काठमाडौँ : नेपाली कांग्रेसले ललितपुरको नख्खु लगायत देशका विभिन्न ठाउँमा भएका बम विस्फोटको घटनाबारे आधिकारिक प्रतिक्रिया दिएको छ।
'बम विष्फोटका घटना र त्यसबाट भएको जनधनको क्षतिलाई गम्भीर रुपमा लिंदै त्यसप्रति गहिरो दुःख व्यक्त गर्दछ र यस्तो आततायी कामको घोर निन्दा गर्दछ। घटनामा जीवन गुमाएका लमजुङका सिंहप्रसाद गुरुङको आत्माको चीर शान्तिको कामना गर्दछ', बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, 'यो बैठक गुरुङको परिवारप्रति समवेदना प्रकट गर्दै तत्काल राहत रकम उपलब्ध गराउन र सबै घाइतेको सम्पूर्ण उपचार निःशुल्क गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ। एनसेलका कैयन टावरहरुमा पु¥याइएको क्षतिले केवल सो संस्थालाई मात्रै असर पुग्ने होइन राष्ट्रकै सम्पत्ति नष्ट हुने विषयप्रति गम्भीरता जरुरी छ।'
'दशक लामो हिंसाबाट भर्खरै मुक्त भएर शान्तिपूर्ण ढंगले अघि बढ्ने क्रममा रहेको हाम्रो देशमा यो या त्यो वाहानामा फेरि पनि हिंसाले प्रवेश पाउनु अत्यन्तै दुःखद छ । सरकार यसप्रति गम्भीर बनोस्, शान्ति सुरक्षा कायम गर्न यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै जोडदार माग गर्दछ', विज्ञप्तिमा अगाडि भनिएको छ।
त्यसैगरी कांग्रेसले संसदमा हालै दर्ता भएको सूचना प्रविधि सम्बन्धी विधेयक २०७५ ले सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रालाई नै असर पर्ने र गर्ने गरी निर्मित प्रावधानहरुप्रति गम्भीर चासो, चिन्ता र आपत्ति प्रकट गरेको छ।
'सामाजिक सन्जालको प्रयोगमा रहेका कतिपय वेथीति नियन्त्रण गर्न राज्यले राख्नु पर्ने सर्तकताप्रति कसैको विमति हुन्न तर त्यसका नाममा सामाजिक सञ्जाललाई क्रमशः बन्देज लगाउने स्थितिप्रति कदापि समर्थन जनाउन सकिन्न। अतः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक सो विधेयकका अनुदार प्रावधानहरु सच्याउन नेपाल सरकारलाई सचेत गराउन चाहन्छ', बैठकको निर्णयमा छ।
फौजदारी संहितामा रहेको प्रेसको स्वतन्त्रता कुण्ठीत गर्ने केहि प्रावधान सच्याउन जारी रहेको नेपाली कांग्रेसको पूर्ववतः धारणा पुनः स्मरण गराउँदै बैठकले सो संहितालाई संशोधन गरिनु पर्ने आवश्यकताप्रति गम्भीर हुन र संशोधन प्रकृया प्रारम्भ गर्न सरकारसँग माग
गरेको छ।
महासमितिको बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काद्वारा प्रस्तुत महामन्त्रीको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवद्वारा प्रस्तुत कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत नेपाली कांग्रेसको आर्थिक नीति प्रस्ताव परिमार्जन सहित पारित गरेको छ।
त्यस्तै पुस ६ गते केन्द्रीय कार्यसमितिले सर्वसम्मतिले पारित गरी महामन्त्री पूर्णबहादुर खड्काद्वारा महासमितिको बैठकमा प्रस्तुत नेपाली कांग्रेसको विधान संशोधनको प्रस्ताव परिमार्जन सहित पारित गर्ने निर्णय पनि गरेको छ।