PahiloPost

Oct 18, 2021 | १ कात्तिक २०७८

ट्याक्स हेभनबाट नेपालमा लगानी : नेपालिक्सको खोजभित्र नखोजिएको पाटो



पहिलोपोस्ट

ट्याक्स हेभनबाट नेपालमा लगानी : नेपालिक्सको खोजभित्र नखोजिएको पाटो

  • ओम थापा/अमर बडुवाल

२६ वैशाख २०७० मा भक्तपुरको कटुञ्जेमा होटल खोल्ने प्रस्तावसहित ब्रिटिस भर्जिन आइल्याण्डको एउटा कम्पनी ग्लोबल टेक्नोलोजी एण्ड ट्रेडमार्कले उद्योग विभागमा प्रस्ताव दर्ता गर्‍यो। 

एक अर्व ९४ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको होटलका लागि विभागले स्वीकृती दियो। त्यसपछि विदेशी लगानीकर्ताले कम्पनी रजिष्ट्रारको कार्यालयमा १११८८३ दर्ता नम्वर भएको 'जी. टी. एण्ड टी. होटल प्रा.लि.' स्थापना गरे।

बिजमाण्डू/पहिलोपोस्टसँग उपलब्ध ३१ असार २०७४ को वित्तीय विवरणअनुसार यो कम्पनीले प्रतिवद्धता गरेको एक अर्ब ९४ करोड रुपैयाँ विदेशी लगानीमध्ये अहिलेसम्म ४६ करोड ७० लाख रुपैयाँ ब्रिटिस भर्जिन आइल्याण्डबाट नेपाल ल्याइसकेको छ। 

त्यो रकमबाट कम्पनीले ४१ करोड ४७ लाख १४ हजार रुपैयाँमा भक्तपुरको कटुञ्जेमा जग्गा किनिसकेको छ। कम्पनीले जग्गामा ३५ लाख रुपैयाँ खर्च गरेर तारबार समेत गरेको छ। बाँकी चार करोड ९५ लाख रुपैयाँ कम्पनीको बैंक खातामा छ। 

कम्पनीले श्री मिनाश्री प्रडक्टस नेपाललाई दुई करोड १० लाख २५ हजार रुपैयाँ ऋण दिएको छ।

र, यो कम्पनी अहिलेसम्म पूर्ण विदेशी लगानीको कम्पनी हो। भन्नुको अर्थ यो कम्पनीमा अहिलेसम्म कुनै पनि नेपाली लगानीकर्ताका रुपमा साझेदार छैनन्। कम्पनी रजिष्ट्रार कार्यालयको विवरणअनुसार जी.टी.एण्ड टी. होटल एकल शेयरधनी भएको कम्पनी हो। 

कम्पनीको वित्तीय विवरणले पनि त्यही पुष्टि गर्छ। त्यसो भए को हो त यो कम्पनीको एकल शेयरधनी ? जवाफ हो, हेमालता राहुल कौल।

त्यसो भए को हुन् त हेमालता?

---

२१ अप्रिल २००१ मा भारत महाराष्ट्रको पञ्चगामीबाट एउटा मारुती कार महावलेश्वरका लागि हिंड्यो। कारमा थिए, २४ वर्षका कुणाल परिहार। कार  महावलेश्वरको सडकमा हुँदा कुणालमाथि गोलीको वर्षा भयो। रगतको आहालमा भिजेका कुणाललाई अस्पताल नपुर्यादउँदै मृत घोषणा गरियो।

महाराष्ट्र प्रहरीले कुणाल हत्यामा १६ जनालाई आरोपी बनाउँदै चार्जसिट दायर गर्‍यो। भारतको सर्वोच्च अदालतमा चलिरहेको एउटा मुद्दाअनुसार कुणाल हत्याका मुख्य आरोपी थिए, कुणालकी श्रीमती हेमा जोशी, हेमाका पिता जगदिश मोहनलाल जोशी, आमा विद्या जोशी र सचिन जोशीका नामले चिनिने दाजु योगेश जोशी।

कुणालले मार्च १९९९ मा एउटा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रमको स्पोन्सर गोवा गुट्खा थियो। यसका मालिक थिए जगदिश मोहनलाल जोशी। कुणालको कार्यक्रममा योगेशले नै बहिनी हेमाको परिचय कुणालसँग गराएका थिए।

दुवैबीच प्रेम भयो, अर्को १४ महिनापछि २९ मे २००० मा १८ वर्षकी हेमा र २३ वर्षका कुणालबीच भागी विवाह भयो। बिहेको अर्को महिना गुवाहटी पुगेका कुणाल परिवारको दवावपछि श्रीमतीसँगै मुम्बई फर्किए। परिवारको दवावपछि डिसेम्बरमा विवाहलाई अवैध घोषणा गरियो। त्यसको चार महिनापछि कुणालको सडकमै हत्या भयो।

सतरा जिल्ला अदालत, मुम्बई उच्च अदालत हुँदै मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो। अन्तिममा सर्वोच्च अदालतबाट २८ अप्रिल २००८ मा योगेशले पनि उन्मुक्ति पाएपछि यो मुद्दाबाट सबै अभियुक्तले सफाई पाए। 

हेमाले फेरि दोस्रो बिहे गरिन्। चिकित्सक दीपक नायकका छोरा अभिषेक दीपक नायकसँग। दीपक मुम्बई बान्ड्रामा सचिन तेन्दुलकर र ऐश्वर्या रायका छिमेकी थिए। छोरा अभिषेकले युकेको युनिभर्सिटीमा एमबिएमा टप गरेका थिए।

तर अभिषेकको पनि ३१ वर्षको उमेरमा २८ जनवरी २००९ मा संदिग्ध अवस्थामा मृत्यु भयो जतिबेला हेमा २७ वर्षकी थिइन्। टाइम्स अफ इण्डियाको समाचारअनुसार अभिषेक मुम्बईको होटल अर्किडको १२०१ नम्बरको कोठामा मृत भेटिएका थिए।

अभिषेक बसिरहेको रुम नखुलेपछि होटलका स्टाफले डुब्लिकेट चाबीबाट ढोका खोलेका थिए। बेडमा लडिरहेका अभिषेकलाई अस्पताल पुराउँदा मृत घोषणा गरिएको थियो। पोस्टमार्टममा अभिषेकले अत्यधिक मदिरा सेवन गरेको फेला पर्‍यो। प्रहरीले सुरुमा यसलाई आत्महत्याका रुपमा हेरेको थियो। पछि शंका लागेपछि थप परीक्षणहरु पनि गर्‍यो।

त्यसपछि हेमा जोशीले संयुक्त अरब इमिरेट्समा बस्ने राहुल कौलसँग तेस्रो बिहे गरिन्। त्यसपछि हेमा जोशीले कानुनी कागजातका लागि आफ्नो नाम राखिन्, हेमालता राहुल कौल। 

उनले यही नाममा बेलायतमा समेत कम्पनी स्थापना गरेकी थिइन्, हेमा कौल लिमिटेड। बेलायतमा कम्पनीहरुको विवरण राख्ने कम्पनीज हाउसमा भेटिए अनुसार एकल लगानीकर्ता भएको यो कम्पनी सन् २०१५ मा दर्ता भएर २०१८ मा बन्द गरिएको थियो। 

हेमासँग विवाह गरेका राहुल कौल युएईमा डेजाभु क्लब चलाउँछन् भने हेमा फेसन डिजाइनमा व्यस्त छिन्। उनले डिजाइन गरेका ड्रेसमा बलिउड सेलिब्रेटीले समेत क्याटवाक गरिसकेका छन्। हेमाको युएईमा मराल नामको फेसन स्टोर समेत छ।

हेमालता राहुल कौल। फोटो : फ्री प्रेस जर्नल

---


र, यही युएईबाट नेपालमा पहिलो पटक हेमाको परिवारको लगानी प्रतिवद्धता आएको थियो, २८ माघ २०६३ मा। वीरगञ्जको पर्सामा सावुन र सुपारी उत्पादन गर्नका लागि १० करोड रुपैयाँ विदेशी लगानी ल्याउने प्रतिवद्धतासहित। 

युएईबाट हेमाको परिवारले झोरना दीपक (जेडी) गुहाको नाममा ८५ लाख रुपैयाँ लगानी ल्याएपछि १५ फागुन २०६३ मा सुलभ अग्रवाललाई स्थानीय साझेदार राखेर जेएमजे इण्डष्ट्रिज नेपाल स्थापना गरिएको थियो। सुरुमा केही वर्ष सुलभसहित यो कम्पनीमा रमेशकुमार अग्रवाल पनि बोर्ड डाइरेक्टर बनेका थिए।

तर नेपाली र विदेशी शेयर होल्डरबीच राम्रो सम्बन्ध नभएपछि नेपाली साझेदार यो कम्पनीबाट पूर्ण रुपमा बाहिरिएका थिए। 'कम्पनी सञ्चालनका विषयमा साझेदारबीच सौहार्दपूर्ण सम्बन्ध नबनेपछि हामीले त्यतिबेलै कम्पनीबाट हात झिकेका थियौं', सुलभका पारिवारिक सदस्य तथा शंकर समूहका प्रवन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए, 'साझेदारीको पहिलो परियोजनाबाट हामी बाहिरिएपछि अन्य कुनै परियोजनामा हामीले त्यो समूहसँग साझेदारी गरेका छैनौं।'

स्थानीय साझेदार बाहिरिएपछि पान मसला, सुपारी प्रसोधन गर्ने जेएमजे कम्पनीको कारोवार बन्द छ भने कम्पनीमा अब एक जना मात्रै सेयरहोल्डर ग्लोबल टेक एण्ड ट्रेडमार्क युएई छ। 

त्यसको प्रतिनिधित्व उनै झोरना दीपक गुहाले गर्छिन्। अहिले कम्पनीमा युएईबाट जति विदेशी लगानी ल्याइएको थियो त्यही बराबर अर्थात् ८५ लाख रुपैयाँ मात्रै चुक्ता पुँजी छ। 

बिजमाण्डू/पहिलोपोस्टले यो कम्पनीको पनि ३१ असार २०७४ को वित्तीय विवरण विश्लेषण गरेको थियो। कम्पनीले केही आर्थिक वर्षदेखि कुनै पनि कारोवार गरेको छैन, कारोवार नगरेका कारण कम्पनीलाई कुनै आम्दानी पनि भएको छैन। तर आम्दानी नभए पनि खर्च भने छ।

कम्पनीलाई २० लाख ६० हजार रुपैयाँको प्रशासनिक खर्च र दुई लाख ९५ हजारको ह्रासकट्टी गरेर २३ लाख ५६ हजार रुपैयाँ घाटा छ। त्योसँगै कम्पनीको कूल घाटा बढेर एक करोड ३९ लाख ८७ हजार पुगेको छ।

कम्पनीले यो घाटा आफ्नो चुक्ता पुँजीसँगै उही सेयर साझेदार भएको अर्को कम्पनीबाट वित्तीय स्रोत जुटाएको छ। त्यो कम्पनीको नाम हो श्री मिनाश्री प्रडक्ट प्रा.लि.। 

जेएमजेले मिनाक्षीबाट अहिलेसम्म १६ लाख ७५ हजार रुपैयाँ र शेयरहोल्डरबाट ८९ लाख २३ हजार ऋण लिइसकेको छ। कम्पनीले आफ्नो वित्तीय विवरणमा भनेको छ - यो कम्पनीको व्यवस्थापन जसले हेरिरहेको छ त्यसैले मिनाक्षीको पनि व्यवस्थापन हेरिरहेको छ।

यसरी जानकारी दिइएको श्री मिनाक्षी प्रडक्टस प्रालि पनि फेरि एकल सेयरधनी भएको कम्पनी हो। त्यसको लगानी पनि जी.टी.एण्ड टी. होटललाई जहाँबाट लगानी आएको छ, त्यहीं अर्थात् ब्रिटिस भर्जिन आइल्याण्डको ग्लोबल टेक एण्ड ट्रेडमार्कबाटै आएको छ।

१७ माघ २०६८ मा पर्साको रामगढमा सादा पान मसाला, गुट्खा र स्वीट सुपारी बनाउनका लागि कम्पनीले विदेशी लगानीको प्रस्ताव गरेको थियो। त्यसको भोलिपल्ट १८ माघमा यही सेयरधनी राखेर कम्पनी रजिष्ट्रारको कार्यालयमा ९०२०६ दर्ता नम्बर भएको श्री मिनाक्षी प्रडक्ट प्रा.लि. दर्ता भयो।

यो कम्पनी पनि एकल सेयरधनी भएको कम्पनी हो र ती सेयरधनी हुन् जे डी गुहा। कम्पनीको वित्तीय विवरणअनुसार यो कम्पनीमा ब्रिटिस भर्जिन आइल्याण्डको ग्लोबल  टेक एण्ड ट्रेडमार्कबाट सात करोड ८७ लाख ५० हजार रुपैयाँ लगानी आएको छ।

ब्रिटिस भर्जिन आइल्याण्डकै यही कम्पनीबाट ४ साउन २०७० मा ल्यामिनिटेड प्याकेजिङ म्याटेरियल उत्पादन गर्नका लागि लगानीको अर्को प्रतिवद्धता समेत आएको छ। यही प्रतिवद्धता बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा १० साउन २०७० मा ११४४४८ दर्ता नम्वर भएको जी.टी. एण्ड टी. प्याकेजिङ नेपाल प्रा.लि. दर्ता भएको छ।

यो पनि एकल सेयरधनी भएको कम्पनी हो भने कम्पनीमा उनै जे डी गुहा सञ्चालक छिन्। २४ करोड रुपैयाँ लगानी ल्याउने प्रतिवद्धता गरेको यो कम्पनीले  अहिलेसम्म ल्याएको लगानी भने जम्मा पाँच लाख रुपैयाँ मात्रै हो। त्यसै कारण यो कम्पनी दर्ता मात्रै भएको छ, सञ्चालनमा भने छैन।

वास्तविक सेयरधनी गुट्खा किंग

युएई र ब्रिटिस भर्जिन आइल्याण्डको ग्लोबल टेक एण्ड ट्रेडमार्क कम्पनीबाट नेपालका चार कम्पनीमा लगानी ल्याउने वास्तविक सेयरधनी हुन्, गुट्खा किंग जगदीश मोहनलाल जोशी। 

जोशीले जी.टी.एण्ड टी. होटलमा कान्छी छोरी हेमालता राहुल कौललाई एकल सेयरधनी राखेर लगानी ल्याएका थिए भने अन्य तीन कम्पनी जेएमजे इन्डष्ट्रिज, श्री मिनाश्री प्रडक्ट्स र जी.टी.एण्ड टी. प्याकेजिङ नेपालमा आफन्त जेडी गुहालाई सेयरधनी राखेर लगानी ल्याएका थिए। श्री मिनाक्षी प्रडक्ट जोशीले आफ्नी जेठी छोरी मिनाक्षीको नाममा स्थापना गरेका हुन्।

जगदिश जोशीका छोराका नाम हो, योगेश जोशी। तर, अहिले उनको नाम परिवर्तन भएर सचिन जगदीश जोशी बनेको छ। सचिनले पिताको विरासत मात्रै सम्हालेका छैनन्, बलिउडमा आफ्नै लगानीको फिल्ममा अभिनय समेत गर्छन्। पछिल्लोपटक जोशीले यसै महिना नायिका नरगिश फाख्रीसँग अमावश फिल्म रिलिज गरेका थिए। 


 

जोशीले मिस नेपाल श्रृष्टी श्रेष्ठसँग एउटा गीत 'कभी जो बादल वर्षे...' को अनप्लग्ड भिडियोमा समेत अभिनय गरेका छन्। जोशीले नायिका उर्वशी जोशीसँग विवाह गरेका थिए। विवाहपछि उर्वशीले पनि आफ्नो नाम परिवर्तन गरेर रैना जोशी राखेकी छन्। 

जोशी परिवार पान, सुपारीसहित होटल, रियलस्टेट, बियर र मदिरा उद्योगमा संलग्न छ। भारतमा कम्पनीको विवरण राख्ने मिनिस्ट्री अफ कर्पोरेट अफेयर्सको विवरणअनुसार पिता जगदीश २० कम्पनीमा, श्रीमती विद्या १२ कम्पनीमा, छोरा सचिन १९ कम्पनीमा, छोरी मिनाक्षी ११ कम्पनीमा र बुहारी रैना ११ कम्पनीमा सञ्चालक छन्। तर, नेपालमा लगानीकर्ता बनाइएकी कान्छी छोरी हेमालता र आफन्त गुहाका नाममा भने भारतमा एउटा पनि कम्पनी सञ्चालनमा छैन। 

अहिले अर्बौँ रुपैयाँ लगानीको सम्पत्ति भएका जगदीश मोहनलाल जोशी दुई दशक अघिसम्म भने सामान्य अवस्थामा थिए। गुट्खाले उनको जीवनमा समृद्धि र विवाद दुवै ल्यायो।

को हुन् जगदीश मोहनलाल जोशी?


'दाउद कनेक्सन'

भारतमा गुट्खाको एउटा प्रसिद्ध ब्राण्ड छ, 'आरएमडी'। आरएमडी अर्थात् रसिकलाल मानिकचन्द धारिवाल। यिनै धारिवालले सन् १९९० को दशकमा गुट्खाको व्यापार  सुरु गरेका थिए। उनले गुट्खाको रेसेपीका लागि चुने जगदीश मोहनलाल जोशीलाई। 

आरएमडीको बिजनेश दिन दुई गुणा रात चार गुणा बढ्दै जान थाल्यो। कम्पनी सफल हुँदै जान थालेपछि धारिवाल र जोशीबीच सेयरसम्वन्धी विवाद सुरु भयो। आफ्नो टेक्निकल एक्सपर्टिजका लागि धारिवालले कम्पनीको सेयर दिने प्रतिवद्धता जनाएको भन्दै जोशीले कम्पनीमा सेयर दावी गर्न थाले।

विवाद बढ्दै गएपछि जोशीले  सन् १९९७ मा आरएमडी कम्पनी छाडे र गोवा गुट्खा नामको कम्पनी सुरु गरे। तर, जोशीले धारिवालसँग ७० करोड रुपैयाँको दावी गर्न भने छाडेनन्। 

गुट्खा भारतसँगै नेपाल र पाकिस्तान जस्ता दक्षिण एशियाली मुलुकमा पनि लोकप्रिय हुँदै गएको थियो। भारतका अण्डरवर्ल्ड डन दाउद इब्राहिमका भाइ अनिश इब्राहिमले भारतबाट गैरकानुनी ढङ्गबाट गुट्खा आयात गरेर पाकिस्तानमा बिक्री गर्दै आएका थिए। उनले भारतका लोकप्रिय ब्राण्ड गोवा, १००० र आरएमडी जस्ता ब्राण्डका सस्तो डुप्लिकेट समेत गरिरहेका थिए।

खोज पत्रकारितामा प्रख्यात भारतका हुसैन जैदीले अण्डरवर्ल्ड डन दाउद इब्राहिमको विषयमा एउटा पुस्तक लेखेका छन्, ‘डोङ्ग्री टु दुबई’। त्यस पुस्तकमा एउटा च्याप्टर छ, ‘जज दाउद’। त्यो च्याप्टरमा जैदी लेख्छन्, - भारतबाट दुवई हुँदै गरिने आयातका कारण अनिशलाई गुट्खाको गैरकानुनी धन्दा कठिन र महँगो समेत परिरहेको थियो। त्यसैकारण उनले पाकिस्तानमै गुट्खा उत्पादनका लागि भारतमा चलेका ब्राण्ड, उत्पादन प्रक्रिया र गुट्खाका ठूला खेलाडीबारे अध्ययन गरिरहेका थिए। 

जैदी अगाडि लेख्छन् - जब अनिशले जोशी र धारिवालबीच विवाद थाहा पाए उनको मुहार हँसिलो भयो, उनले त्यहाँ आफ्ना लागि सम्भावना देखे। 

यस विषयमा अध्ययन गरेको भारतको सेन्ट्रल व्युरो अफ इन्भेस्टिगेशन (सिआईबी)का अनुसार जोशीले धारिवालबाट पैसा निकाल्नका लागि अनिशसँग आग्रह गरे। जोशी र धारिवाल दुवै त्यतिवेला गैरआवासीय भारतीयको स्टाटसमा थिए। त्यसलाई मेन्टेन गर्न उनीहरु दुवैले वर्षमा १८१ दिन भारत बाहिर बिताउनुपर्दथ्यो। सन् १९९९ को सेप्टेम्वर धारिवालले त्यसका लागि दुवई जाने निर्णय गरे।

जोशीले अनिससँग कुरा राखिसकेका थिए। दुवईमा अनिशले धारिवाललाई भेटे। तीन जनाबीचको भेटले विवाद सल्टिएन। सन् २००० को जनवरीमा धारिवाललाई लिएर अनिश पाकिस्तान आए। जोशी पनि बैंकक हुँदै पाकिस्तान पुगे। पाकिस्तानको कराँचीमा दाउदको निवासमा छलफल भयो। दाउदले त्यहाँ फैसला सुनाए- धारिवालले जोशीलाई ११ करोड भारु भुक्तानी दिने, विवाद मिलाएवापत त्यसमध्येबाट चार करोड भारुमा जोशीले दाउदका भाइ अनिशका लागि पाकिस्तानमा गुट्खा उद्योग खोलिदिने। त्यही सहमतिअनुसार सन् २००१ मा पाकिस्तानमा अनिशको गुट्खा उद्योग खुल्यो।

सन् २००४ मा अनिशका सहयोगी जमाइरुद्दिन अन्सारी मुम्बईमा पक्राउ परे। त्यसैगरी अनिशका लागि दुवई हुँदै गुट्खाको मेशीन पठाउँदै गर्दा प्रहरीले जोशीका दाजुका ज्वाइँ राजेश पचारियालाई पनि पक्राउ गर्‍यो। प्रहरी हुँदै सिआईबीमा मुद्दा पुगेपछि जोशी-धारिवाल-अनिशको नेक्सस पत्ता लाग्यो। सिआईबीले जोशी र धारिवाल दुवैलाई पक्राउ गर्‍यो। पछि मुद्दासमेत चल्यो।

