
मेलवादेवी, कोइलीदेवी, तारादेवी, हीरादेवी ‘पलेँटी’को नयाँ संस्करण गायनका यिनै देवीहरु लगायतको सम्झनाबाट सुरु भयो।
गायिका मीरा निरौलाले नेपालकी पहिलो रेकर्डेड गायिका मेलवादेवीदेखि आफ्नै मणिपुरी गीतसम्म १७ वटा गीत गाइन्। हार्मोनियममा साथ दिएका संगीतकर्मी आभाषले हरेक गीत र गायिकासँग जोडिएका संस्करण दर्शकसँग साटे।
शुक्रबार र शनिबार नेपालयको आरशालाको सांगीतिक माहोलले धेरैलाई नोस्टालजीयामा पुर्यायो। रेडियो नेपालमा पहिलोपटक सुनेको गीतदेखि, त्यो समयमा चलेका गीत र गायिकासँग जोडिएका यादबारे सोच्ने बनायो। अनि ती समय लेखिएका गीतले चित्रण गर्ने सामाजिक चेत र अवस्था पनि। चाहे त्यो मेलवादेवीको ‘नारी नै दरबार हो’ होस् वा मीरा राणाको ‘मखमली चोलो चाहिँदैन’।
आधुनिक नेपाली संगीतको सम्झना र सम्वर्द्धनमा समर्पित कार्यक्रममा संगीतकार आभाषले नेपालसाथै दार्जिलिङका गायिकासँगको पलेँटी सम्बन्धको समेत चर्चा गरे।
उनले कोइलीदेवीसँगको भेटको स्मरणबाट आफ्नो अनुभव साट्नेक्रम शुरु गरेका थिए। रेडियो नेपालमा भेटिएकी कोइलीदेवी राणाकालको दरबारमा थिइन्। जसलाई भेट्नु त्यो कालखण्डको प्रतिनिधि देख्नु सरह भएको उनको निचोड थियो। आभाषले भने, ‘उनको आवाज मेलवादेवीको जस्तो शास्त्रीय थिएन। तर, त्यो खिरिलो आवाजको प्रभाव छिमेकी देशसम्म परेको थियो।‘ उनका अनुसार बेइजिङमा एक चिनियाँ गायिकालाई पनि खिरिलो स्वरकै कारण बेइजिङकी कोइलीदेवी भनिन्थ्यो।
तारादेवीसँगको यादसँगै जोडियो राष्ट्रकवि माधव घिमिरेको रचना अनि नातिकाजीको संगीत। मीनाले गाइन् ‘फूलको थुँगा बहेर गयो गंगाको पानीमा।’
दार्जिलिङतर्फ भने अरुणा लामा, शान्ति ठटाल, दावा ग्याल्मो, डेजी बराइली लगायत गायिकाले भौगोलिक सीमा पारी रहेर पनि नेपाली संगीतका लागि पुर्याएको योगदानको परिचर्चा भयो। केही उनीहरुको व्यक्तिगत् व्यवहारको कुरा पनि भए, केही उनीहरुको सांगीतिक गुणका चर्चा। संस्मरणसँगै गुञ्जिए सबैले भन्थे लयालु फूल भइ, सम्हालेर राख, एउटा खुला किताब हुँ म, सहर भित्र केको हल्ला जस्ता कालजयी गीतहरु।
हीरादेवी वाइबासँग नजुरेको भेटको कुराले आभाष भावुक बने। माहोल थप गम्भीर बनायो उनको मृत्युको खबरले। भने,’पलेँटीका निम्ति उनलाई निम्त्याउने प्रयास चलिरहेकै बेला पश्चिम बंगालस्थित घरमै आगलागीमा परेर उनको निधन भयो।'
मीनाले उनको ‘फरिया ल्याइदेका त्यै पनि राता धनन्’ प्रस्तुत गरेकी थिइन्। आभाषले थपे,’आफ्नै घरमा जल्दा वाइबाले कस्तो रङको फरिया लगाउनु भएको थियो होला। सोच्दा आज पनि म झस्किन्छु।‘
गौरी केसीको ‘रानी तलाउ किनारा’, तारा थापाको ‘तारि न देऊ हे माझी दाइ’ र मीरा राणाको ‘मखमली चोलो’ले माहोल केही फरक बनाइदियो।
पछिल्लो कालखण्डमा प्रवेश गर्दा गायिका सुनीता सुब्बाले गाएको मञ्जुलको कविता ‘चिरविर गर्ने चरी’ सुनाए। कार्यक्रममा उपस्थित सुनीता प्रस्तोताहरुप्रति कृतज्ञ देखिन्थिन्।
त्यस्तै नेपाली गीत गाउने र नेपाली फिल्मका गीतहरुमा स्मरणीय गीत दिने भारतीय गायिकाहरु लता मंगेशकर (आकाशमा तिरमिरे तारा) र उषा मंगेशकर (वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर) को सम्झना पनि कार्यक्रममा गरिएको थियो।
प्रस्तोता मीनाले माइती मणिपुरकै भाषामा आफैंले गाएको ‘नोखिधरा’ पनि सुनाइन्। उनको गायनसँगै पलेँटी यात्राको सुरुवाती दिनबारे आभाषले जानकारी दिए। कार्यक्रमको समापन भने मेलवादेवीकै कालजयी गीत ‘सवारी मेरो रेलैमा’ बाट गरिएको थियो।
‘हाम्रो परिवेशले नारी स्वरहरुलाई लामो साधनामा अघि बढ्न नदिइरहेको यथार्थका बीच उनीहरुको यसरी सम्झना गरिनु राम्रो लाग्यो,’ कार्यक्रम हेरेपछि राजनीतिज्ञ एवं लेखक रघुजी पन्तको प्रतिक्रिया थियो, ‘व्यवस्थित प्रस्तुती र सुमधुर गीतहरुको मिठो समागम पाएँ।’
पलेँटीको महिला विशेष संस्करण आइतबार पनि रहेको छ।