
हनोई : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको नक्कल गर्ने दुई जनालाई भियतनाम प्रहरीले नियन्त्रणमा लिएको छ।
ट्रम्प र किमबीच आगामी बुधवार र बिहीवार हुने दोस्रो शिखर बैठकको पूर्वसन्ध्यामा किमको अभिनय गर्ने हावर्ड एक्स र ट्रम्पजस्तै देखिने रसेल ह्वाइटलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको बीबीसीले जनाएको छ। सोधपुछपछि उनीहरुलाई रिहा गरिएको छ।
हनोईमा किम–ट्रम्प बैठकको नाटकीय अभिनय गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। एएफपीसँग कुरा गर्दै उनीहरुले आफूहरुलाई प्रहरीले देश निकाला गर्ने धम्की दिएको बताए। ‘प्रहरीले नक्कल गर्ने काम बन्द गर्नुस्, अन्यथा तपाईहरुलाई देशबाट निकालिदिन्छौं भन्यो’, किमको नक्कल गर्ने हङकङका हावर्ड एक्सले भने।
हावर्ड र ह्वाइटले राजधानी हनोईमा एक नक्कली शिखर सम्मेलनमा भाग लिएका थिए भने सम्वाददातासँग कुरा गर्दै आफूहरुको उद्देश्य उत्तर कोरियाको परमाणु महत्वाकांक्षालाई कम गर्नु रहेको बताएका थिए।