
काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त प्रशिक्षक योहान कलिनले आफ्नो लक्ष्य नेपाली फुटबलको विकास गर्ने रहेका बताएका छन्।
अखिल नेपाल फुटबल सघ एन्फाले आइतवार कलिनलाई नेपालको मुख्य प्रशिक्षकको रुपमा सार्वजनिक गरेपछि कलिनले नेपाली फुटबलसँग आफू परिचित रहेको र अब नेपाली फुटबलको स्तर सुधार गर्दै लैजाने बताए।
एन्फाले स्वीडिस कलिनसँग दुई वर्षको लागि सम्झौता गरेको यसअघि नै जनाइसकेको छ।
'एन्फासँग दुई वर्षको लागि सम्झौता भएको छ। यो समय मेरो लागि अवसर र चुनौतीको रुपमा रहनेछ। नेपाली फुटबलको विकासका लागि एन्फा र खेलाडीहरुसँग सहकार्य गरेर अगाडि बढ्नेछौँ।' कलिनले भने। उनले आफ्नो लक्ष्य साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्नु रहेको बताए।
यसअघि २०७१ सालको ए डिभिजन लिगमा कलिनले मछिन्द्र क्लबको प्रशिक्षण सम्हालेका थिए। उनको प्रशिक्षणमा मछिन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको थियो।
प्रशिक्षक बालगोपाल महर्जनले योहानको आगमनले नेपाली फुटबल विकासमा सहयोग पुग्ने बताए।
एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेका कलिन बिहीवार नेपाल आइपुगेका थिए। अब उनको वर्क परमिट लगायत कागजी प्रकिया बाँकी रहेको र एक हप्तापछि यो सबै प्रकिया सकाउने एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए।
यसअघि एन्फाको कार्यसमिमित बैठकले कलिनलाई राष्ट्रिय टिम र यू २३ टिम हेर्न गरी सम्झौता गरेको जनाएको थियो। तर कलिनले भने आफूले सिनियर टिम हेर्ने र यू२३ टिम बालगोपाल महर्जनले हेर्ने बताए।
यसअघि बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपालको मुख्य प्रशिक्षक रहेका महर्जनले आफूले यू २३ टिम हेर्न लागेको प्रष्ट पारे। साथै उनले आवश्यक परेको खण्डमा एन्फाले दिएका जुनसुकै काम गर्ने पनि बताए।
नेपालको सिनियर टिमले आगामी मार्च २५ मा मलेसियासँग मेत्रीपूर्ण खेल खेल्न लागेको र त्यही समयमा यू-२३ टिमको पनि छनोट प्रतियोगिता रहेकाले अहिलेलाई छुटै प्रशिक्षक राखिएको हुन सक्ने महर्जनले बताए।
महर्जनले एएफसी यू-२३ च्याम्पियनसिप छनोटमा नेपाली टिम सम्हालेन्छन्।