गुट्खा र होटलको लोगो एउटै

गोवा गुट्खाको पाउचमा राखिएका दुई वटा जानकारी यो स्टोरीसम्म जोडिन्छ। त्यसमध्ये एक हो, ट्रेडमार्क ओनर र दोस्रो जी.टी.एण्ड टी.को लोगो। गोवा गुट्खामा जुन लोगो प्रयोग भएको छ, नेपालमा खोल्न लागिएको जी.टी.एण्ड टी. होटलको स्ट्याम्पमा पनि त्यही लोगो प्रयोग गरिएको छ। 

दोस्रो जोडिएको विषय हो, ट्रेडमार्क ओनरको नाम। गोवा गुट्खामा ट्रेडमार्क ओनरको नाम लेखिएको छ- ग्लोबल टेक्नोलोजी एण्ड ट्रेडमार्क लिमिटेड (बिभिआई) अर्थात् ब्रिटिस भर्जिन आइल्याण्ड। यही देशको यही कम्पनीबाट नेपालमा तीन पटक तीन वटा कम्पनी स्थापना गर्न विदेशी लगानी आएको छ।

२०६८ माघ १७ गते यही कम्पनीबाट आएको लगानी प्रतिवद्धता बमोजिम श्री मिनाक्षी प्रडक्ट कम्पनी स्थापना भएको थियो। त्यसपछि २०७० वैशाख ४ गते आएको लगानी प्रतिवद्धता बमोजिम जी.टी.एण्ड टी. होटल स्थापना भएको थियो भने २०७० कै साउन ४ गते आएको लगानी प्रतिवद्धता बमोजिम जी.टी.एण्ड टी. प्याकेजिङ नेपाल कम्पनी स्थापना गरिएको थियो।

ब्रिटिस भर्जिन आइल्याण्डको ग्लोबल टेक्नोलोजी एण्ड ट्रेडमार्क गोवा गुट्खाको ट्रेडमार्क ओनर हुनु पहिले यही नामको युएईको कम्पनीसँग यसको ओनरसिप थियो। जोशी परिवारले नेपालमा सबैभन्दा पहिले युएईको यही कम्पनीबाट जेएमजे इन्डष्ट्रिजमा लगानी ल्याएको थियो।

यो विवरणले पुष्टि गर्छ, सुपारी र सिमेन्टमा नेपालमा भएको गैरकानुनी आर्जन विदेश पुगेर फेरि लगानीका रुपमा आउँदैन। जोशी परिवारले भारतमा गरेको आम्दानी युएई र बिभिआई हुँदै विदेशी लगानीका रुपमा नेपाल ल्याएको हो। 

गुगल गर्दा चिप्लिएको रिपोर्ट

आईसिआईजेको सहयोगमा नेपालको खोज पत्रकारिता केन्द्र (सीआईजे)को टिमले झण्डै एक वर्ष अध्ययन गरेपछि पाँच वटा स्टोरी सार्वजनिक गर्‍यो। त्यसमध्ये एउटा स्टोरी थियो, सिमेन्ट, सुपारी र होटल : गैरकानूनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ? शीर्षकमा।

नेपालका करिब करिब सबै ब्रोडसिट दैनिक, देशका ठूला अनलाइनहरुमा प्रकाशित सीआईजेको खोजमूलक स्टोरीमाथि बिजमाण्डू/पहिलोपोस्टले खोज गर्दा तथ्यमात्रै त्रुटिपूर्ण भेटिएनन्, गलत सूचनाका आधारमा गलत विश्लेषण समेत गरेको फेला परेको छ।

गुगल म्यापमा ठाउँ चिनाउनका लागि युजरलाई एउटा सुविधा दिइएको हुन्छ, नभएको ठाउँ राख्ने (एड अ प्लेस)। कसैले यो ठाउँ फलानो हो भनेर एड गरेपछि गुगल म्यापमा एडिटरको भूमिका पाएका अर्का युजरले त्यसलाई एप्रुभ गर्छन्। त्यसपछि कसैले ठाउँको नाम सर्च गर्‍यो भने एड गरिएको ठाउँलाई गुगल म्यापले डिस्प्ले गर्छ। त्यसमा युजरहरुले फोटो पनि थप्न सक्छन्।

गुगल म्यापमा जी.टी.एण्ड टी. होटल (G. T. & T. Hotel) सर्च गर्‍यो भने भक्तपुरको राधेराधेमा अरनिको हाइवेसँगै भाटभटेनीको पारिपट्टीको ठाउँलाई 'साइट फर जी.टी.एण्ड टी. होटल' भनेर देखाउँछ। ठाउँसँगै गुगलले १७ तले भवनको दुई वटा फोटो पनि देखाउँछ। त्यसमध्ये एउटा फोटो फनिङ शाक्यले जुन २०१८ मा खिचेर अपलोड गरेका हुन्।

