PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

अख्तियारको ‘मुद्दा तामेली’ बार्गेनिङको अस्त्र? सांसदहरुले सोधे,‘हटाउन मिल्दैन?’



बीपी साह

अख्तियारको ‘मुद्दा तामेली’ बार्गेनिङको अस्त्र? सांसदहरुले सोधे,‘हटाउन मिल्दैन?’

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा तामेलीमा राखेर मान्छेहरुसँग बार्गेनिङ गर्ने गरेको आरोप सांसदहरुले लगाएका छन्।

आर्थिक वर्ष २०७४/०७५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कूल १२ हजार ४ सय मुद्दा फर्छ्यौट गरेकोमा ६ हजार ४ सय ५८ मुद्दा तामेलीमा गएको छ। अर्थात् ५२ प्रतिशत मुद्दा तामेलिमा गएको अख्तियारको तथ्यांकले देखाउँछ। 

त्यसैगरी सोही आर्थिक वर्षमा सुझावसहित २ सय ६२ वटा मुद्दा तामेलीमा गएको छ। समग्रमा कूल मुद्दाको ५४ प्रतिशत मुद्दा तामेली भएको छ। 

यो तथ्यांक आइतबार राष्ट्रिय सभाको दीगो विकास समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेले प्रस्तुत गरेका हुन्। 

राष्ट्रिय सभाका सांसदहरुले अख्तियारले मुद्दाको किनारा लगाउनु भन्दा पनि तामेलीमा राख्ने संख्या बढी देखेकोले आश्चर्य व्यक्त गरे। 
सांसद डा.विमला राई पौडेलले भनिन्,‘यो तामेलीमा जाने मुद्दाको संख्या कम गर्न सकिँदैन? यो तामेलीबाट जनता निकै त्रसित भइसकेका छन्।’

सांसद पौडेलको भनाईलाई साथ दिदै सांसद भैरवसुन्दर श्रेष्ठले भने,‘अख्तियारले मुद्दा तामेली गराएर बार्गेनिङ गराउँछ। मुद्दा तामेलीमा रहेको देखाउँदै तर्साउने काम हुन्छ। यसलाई हटाउनु पर्छ।’

सांसद महेश महरा र चक्रप्रसाद स्नेहीले पनि तामेलीका कारण दुःख पाउने भएकोले यसलाई कम वा हटाउन माग गरे। उनीहरुले मुद्दाको किनारा लगाएरै जाँदा ठीक हुने राय समिति समक्ष दिए।

समितिभित्रका यी सब कुरा अख्तियारका प्रमुख आयुक्त नविन घिमिरेले सुन्दै थिए। उनको जवाफ दिने पालो आयो। मुद्दा तामेलीका विषयमा प्रमुख आयुक्त घिमिरेले भने,‘यो तर्साउने विषय होइन। कतिपय मुद्दा तत्कालै किनारा लगाउन सक्ने नदेखिनेले तामेलीमा राखिन्छ। यसलाई जतिबेला चाहे त्यति बेला उठाएर बार्गेनिङ गर्न होइन।’

प्रमुख आयुक्त घिमिरेले मुद्दा तामेली भनेको किनारा लागेको जस्तै हुने गरेको दाबी गर्दै यसलाई घटाउँदै लगिने बताए।

तर, सांसदहरुले पूर्व आयुक्त राजनारायण पाठकतर्फ इंकित गर्दै अख्तियारको नेतृत्वबाटै यस्तो काम भइरहेको बताए। उनीहरुले अख्तियारको सेवामाथि पनि प्रश्न उठाएका थिए।

जवाफमा प्रमुख आयुक्त घिमिरेले पाठकमाथि छानविन भइरहेकोले अख्तियारको छवि राम्रो बनाउने पक्षमा आफ्नो टीम लागेको दाबी गरे।
घिमिरेले अनुचित कार्य गर्नेलाई पनि कारवाही गर्न सक्ने अधिकार अख्तियारलाई दिनु पर्ने माग दोहर्‍याए। साथै गैर सरकारी संस्थामाथि पनि छानविनको अधिकार अख्तियारलाई दिनु पर्ने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell