प्रक्रिया सकिएपछि मलाई ‘डाेनेसन रुम’ लगियाे। विवेक र राहुल मलाई बाहिरै कुरेर बसे।

बाहिरबाट जति भव्य देखिन्छ मेडिसिटी उसले दिने सेवा पनि कम रहेनछ। नर्सको व्यवहारदेखि प्रविधिमैत्री ब्लड डोनेसनको काम, अहिलेसम्म गरेका डोनेसनभन्दा निकै सहज र व्यवस्थित लाग्यो। १५-२० मिनेटसम्म त्यस रुममा बस्दा सोच्दै थिएँ के भएको होला बच्चालाई? रगत पोकामा जम्मा गराएर निस्केँ। बाहिर कुरिरहेका विवेक र राहुलले चिया खान जाउँ भन्दै क्यान्टिनतिर लगे।

अहिलेसम्म बिरामीको अवस्थाको बारेमा नसोधेको मैले एक एक कुरा क्यान्टिनमा सोध्न थालेँ। विवेक र राहुल साख्खे दाजुभाइ रहेछन्। वीरगञ्जका मारवाडी परिवार। तर, बसाई पोखरामा। राहुल दाइ, विवेक भाइ। राहुलकी श्रीमतीले दश दिनअघि मात्र जुम्ल्याहा बच्चा जन्माएकी रहिछिन्। एउटा छोरी, अर्को छोरा। पोखराको अस्पतालले त्यहाँ उपचार गराउन नसक्ने बताएर मेडिसिटी रिफर गरेको रहेछ।

आमाको ज्यान तन्दुरुस्त भएपनि सात महिनामै जन्मिएका यी दुई प्रिम्याच्योर बच्चा सद्दे जन्मिएनन्। एक मिनेटको अन्तरालमा जन्मिएका दुइटै बच्चालाई रोगले गम्भिर रुपमा च्याप्यो। शरीरले ‘ह्वाइट ब्लड सेल’ नै उत्पादन गर्न नसकेर केही दिन अघि मात्रै छोरीले ज्यान गुमाएको बताउँदा मनै आत्तियाे।

राहुलले भावुक हुँदै भने, ‘छोरीलाई जोगाउन सकिनँ। तर, छोरोलाई जसरी नि बचाउँछु।’ 

शरीरले आफैं ह्वाइट ब्लड सेल उत्पादन नगरेसम्म फ्रेस ब्लड चढाइ रहनुपर्ने हुन्छ । यो कहिले पूर्ण हुन्छ स्वयम् डाक्टरहरु बताउन सक्ने अवस्थामा छैनन्।

अस्पताललाई बिलौना गरेर खिचेको छोरीको फोटो राहुलले देखाउँदा मन भट्याटभट्याक भयो। टाउकामा उम्रिएका छोटाछोटा कपाल, मुखबाट छिराइएका पाइप अनि बन्द आँखा। बस् त्यत्ति गढ्यो मनमा। जन्मिदै अनेक एन्टिबायोटिक, रगतका थोपा, न केही भएको थाहा पाउन सक्ने दिमाग। कति गाह्रो भएको होला। छोरीलाई औषधीले काम गर्नु अघि नै रोगले ग्रसित पारेको थियो। औषधीले कामै गर्न भ्याएन। बिचरा उसले सहनै सकिन। श्वास नै फेर्न बिर्सी। तिम्रो आत्माले शान्ति पाओस्।

छोराको लागि नै म आज रगत दिन गएको थिएँ। छोरा बाँचिदिए हुन्थ्यो भन्ने आशामा बसेका बुवा राहुल र काका विवेकको अनुहार देख्दा अहिलेसम्म गरेका रक्तदानभन्दा आजको रक्तदानले निकै आत्मसन्तुष्टि मिलेको छ। अब मात्र त्यो केटो दौडिदै खेलेको हेर्न मन छ। मेरा रगतका केही थोपाले तिमी भित्र गढेका ती रोगलाई निमिट्यान्न पार्न सहयोग गरुन्। जीवनमरणसँग लडिरहेको त्यो दश दिने शिशुको स्वास्थ्यमा सुधार होस्। जन्मिदै यति ठूलो संघर्ष कसैले गर्न नपरोस्।

भगवानसँग यत्ति छ कामना।

*यदि तपाईंको रगत ‘ओ पाेजेटिभ ‘हो भने सहयोग गर्न सक्नु हुनेछ। विवेक  9808712435



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell