
काठमाडौं : सूर्यविनायक नगरपालिका ८ आदर्श चोक बस्ने २६ वर्षीय निकेश भुजु शुक्रबार बिहानै घरबाट निस्किए। उनीसँगै थिए पाँच वर्षीय छोरा। छोराको कपाल काट्न भन्दै निस्किएका भुजु मध्याह्न हुँदासम्म पनि घर फर्किएनन्।
बा ५ च ६४२१ नम्बरको भ्यान चलाएर चाँडै आउँछु भनेर गएका श्रीमान् र छोरा नआएपछि श्रीमती बेचैन भइन्। उनले मोबाइलमा सम्पर्क गर्न खोजिन्। उताबाट जवाफ आयो, ’तपाईँले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्वीच अफ गरिएको छ।'
समय घर्किँदै गयो। श्रीमान् र छोरा फर्किएनन्। उनले आफ्ना नातागोता, छरछिमेक सबैतिर सम्पर्क गरिन्। कहिँकतै गएको पत्ता लागेन। साँझ पर्दै गएपछि चिन्ता झनै बढ्दै गयो। साँझको करिब साढे ६ बजेतिर उनी अर्को गाडी लिएर श्रीमान् र छोरो खोज्न निस्किन्।
केही समयमा श्रीमानले चलाएको गाडी उनको नजिकैबाट गयो। उनले श्रीमानलाई बोलाइन् तर गाडी रोकिएन। उनी आश्चर्यमा परिन्। श्रीमानको गाडी पिछा गर्दै गइन्। केही पर गाडी रोकियो। गाडीबाट ३/४ जना युवक भाग्दै गरेको देखिन्।
उनी हतार-हतार गरेर श्रीमानको गाडीमा गएर ढोका खोलिन्। ढोका खोलेर हेर्दा उनको होस नै उड्यो। श्रीमान् गाडीभित्र बेहोस् अवस्थामा थिए। पाँच वर्षीय छोरा भने सहकुल अवस्थामै थिए। तत्काल नै श्रीमानलाई हस्पिटल पुर्याइन। तर, श्रीमान् भने होसमा आएनन्। उनको केही समय अगाडि नै मृत्यु भएको डाक्टरले घोषणा गरिदिए।
भुजुको मृत्यु रहस्यमय रहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी हिमालकुमार श्रेष्ठले बताए। एसपी श्रेष्ठले भने, 'घटना रहस्यमय छ। पोस्टमार्टम रिपोर्ट आएपछि केही खुल्ने छ। हामी अनुसन्धान गरिरहेका छौँ।‘
प्रहरीको प्रारम्भीक अनुसन्धानमा भुजु लागू औषध प्रयोगकर्ता समेत रहेको खुलेको छ। घरबाट निस्किएपछि भुजु आफ्ना साथीहरूसँग बसेर लागूऔषध लिएको खुलेको हो। प्रहरीले श्रीमतीको बयानको आधारमा गाडीबाट भाग्ने चार जनालाई नियन्त्रणमा लिएको छ। कुनै फिरौती रकम नमागेकाले घटना अपहरण हुनसक्ने सम्भावना न्यून रहेको प्रहरीको भनाई छ।
पक्राउ पर्नेमा सुमन बाला, किरण श्रेष्ठ, भुपबहादुर रोका, राज बनमाला रहेका छन्।
‘श्रीमतीको बयानको आधारमा हामीले उनीहरूलाई विभिन्न सूचना प्रयोग गरेर नियन्त्रणमा लिएका हौँ। उनीहरूसँग सोधपुछ भइरहेको छ,' एसपी श्रेष्ठले भने।