
नयाँ दिल्ली– पाकिस्तानको सत्तारुढ दल तहरीक ए इन्साफ (पीटीआई) का एक हिन्दू सांसद भारत आएका छन्। काश्मिरको पुलवामा घटनाले भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला सांसद रमेश कुमार वंकवानीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरेका छन्। वंकवानी प्रयागराजमा चलिरहेको कुम्भ मेलामा सहभागी हुन भारत आएका थिए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि संक्षिप्त भेट भएको बताएका छन्।
विदेशमन्त्री स्वराजसँगको भेटमा आफूले पाकिस्तानी प्रधानमन्त्री एवं पीटीआईका नेता इमरान खानको सन्देश सुनाएको सांसद वंकवानीले बताए। ‘पाकिस्तानले कहिल्यै पनि आफ्नो भूमि भारतविरुद्ध प्रयोग गर्नेछैन्। यदि पुलवामा आक्रमणमा कुनै प्रकारको संलग्नता देखिने प्रमाण भारतसँग छ भने पाकिस्तानी सरकारले कडा कारवाही गर्छ’, उनले सुष्मालाई सुनाए।
एक अर्कालाई आरोपप्रत्यारोप गर्ने समय सकिएको र अब आतंकवादविरुद्ध समन्वय गरेर अघि बढ्ने बेला आएको भनाई आफूले राखेको सांसद वंकवानीले बताए। आफ्नो भ्रमण दुबै देशबीच मित्रताको माहौल कायम गर्नमा केन्द्रीत रहेको उनको भनाई छ।
पाकिस्तानमा हिन्दू काउन्सिलका प्रमुख समेत रहेका सांसद वंकवानीले भारतका विदेश राज्यमन्त्री एवं भारतीय सेनाका पूर्वप्रमुख वी के सिंहसँग पनि भेट गरेर दुई देशको सम्बन्ध सुधारका लागि पहल गरिरहेको बीबीसी हिन्दीले जनाएको छ।
सांसद वंकवानीले पाकिस्तान फर्केर प्रधानमन्त्री खानलाई भेटी भारतमा भएको प्रगतिबारे जानकारी गराउने पनि बताए।