
काठमाडौं : नेपालको एन्फा यू-२१ टोली भारतको गुहावटीमा भइरहेको डक्टर टी ए ओ नर्थ इस्ट इन्टरनेशनल गोल्डकप (यू२१) फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।
आइतवार भएको आफ्नो चौथो खेलमा मिजोरमसँग ३-० ले पराजित भएपछि नेपाल एक खेल खेल्नुअघि नै समूह चरणबाट बाहिरिने पक्का भएको ट।
समूह बी मा रहेको नेपालले अहिलेसम्म चार खेल खेल्दा २ मा जित र २ मा हारको नतिजा निकालेको हो।
पाँच टोली रहेको यस समूहमा मेघालय र मिजोरमले १०-१० अंक जोडिसकेका छन्। नेपालको प्रतिनिधित्व गरेको एन्फा यू २१ ले यी दुवै टोलीसँग हार बेहोरेको थियो। एन्फा यू २१ र मणिपुरको समान ६ अंक छ।
नेपालले अब नागाल्याण्डसँग समूहको अन्तिम खेल खेल्न बाँकी छ।
एलएनआइपिइ स्टेडियममा भएको मिजोरम विरुद्धको खेलमा एन्फा टोलीले दुई गोल पेनाल्टीबाट खांएको थियो। पहिलो हाफको ४२औँ मिनेटमा मिजोरमका लाललुन्ति उआंगाले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए।
दोस्रो गोल पनि मिजोरमले पेनाल्टीमै गर्यो। ५७औँ मिनेटमा पाएको पेनाल्टीमा लाहारियाट कुलाले गोल गर्दै मिजोरमको अग्रता दोब्बर पारेका थिए।
इन्ज्युरी टाइममा रोगुवा कुलाले गोल गर्दै मिजोरमलाई ३-० को जित दिलाए। खेलको दोस्रो हाफमा मिजोरमले खेलाडी परिवर्तन गर्दा मैदानमा २ मिनेट मिजोरमको १२ खेलाडीमा खेल्दा केहीबेर विवाद भएको थियो। केही समयको तनावपछि आयोजकले मिजोरमलाई आवश्यक कारवाही गर्ने भनेपछि खेल पुन: सुरु भएको थियो।