PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

टी-२० क्रिकेटमा अर्को लास्ट ओभर थ्रीलर : अन्तिम ओभरमा रिचर्डसन र कमिङ्स मिलेर १४ रन बनाएपछि अष्ट्रेलियाले भारतलाई हरायो



पहिलोपोस्ट

टी-२० क्रिकेटमा अर्को लास्ट ओभर थ्रीलर : अन्तिम ओभरमा रिचर्डसन र कमिङ्स मिलेर १४ रन बनाएपछि अष्ट्रेलियाले भारतलाई हरायो

टी २० इन्टरनेशनलमा अर्को लास्ट ओभर थ्रीलर म्याचमा अष्ट्रेलियाले भारतलाई ३ विकेटले पराजित गरेको छ। अन्तिम ओभरमा अष्ट्रेलियाले १४ रन जोड्दै खेल जितेको हो।

जितपछि अष्ट्रेलियाले २ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।

१२७ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभरमा ७ विकेट गुमाएर ११३ रन बनाएको थियो र अन्तिम ओभरमा जितका लागि ६ बलमा १४ रन बनाउनुपर्ने थियो। १९औँ ओभरको अन्तिम दुई बलमा भारतका उमेश यादवले लगातार दुई विकेट लिँदै अष्ट्रेलियालाई दबाबमा राखेका थिए।

अन्तिम ओभर ब्याटिङ गर्न क्रिजमा रहेका ज्ये रिचर्डसन र प्याट कमिङ्सले कुनै रन बनाएका थिएनन्। तर अन्तिम ओभरमा यी दुई खेलाडीले ७-७ रन जोड्दै अष्ट्रेलियालाई जिताए। दुवैले एक-एक चौका प्रहार गरे।

दुवै खेलमा ७ रनमा नटआउट रहे। त्यसअघि ग्लेन म्याक्सवेल र डि आर्सी सर्टले तेस्रो विकेटका लागि ८७ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए। तर थप २४ रन जोड्दा अष्ट्रेलियाले ५ विकेट गुमाएको थियो। अष्ट्रेलिया लागि म्याक्सवेलले ४३ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा ५६ रन बनाए। यस्तै सर्टले ३७ र पिटर ह्याण्ड्सकम्बले १३ रन जोडे।

भारतका जसप्रित बुमराहले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए।

त्यसअघि भिसाकापतानममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले लोकेश राहुलको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन बनाएको थियो। राहुलले ३६ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा ५० रन बनाए। कप्तान विराट कोहलीले २४ रन जोड्दा महेन्द्र सिंह धोनीले नटआउट २९ रन बनाए।

अष्ट्रेलिया नाथन कुल्टर नाइलले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। उनले राहुल, दिनेश कार्तिक (१) र क्रुनल पाण्ड्या (१) लाई आउट गरेका थिए।

कुल्टर नाइल खेलको म्यान अफ दि म्याच घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell