.jpg)
काठमाडौं : सशस्त्र प्रहरीकी धावक कान्छी माया कोजुले पिंकाथन काठमाडौंको उपाधिमा ह्याट्रिक गरेकी छिन्। शनिवार काठमाडौँ भएको तेस्रो संस्करणको पिंकाथनमा कान्छीमाया विजेता बन्दै उक्त उपलब्धी हात पारिन्।
यसअघिका दुई प्रतियोगितामा पनि कान्छीमायाले नै उपाधि जितेकी थिइन्। कान्छीमायाले निर्धारित दूरी १ घण्टा २१ मिनेट ४४ सेकेन्डमा पुरा गरिन्। नेपाल प्रहरीकी राजपूरा पछाई दोस्रो भईन् भने एपीएफकी पुष्पा भण्डारी तेस्रो भईन्। हाफ म्याराथनमा प्रथम हुनेले ५१ हजार नगद, दोस्रो हुनेले ३१ हजार तथा तेस्रो हुनेले २१ हजार नगद पुरस्कार हात पारे।
यसैगरी १० किलोमिटरतर्फ एपीएफकी सन्तोषी श्रेष्ठ प्रथम,चन्द्रा राउत दोस्रो तथा सरस्वती कडायत तेस्रो भए। यो स्पर्धाका विजेताले ३१ हजार, दोस्रो हुनेले २१ हजार तथा तेस्रो हुनेले ११ हजार नगद पुरस्कार हात पारे। ५ किलोमिटरतर्फ सामना कार्कीले प्रथम हुँदै ११ हजार नगद पुरस्कार जितिन्। यसैगरी फूलमती राना दोस्रो भईन् भने काजल विष्ट तेस्रो भईन्।
३ किलोमिटर दौडमा सानुका थापा प्रथम, स्वस्तीका श्रेष्ठ दोस्रो तथा प्रतिमा कार्की तेस्रो भए।
विजेता खेलाडीलाइ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित बलिउड सुपर मोडल मिलिन्द सोमन लगायतले पुरस्कार वितरण गरे।
महिला सशक्तीकरण र स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यले भारतीय सुपर मोडेल, फिटनेस गुरु तथा बलिउड अभिनेता मिलिन्द सोमनले भारतमा पिंकाथन अभियान सुरु गरेका हुन्। भारतको सबैभन्दा ठूलो महिला दौड प्रतियोगिताको रुपमा रहेको पिंकाथन तीन वर्षदेखि नेपालमा पनि भइरहेको छ। काठमाडौँमा लेजर पोर्ट नेपालले यो ईभेन्ट आयोजना गर्दै आएको छ।
पहिलो संस्करण दशरथ रंगशालमा भएको पिंकाथन काठमाडौँको दोस्रो संस्करण महाराजगन्जस्थित प्रहरी तालिम विभागमा भएको थियो। यस पटक भने पिंकाथन प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजना गरिएको हो। नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा पिंकाथन काठमाडौं सम्पन्न भएको हो।