PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

यसरी हुँदैछ कर्णालीमा एउटै मञ्चबाट सात प्रदेशका रंगकर्मीको नाटक मञ्चन



पी बी खड्का

यसरी हुँदैछ कर्णालीमा एउटै मञ्चबाट सात प्रदेशका रंगकर्मीको नाटक मञ्चन

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने रारा राष्ट्रिय नाटक महोत्सव–२०७५ मा सात वटै प्रदेशका रंगकर्मीको जमघट हुने भएको छ।

पहिलो पटक हुन लागेको नाटक महोत्सवमा सात प्रदेशका रंगकर्मीहरुले सहभागिता जनाउने भएसँगै सुर्खेतको एउटै मञ्चमा जमघट हुने भएको हो।

सास्कृतिक संस्थान काठमाडौं र आरङ्ग नेपाल सुर्खेतको आयोजनामा हुने नाटक महोत्सवमा सात वटै प्रदेशका १३ वटा नाटक मञ्चन हुने आरङ्ग नेपालका अध्यक्ष गणेश गौतमले जानकारी दिए।

यस अघि मंसिर पहिलो साता हुने भनिएको महोत्सव यही फागुन २३ देखि ३० गतेसम्म आयोजना हुन लागेको हो। महोत्सवमा १३ वटा नाट्य समूहले सहभागिता जनाउने छन्।  

महोत्सव २३ गते उद्घाटन हुने छ। २४ गतेदेखि ३० गतेसम्म दैनिक दुईवटा नाटक मञ्चन हुने तालिका छ। २४ गते प्रदेश नं. १ बाट सोलुखुम्बु नाट्य समूह, सोलुखुम्बुबाट युवराज युराकद्वारा निर्देशित नाटक ‘आरन’ प्रदर्शन हुनेछ। सोही दिन दिउँसो ३ बजे प्रदेश ७ को खप्तड सांस्कृतिक मञ्च परिवार, कैलालीबाट पुष्पा अवस्थीद्वारा निर्देशित ‘छाउ’ प्रदर्शन हुने समय तालिका छ। 

त्यस्तै, २५ गते ११ बजे प्रदेश १ बाट मानव अधिकार मञ्च नेपाल, इलामबाट सुरेश पोर्तेलद्वारा निर्देशित नाटक ‘म पहिलो सन्तान किसान जन्माउँछु’ प्रदर्शन हुनेछ। सोही दिन दिउँसो तीन बजे कर्णाली प्रदेशको कर्णाली कला प्रतिष्ठान, सुर्खेतबाट बालकृष्ण सुनारद्वारा निर्देशित नाटक ‘आमाको सपना’ प्रर्दशन हुनेछ। 

२६ गते प्रदेश २ बाट श्री गढीमाई नाट्य कला केन्द्र, बाराको रामलोचन चौरसीद्वारा निर्देशित नाटक ‘दहेज आ दारु’ प्रदर्शन हुनेछ। सोही दिन दिउँसो ३ बजे प्रदेश ७ को सुदुर पश्चिमाञ्चल साहित्य समाज, कैलालीबाट भीष्म जोशीले निर्देशन गरेको नाटक ‘श्रीमान् वीरबहादुर’ प्रदर्शन हुनेछ।

२७ गते विहान ११ बजे प्रदेश नंं. ३ को साइलेन्ट एक्ट, काठमाडौंबाट नाटक ‘जिउँदो आकाश’ प्रदर्शन हुनेछ जसलाई आर.के मेहताले निर्देशन गरेका छन्। सोही दिन दिउँसो कर्णाली प्रदेशको कर्णाली खस संस्कृति मञ्च जुम्लाबाट रन्नीबहादुर घर्तीले निर्देशन गरेको ‘फड्को’ नामक नाटक मञ्चन हुनेछ। 

२८ गते विहान ११ बजे प्रदेश नं. ४ को मञ्जरी नाट्य समूह, लमजुङ्गबाट पुरु लम्सालले निर्देशन गरेको नाटक ‘नौगेडी’ मञ्चन हुनेछ। सोही दिन दिउँसो ३ बजे प्रदेश नं. ५ को शान्तिका लागि युवा सञ्जाल बर्दियाबाट झकेन बिसीले निर्देशन गरेको नाटक ‘हिटवा’ मञ्चन हुनेछ।

२९ गते विहान ११ बजे प्रेशन नं. ४ को युथ क्रिएसन थिएटर पोखराबाट केदार पौडेलले निर्देशन गरेको नाटक ‘घेरो’ मञ्चन हुनेछ भने, सोही दिन दिउँसो ३ बजे प्रदेश नं. ३ को ङ समूह काठमाडौंबाट प्रवीण खतिवडाले निर्देशन गरेको नाटक ‘एक बोली एक दाम’ मञ्चन हुनेछ। 

महोत्सवको अन्तिम दिन अर्थात् ३० गते दिउँसो २ बजे कर्णाली प्रदेशबाट आरङ्ग नेपाल सुर्खेतको गणेश गौतमले निर्देशन गरेको ‘मूशल पर्व’ मञ्चन हुनेछ। 

महोत्सव खर्च ४० लाख 
नाटक महोत्सव आयोजना गर्न करीब ४० लाख लाग्ने अनुमान गरिएको अध्यक्ष गौतमले जानकारी दिए। जसमा कार्यक्रममा सहभागीका लागि खर्च, रंगमञ्च तयारी खर्च, पुरस्कार, वर्कसप सञ्चालन खर्च लगाएत झाँकी र र्‍यालीको खर्च व्यवस्थापनमा ४० लाख  लाग्ने अनुमान गरिएको हो। त्यस्तै, महोत्सवमा चित्रकला, मूर्तिकला प्रदर्शनी समेत गरिने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell