विराटनगरः गढतिरे साहिँलो, केकेमनुक्च्यो पोखरेल, रूपावासी, वसन्त, वत्सल, लक्ष्मीविलास पाध्या, हिमालपाने बराल लगायत दर्जनौँ उपनाम छन् उनका।
जति उपनाम भए पनि उनी भाषाशास्त्री बालकृष्ण पोखरेल हुन् र नेपाली साहित्यको आलोकमा बहुआयामिक क्षमतामा प्रस्तुत छन्।
कथा, कविता, उपन्यास, काव्य, शब्दकोश, समालोचना, निबन्ध, अनुसन्धान– सबै क्षेत्रमा पोखरेलको हस्तक्षेप प्रभावकारी र सम्प्रेषणीय छ।
उनै पोखरेल गत माघ ६ गतेदेखि मस्तिष्काघातका कारण ओछ्यान परेका छन्। पछिल्लो पटक विराटनगरमा श्री अस्पतालको सघन उपचार कक्षमा ५ दिनको बसाइपछि उनलाई आफ्नै घर ल्याइएको छ।
विभिन्न विधामा करिब एक सय पुस्तकका स्रष्टा पोखरेल आफ्ना कुन कृतिलाई बढी सम्झन्छन्?
‘खस जातिको इतिहास, पाँच सय वर्ष र नेपाली–अङ्ग्रेजी–नेपाली कोश; यी तीन वटा कृति मेरो सम्झनामा निरन्तर आइरहन्छन्’ पहिलोपोस्टको प्रश्नमा पोखरेलले भने, ‘कारण के हो भने विश्वका सबै मुख्य भाषाहरूमा ‘खस जातिको इतिहास’को चर्चा भयो।’
रूपावासीका अनुसार ‘खस जातिको इतिहास’ खोज र अनुसन्धानमूलक ग्रन्थ हो। यसको पहिलो प्रकाशन २०५५ सालमा गरिएको थियो। यसको दोस्रो संस्करण पनि यही माघ महिनामा बजारमा आइसकेको छ।
‘खस जातिको इतिहास’ लेख्न आफूलाई १४ वर्ष लागेको उनको भनाइ छ।
अनि ‘पाँच सय वर्ष’ निरन्तर सम्झनु पर्ने कारण के हो? यस पुस्तकमा के छ?
केकेमनुक्च्योले भने, ‘नेपाली भाषा केटाकेटी भाषा होइन। कसैले यो अढाई सय वर्ष पुरानो र कसैले तीन सय वर्ष पुरानो हो भनेका थिए। तर मेरो निष्कर्ष के थियो भने हिजोआजका केटाकेटीले लेखेको यो भाषा होइन। मैले यसका लागि खोज गर्छु भनेँ र तत्कालीन सरकारले स्वीकृति दियो।’
‘यसरी मैले नेपाली भाषा पाँच सय वर्ष पुरानो हो भन्ने अनुसन्धानसहितको निष्कर्ष निकालेको हुँ’, अनुसन्धाता बालकृष्णले भने, ‘पाच सय वर्ष लेख्न मलाई दुई वर्षको समय पर्याप्त भयो। यो पुस्तक २०२१ सालमा छापिएको हो।’
नेपाली–अङ्ग्रेजी–नेपाली शब्दकोषमा पनि आफ्नो प्रशस्त मेहनत परेको र नेपालमा यो ग्रन्थ अद्वितीय भएको उनको ठहर छ।
‘यो कोश पनि मेरो सम्झनामा आइरहन्छ’, ओछ्यान परेका पोखरेलको कथन थियो, ‘नेपाली जातिका सबै पुस्तालाई काम लाग्ने कोश हो यो। कोशकारले नै उपयोगिताका बारेमा धेरै भन्नु जाति हुँदैन।’
‘तपाईंको साहित्यिक र लेखकीय व्यक्तित्वका अनेकौँ आयाम छन्’, पहिलोपोस्टको जिज्ञासा थियो, ‘तपाईं भाषाशास्त्री, काव्यकार, कथाकार, उपन्यासकार, कोशकार, निबन्धकार, अनुसन्धाता, अनुवादक, सम्पादक, अभियन्ता, सबै हो। आफ्नो कुन आयाम बढी सशक्त छ भन्ने तपाईंलाई लाग्छ ? नेपाली समाजले तपाईंको कुन विधागत व्यक्तित्वलाई बढी स्मरण गरोस् भन्ने आकांक्षा छ?’
‘मेरा जति आयाम छन्, ती सबै समकक्षी छन् भन्ने विश्वास मलाई छ’, भाषाशास्त्री पोखरेलको छोटो उत्तर थियो, ‘तर पाठक र समाज स्वतन्त्र छ। आफ्नो अनुभूतिमा बढी सशक्त लागेको मेरो जुन आयामलाई पनि सम्झिदिए पुग्छ। म पाठक र समाजलाई थोपर्न चाहन्न।’
कुराकानी बिट मार्दै उनले भने, ‘मलाई डाक्टरले धेरै नबोल्नु भनेको छ, अब तपाईं प्रश्नका झटारा बन्द गर्नूस्।’
लामो समयदेखि मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरिरहेका पोखरेलको मस्तिष्काघातका कारण बायाँतर्फका अङ्ग अर्धसक्रिय छन्।
‘दुई दिनदेखि श्वासप्रश्वास र खोकीको समस्या पनि देखिएको छ अनि मुटुको परीक्षण गर्ने क्रम जारी छ’, छोरा मुनाल पोखरेलले जानकारी दिए, ‘सबै कुरा स्पष्ट सुन्न र बुझ्न सक्नुहुन्छ। स्मरणशक्ति ताजा छ, पक्षाघातका कारण केवल उठ्न सक्नुहुन्न।’
खाँदा सर्कने समस्या आएपछि उनलाई नाकबाट पाइप हालेर खुवाउने गरिएको छ। पिसाबका लागि पनि डाक्टरले पाइप र थैलो लगाइदिएका छन्।
सरकारी बेवास्ता
भाषाका धरोहर पोखरेल ओछ्यान परेको एक महिना कटिसक्दा पनि उनलाई तीन तहकै सरकारले बेवास्ता गरेको अनुभव उनका परिवार–जनले गरेका छन्।
‘श्री अस्पतालको आइसियुमा राखेका बेला प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्की आउनु भएको थियो’, छोरा मुनालले सुनाए, ‘उहाँको उपचारमा के खर्च लाग्छ, प्रदेश सरकारले ब्यहोर्छ भन्ने आश्वासन पनि दिनुभएको हो। त्यसपछि केही सोधीखोजी छैन।’
मकवानपुरको चिसापानी गढीमा सन् १९९० मा जन्मिएका बालकृष्णले कोलकाता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर गरेका हुन्। त्रिभुवन विश्वविद्यालयमा उनी २०१९ देखि २०४६ सालसम्म प्राध्यापनरत थिए।
बनारसमा अध्ययन गर्दा सन् १९५६ मा डाक्टर तारानाथ शर्मा, चूडामणि रेग्मी, कोशराज रेग्मी लगायतका भाषाप्रेमीसित मिलेर बालकृष्णले झर्रोवादी आन्दोलनको नेतृत्व गरेका थिए।
‘नेपाली भाषा र साहित्य’ नामको शोधमूलक ग्रन्थका लागि उनले २०२१ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए।