
काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार देशका ६ वटा प्रदेशका करिब २० जिल्लामा निजी मोबाइल सेवा प्रदायक एनसेलका टावर लक्षित गरी आक्रमण गर्नेको तत्वको पहिचान भइसकेको दावी गरेका छन्।
आइतबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै गृहमन्त्री थापाले भने, ‘हालसम्म कसैले जिम्मेवारी लिएको त छैन। तर अहिलेसम्म प्राप्त अनुसन्धानको रिपोर्टले राज्यविरोधी, संविधानविरोधी शक्तिले गरेको बुझिएको छ।‘
उनले अझ स्पष्ट रुपमा नामै किटेर ‘नेकपा विप्लव समूहले गराएको’ पनि उल्लेख गरे।
गृहमन्त्रीका अनुसार देशव्यापी रुपमा पार्टीको केन्द्रीय योजना अनुसार आक्रमण गरेको बुझिएको छ। ‘अहिलेसम्म अज्ञात भन्ने छ। तर सिरियल्ली हेर्दाखेरी विगतमा निर्वाचन आयुक्तकोमा बम विस्फोट गराइएको र उनीहरुको भर्खर बसेको बैठकले गरेको निर्णय तथा राज्यलाई प्राप्त डकुमेन्टबाट सत्ता उल्टाउनका लागि लागिपरेको यही समूह भन्ने छ’, उनले भने।
घटनामा संलग्न रहेको आशंकामा देशभरबाट १६ जनालाई पक्राउ गरिएको जानकारी उनले दिए। साथै आक्रमण गर्ने टिमहरुको पहिचान गरिएको र पक्रने प्रक्रिया अघि बढिरहेको पनि गृहमन्त्रीले समितिलाई जानकारी दिए।