
किलिएन एम्बाप्पे फ्रेन्च लिगमा वानमा ५० गोल पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बन्दा पेरिस सेन्ट जर्मन (पिएसजी)ले निम्स विरुद्ध सहज जित हात पारेको छ।
एम्बाप्पेले दुई गोल गरेपछि पिएसजीले गएराती लिग वानमा निम्सलाई ३-० ले पराजित गरेको हो। जितपछि लिग लिडर पिएसजीले दोस्रो स्थानको लिनेमाथि १७ अंकको अग्रता समेत बनाएको छ।
लिव वानको पछिल्लो ४५ वर्षीय इतिहासमा एम्बाप्पे ५० गोल पूरा गर्ने कान्छा खेलाडी बने। उनले २० वर्ष २ महिना ३ दिन हुँदा यो उपलब्धी हात पारे। यसअघि १९८२ मा यानिक स्तोपराले २१ वर्ष ११ महिना ९ दिनमा यस उपलब्धी हात पारेका थिए।
पीएसजीलाई यस सिजनको २२औँ जित दिलाउन एम्बाप्पेले ६९औँ र ८९औँ मिनेटमा गोल गरे। त्यसअघि घरेलु मैदानमा क्रिस्टोफर एनकानुले पहिलो हाफमा गोल गरेका थिए। निम्स विरुद्धको दुई गोलपछि एम्बाप्पेले यस सिजन लिग वानमा २२ गोल गरिसकेका छन् र सर्वाधिक गोलकर्तामा सबैभन्दा अगाडी छन्।
यस जितपछि २५ खेलबाट ६८ अंकसहित पिएसजी शीर्ष स्थानमा आसिन छ। एक खेल बढी खेलेको लिली ५१ अंकसहित दोस्रोमा छ।