उनले गुगलमा पहिलेदेखि नै लेबल भएको ठाउँमा आफूले फोटो मात्रै थपेको बताए। खोज पत्रकारिता केन्द्रको 'खोज पत्रकारिता' यही गुगल सर्चबाट चिप्लिएको देखिन्छ।

खासमा यो निर्माणाधीन भवन जी.टी.एण्ड टी. होटलको नभएर सौरभ समूहका विष्णु न्यौपानेको भवन हो। यो भवन भएको जग्गा मध्यपुर थिमि नगरपालिकामा पर्छ।  होटलको जग्गा भने त्यहाँबाट करिब ५ सय मिटर पूर्व सल्लाघारीपट्टि साबिकको कटुञ्जे वडा नम्बर १ मा पर्छ।   

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको विवरण अनुसार कित्ता नम्बर ४८२६ नम्बरको १६ रोपनी, ८ आना र ३ पैसा क्षेत्रफलको यो जग्गा होटलले २०७० असोज ९ गते खरिद गरेको हो।  

होटलले १० जना जग्गाधनीहरु  राधा ताम्राकार, पटनादेवी शिवाकोटी, गीताकुमारी ताम्राकार, सुनीलकृष्ण ताम्राकार, कृष्ण ताम्राकार, अच्युत ताम्राकार, रजनी श्रेष्ठ, कृष्णप्रसाद ताम्राकार, नीलकृष्ण ताम्राकार र सूर्य ताम्राकारको १६ कित्ता जग्गालाई खरिद गरी एकीकृत गरेको हो। 

होटलको जग्गामा दुई वटा गेटसहित तारबारमात्र गरिएको छ, अन्य कुनै संरचना निर्माण गरिएको छैन। 

त्यसलाई जी.टी.एण्ड टी. होटल प्रा.लि.को वित्तीय विवरणले पनि पुष्टि गर्छ। 

कम्पनीको फिक्स्ड एसेट शीर्षकमा जग्गा अन्तर्गत ४१ करोड ४७ लाख रुपैयाँ लगानी लेखांकन गरिएको छ। त्यसैगरी जग्गा जोगाउनका लागि बाउन्ड्री वाल लगाएको र त्यसका लागि ३५ लाख ४५ हजार रुपैयाँ खर्च भएको जानकारी दिइएको छ। वित्तीय विवरणमा सम्पत्तिका रुपमा भवन देखाइएको छैन।

उता, गुगल म्यापमा साइट फर जीटीएन्डटी लेखिएको ठाउँमा भने दुई वटा भवन छन्।

'एउटा १७ तलाको भवन छ, त्यो सुरुमा अपार्टमेन्टका लागि निर्माण गरिएको हो। १७ तले भवन अगाडि पाँच तलाको अर्को भवन छ, त्यो बिजनेस कम्प्लेक्सका लागि निर्माण गरिएको हो,' न्यौपानेले बिजमाण्डूसँग भने। 

भूकम्पपछि त्यो भवनलाई अपार्टमेन्ट नभई होटलमा परिवर्तन गर्न खोजिएको उनले जानकारी दिए। 'होटलमा हाम्रो अनुभव थिएन, त्यसैले ग्राण्ड, सोल्टी र सिद्धार्थ समूहसँग साझेदारीमा होटल चलाउन प्रस्ताव गरेँ, तर नेपालमा होटल सञ्चालनको अनुभव भएका तीन वटै समूहले ब्रेक इभनमा पनि सञ्चालन गर्न सकिन्न भनेपछि घाटा खान किन चलाउने भनेर त्यतिकै छाडेको छु,' उनले भने।

उनले त्यो भवनमा कसैको साझेदारी नभएको समेत स्पष्ट पारे। 'त्यो हाम्रै परिवारको सम्पत्ति हो, विदेशबाट त पैसा ल्याएको पनि छैन, विदेशी कसैलाई साझेदार बनाएको पनि छैन,'  उनले भने।

तर, खोज पत्रकारिता केन्द्रको रिपोर्ट भने यही गुगलको गलत सूचनाबाट अर्को ट्रयाकमा गएको छ। केन्द्रले पान, सुपारी र होटलमा लगानी ल्याउने झोरना दीपक गुहा र हेमालता राहुल कौल हुँदै जोशी परिवारलाई खोज्न छाडेर न्यौपाने परिवारलाई ट्र्याक गर्न थाल्छ। 

पान मसलाका लागि युएईबाट लगानी ल्याएर स्थापना गरिएको जेएमजे इन्डष्ट्रिजका स्थानीय साझेदार रहेर साझेदारी छाडिसकेका सुलभ अग्रवाल र न्यौपानेबीच भने साझेदारी छ। अग्रवाल समूहको शंकर समूह छ भने न्यौपाने समूहको सौरभ समूह छ।

दुई समूह लगायत अन्य लगानीकर्ताको साझेदारीमा सुरुमा जगदम्बा समूह खडा गरिएको थियो। यो समूहले साझेदारीमा २०५५ मा जगदम्बा सिमेन्ट, २०५७ मा जगदम्बा सिन्थेटिक, २०५८ मा जगदम्बा स्पिनिङ मिल र २०६३ मा शुभश्री जगदम्बा सिमेन्ट गरी चार कम्पनी स्थापना गरेका थिए। 

चार वटै उद्योगमा शंकर समूह माइनोरोटीमा छ भने न्यौपाने समूह मेजोरोटीमा छ। यी चार कम्पनीबाट सुलभ र न्यौपाने सञ्चालक छन्। तर, दुवै समूहले अहिले छुट्टाछुट्टै रुपमा आफ्नो समूहलाई अघि बढाइरहेका छन्। जस्तो जगदम्बा स्टिल, रिद्धिसिद्धि सिमेन्ट, सौर्य सिमेन्टमा शंकर समूहले अन्य साझेदार खोजेको छ। त्यसैगरी लक्ष्मी स्टिल, सर्वोत्तम सिमेन्ट लगायतका परियोजनामा न्यौपानेले अन्य समूहलाई साझेदार बनाएका छन्।

खोज पत्रकारिता केन्द्रको रिपोर्टमा न्यौपानेको सर्वोत्तम सिमेन्टमा हङकङबाट आएको विदेशी लगानीलाई पनि जोड्न खोजिएको छ। नेपालमा व्यवसाय गरिरहेको एउटा पुरानो मारवाडी सावर्थिया परिवार छ। त्यो परिवार थप अपर्चुनिटी खोज्ने क्रममा हङकङ र युएई पुगेको थियो।

उनीहरुले दुवईलाई आधार बनाएर कारोवारको ठूलो साम्राज्य तयार गरेका छन्। नेपाल लगायत दक्षिण एशियाली मुलुकदेखि अफ्रिकासम्म २६ वटा देशमा सावर्थिया परिवारको लगानी छ। उनीहरुको कूल लगानी नै एक अर्व १० करोड डलर (एक खर्व २५ अर्व रुपैयाँ) बराबर छ।

त्यही परिवारका एक सदस्य रमेशकुमार सावर्थिया सन् १९७९ देखि हङकङ बस्दै आएका छन् भने उनले हङकङको पासपोर्ट समेत लिएका छन्। उनको बाँकी परिवार युएई बस्दै आएको छ। 

सावर्थियाले सर्वोत्तम सिमेन्टमा युएईको होल्डिङ कम्पनी हुँदै हङकङबाट लगानी ल्याएका थिए। सौरभ समूहका न्यौपानेका अनुसार सर्वोत्तम सिमेन्टमा भएको साझेदारी सार्वथियाले तीन जना नेपालीलाई बिक्री गरेर बाहिरिसकेका छन्। त्यसवापत सावर्थियाले नेपाल सरकारलाई लाभकर समेत भुक्तानी गरिसकेको छ। 

---

ट्याक्स हेभन कन्ट्रीबाट नेपालमा भित्रिएको लगानीका विषयमा विरलै समाचार सामग्री तयार भएका छन्। खोज पत्रकारिता केन्द्रको मेहनतले त्यसमा योगदान दिन खोजेको छ। तर, लगानीको जालो खोज्न भएको वर्षदिनको मेहनत नै अर्कै जालोमा अल्झिन पुगेको छ। खोज पत्रकारिता केन्द्रले ट्याक्स हेभन कन्ट्रीहरुबाट भित्रिएका लगानीमाथि त्यसपछि फलो अप ल्याइसकेको छैन। यद्यपि, उसकै रिपोर्टका आधारमा विचार निर्माण र फ्रेमिङ गर्ने क्रम भने जारी छ।

प्रयासलाई नै प्रसंसा गर्ने हो भने फरक कुरा हो। नत्र, संस्थागत रुपमा खोज पत्रकारिता केन्द्रबाट 'खोज पत्रकारिताको मर्म' नपुगी रिपोर्ट आउनु र मूलधारे मिडियाले त्यसलाई 'साभार'मात्रै गर्नुले पत्रकारिताको जवाफदेही चरित्र स्थापित गर्न सक्दैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell