PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'क्याप्टेन' अनमोल भन्छन्, ‘म फिल्मी किरो नै हुँ’



रीना मोक्तान

'क्याप्टेन' अनमोल भन्छन्, ‘म फिल्मी किरो नै हुँ’

पाँचौँ फिल्म 'कृ' प्रदर्शनमा आइसकेपछि अभिनेता अनमोल केसीसामु चुनौती खडा भयो ‘अब कुन विषयमा फिल्म गर्ने’।

लभ स्टोरीबाट चर्चामा आएका उनले एक्सन जनरको स्वाद पनि आफ्ना दर्शकलाई चखाए। त्यसपछि उनी केही फरक गर्न चाहन्थे। उनी चाहन्थे विषय केही नयाँ होस्, नदोहोरियोस् अनि राष्ट्रिय हिरोको कथा होस्।

त्यसका लागि आफूलाई 'स्पोर्टस ड्रामा' भन्दा अरू उत्कृष्ट नलागेको सम्झन्छन् उनी। त्यसैले बुवा भुवन केसीलाई ‘फुटबल’माथि नयाँ प्रोजेक्ट गर्ने आग्रह राखे। भुवन केसी सोही प्रस्ताव लिएर पुगे निर्देशक दिवाकर भट्टराई कहाँ। निर्देशक भट्टराईले ग्रीन सिंग्नल दिए।

त्यसपछि बन्ने भयो फिल्म 'क्याप्टेन'।

अनमोल सम्झन्छन्, 'अहिलेसम्म नेपाली फिल्ममा नदेखिएको विषयमा काम गर्ने भोक थियो। क्याप्टेन भोजन हो। यसले मेरो मात्र होइन दर्शकको पनि भोक मेट्ने आशा छ।'

कहिले पनि फुटबल नखेलेका उनका लागि फिल्म चुनौती पनि थियो। जुन चुनौतीबाट उनी भागेनन्। फुटबल सिक्न र बुझ्न हर मेहनत गरे। राष्ट्रिय फुटबल टोलीको पूर्व क्याप्टेन हरि खड्काले उनलाई तीन महिना सिकाए।

उनी भन्छन् 'क्याप्टेन मैले गरेको फिल्महरुमध्ये फरक फिल्म हो। यो विषय दर्शकलाई नयाँ हुनेछ। एक्सपेरिमेन्टल फिल्म हो।'

अहिलेसम्म खेलमा आधारित फिल्मले बक्स अफिसमा राम्रो ‍नगरेको तथ्य अनमोललाई थाहा छ। तर पनि उनले यो चुनौतीलाई आत्मासात गरे।

'कुनै पनि फिल्म हिट हुने ग्यारेन्टी हुँदैन। हामी चुनौती नै लिएर अघि बढेका छौँ। फिल्मले पैसा कति कमाउँला भन्दा पनि मैले मेरो चरित्रलाई न्याय दिन सकेँ कि सकिनँ भन्ने कुराले महत्त्व राख्यो।'

फिल्ममा इशानको कथा छ। उ झापाको केटो हो। त्यसैले फिल्मको २० प्रतिशत छायाङ्कन झापा/इलाममा भयो। क्यारेक्टरमा काम गर्न उनले १२ केजी तौल घटाए।

हरिसँग फुटबल सिक्ने क्रममा उनको घुट्टा पनि भाँचियो। फिल्म छायाँकनमा जान १ महिना बाँकी थियो।

सुनाए 'दिनमा तीन घण्टा फुटबलको ट्रेनिङ हुन्थ्यो। २ घण्टा सुट गर्ने, पास गर्ने अभ्यास हुन्थ्यो। त्यसपछि १ घण्टा राष्ट्रिय खेलाडीसँग खेलाइन्थ्यो। त्यतिबेला उफ्रेर हेडिङ गर्दा लिगामेन्ट च्यातियो। तर पनि मैले अभ्यास गरेँ।'

उनले भरत खवास,  विमल घर्ती मगरलगायतको राष्ट्रिय खेलाडीको खेल पनि हेर्थे। एन्फाको एकापट्टि उनी फिल्मका लागि फुटबल अभ्यास गर्थे। उता, राष्ट्रिय खेलाडीहरू नेपालको लागि फुटबल खेल्न अभ्यास गर्थे। अनमोल आफ्नो अभ्याससँगै खेलाडीहरूको खेल छेउमा बसेर हेर्थे। 

उनका अनुसार फिल्ममा राष्ट्रिय खेलाडीको पनि अतिथि भूमिका छ। फिल्मका कारण अनमोलले खेलाडीको जीवन शैलीलाई नजिकबाट नियाल्न पाए।

फुटबल अभ्यासपछि खेललाई लिएर उनको आत्मबल बढेको छ। 'खेल ९० मिनेटको हुन्छ। म दिनमा १२ घण्टा फुटबल खेल्थेँ फिल्मको लागि। कोचबाट सिकिसकेपछि खेलाडीको रूपमा नभए पनि अब म चौरमा राम्रै खेल्न सक्छु' उनले भने।

फुटबल सिक्दै गर्दा उनलाई ९० प्रतिशत फुटबल खेलाडीहरुले सहयोग पनि गरे। 'हिरोले पनि फुटबल खेल्छ भन्ने एटिट्युडका खेलाडी'सँग पनि उनी ठोक्किए।

फुटबल नै किन रोज्नुभयो फिल्मका लागि?

'फुटबल विश्वमै धेरै फ्यान भएको खेल हो। म आफैंलाई पनि फुटबल एकदमै मनपर्छ,' उनले भने 'फिल्ममको अन्त्यतिर म क्याप्टेन हुन्छु।'

अनमोल अन्य समयमा भने लालिगा र इंग्लिस प्रिमियर लिग हेर्ने गर्छन्। क्रिश्टियानो रोनाल्डोका कारण आजभोलि युभेन्टस पच्छ्याउने गरेको बताए।

उनलाई फिल्ममा मेस्सी वा रोनाल्डोबाट प्रभावित देखिएला भन्ने डर थियो। किनकि मैदानमा नउत्रिए पनि उनी विभिन्न लिग र खेलाडीको जीवनशैलीबारे अपडेट रहने बताउँछन्।

क्याप्टेनले नेपाली खेलाडीहरुको जीवन कथा प्रस्ट झल्काउने उनको दाबी छ। 'म मेरो हरेक प्रोजेक्टमा आफू कन्फिडेन्ट नभइकन अघि नै बढ्दिन। फ्लोरमै जाँदैन फिल्म।'

व्यापारिक कुराले कतिको प्रभाव पार्दो रहेछ कलाकारलाई?

'त्यस्ता कलाकार पनि हुन्छन् जो पैसामुखी हुन्छन्, तिनीहरूलाई व्यापारले प्रभाव पार्ला। तर, मैले कमाउने भनेको दर्शक हो', जवाफ दिँदै भने 'मलाई मन नपराउने दर्शकले पनि मलाई मन पराउन थाले भने त्यो नै मेरो उपलब्धि हुनेछ।' 

उनले विगतका फिल्ममा झैँ 'क्याप्टेन'मा पनि नयाँ अभिनेत्रीहरूसँग काम गरेका छन्। प्रियंका एमभी र उपसाना सिंह ठकुरी अनमोलसँगै देखिने दुई नयाँ अनुहार हुन्।

अनमोल फिल्मको सबै प्रोडक्सनको काममा सहभागी हुन्छन्। 'छायाङ्कन सकिएपछि आराम गर्न मन लाग्दैन। फिल्मको ब्यागग्राउण्ड म्युजिक, एनिमेसनदेखि कलर सबै काममा १२-१ बजेसम्म बसेर हेर्छु',  सुनाउँछन् 'किनकी फिल्म उत्कृष्ट बन्नुमा मेरो पनि भूमिका होस् भन्ने चाहन्छु।'

उनले आफू नेपाली फिल्म समीक्षा पढ्ने, बक्स अफिस रिपोर्ट हेर्ने गरेको जानकारी दिए। ‘यस्ता विषयले फिल्म र फिल्मकर्मी चिनाउँछ। केहीलाई पैसामुखीको रूपमा चिनेँ केहीलाई इज्जतमुखी।‘

पैसामुखी फिल्म मेकर्सले आफूलाई फिल्ममा अफर गर्ने गरेको अनमोलको कथन छ। 'तर, पैसा मात्र दिन्छन् कि फिल्म पनि राम्रो बनाउँछन् भनेर नियाल्ने पनि गर्छु।'

आफ्नो बिचार र कुरा मिलेपछि काम गर्छन् र छायाङ्कनदेखि प्रचार-प्रसारसम्म पूरा समय दिन्छन्।

उनी केही समयअघि 'इभ'मा व्यस्त थिए। विभिन्न ठाउँमा गएर अनमोलले स्टेज प्रस्तुति दिए।

१८ वर्षको उमेरमा फिल्म क्षेत्रमा प्रवेश गरेका अनमोल अहिले २४ वर्षका भए। उनले यसबीच फिल्म क्षेत्रलाई नजिकबाट नियालेका छन्।

अनमोल फिल्म इन्डस्ट्रीलाई आफ्नो जीवन बताउँछन्।

'फिल्म र इन्डस्ट्री मेरो जीवन हो। म यहीँ इन्डस्ट्रीमा जन्मेँ। मलाई लाग्छ, म मर्छु पनि यही इन्डस्ट्रीमा।'

उनलाई स्टारका छोरा स्टार नै हुनुपर्छ भन्ने चाहिँ लाग्दैन। 'अमिताभ बच्चनको छोरा पनि त छ तर बुवा जति अभिषेक चलेन। स्टारको छोरा चल्नै पर्छ भन्ने छैन' उनले भने।

बुवा भुवन यो क्षेत्रमा हुँदैन थिए भने आफू पनि यो क्षेत्रमा नहुने बताउँछन्। 'मलाई नराम्रो राम्रो सबै कुरामा बुवाले नै गाइड गर्नुहुन्छ। त्यसैले म उहाँभन्दा अगाडि वा उहाँको लेभलमा हुन सक्दिनँ। मैलेभन्दा धेरै भोग्नु भएको छ। बुझ्नु भएको छ।‘

इन्डस्ट्रीमा नातावादका कुरा चल्यो भने उनको आँखा नातागोता बिना नै मेहनत गरेर आउने कलाकारहरूतर्फ जान्छ। सुनाए 'दु:ख गरेर यहाँ आएका कलाकारले आफ्नो धरातल बिर्सनु भएन। कति फुर्केर जानेहरू हुन्छ, उम्लेको दूध जस्तै। मैले उहाँहरूको दु:खलाई हेरेको छु।'

उनी हरेक समय फिल्मबारे नै सोचिरहेका सुनाउँछन्। भन्छन्, 'फिल्म नसोचेको दिन छैन। म घरमा हुँदा दिनमा २/३ वटा फिल्म हेर्छु। अमेरिका जाँदा पनि फिल्म हलमै धेरै समय बिताइरहेको हुन्छु। जबकि त्यहाँ हेर्नलाई त्यत्रो संसार छ। म फिल्मी किरा नै हो।'

उनले पछिल्लो समय नेपालमा 'बाहुबली २' हेरेका थिए। नेपाली फिल्म त उनी युट्युब नै कुर्छन्।

उनले नेपालका हलमा आफूले खोज्ने प्राइभेसी पाउँदैनन्। 'यहाँ प्राइभेसी हुँदैन। म चाहन्न हलमा दर्शकले फिल्म नभएर मलाई हेरोस्' हाँस्दै सुनाउँछन्।

बुवाका फ्यानले पनि आफूलाई मन पराउन थालेको तर्क गर्छन् अनमोल। त्यसैले उनी हरेक फिल्ममा आफ्नो चरित्रमा मिहिनेत गर्न कोसिस गर्छन्।

सङ्गीतमा पनि उत्तिकै रुचि भएका उनी अब भने फिल्ममै करियर अघि बढाउन चाहन्छन्। त्यसैले अब चरित्रमा मेहनत गर्ने उनको योजना छ। उनलाई आर्मी, पुलिस, चोर, राजनीतिज्ञको भूमिका गर्ने मन भएको सुनाउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell