
विराटनगरः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गैरजिम्मेवार अभिव्यक्ति नदिन पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। प्रेस युनियन मोरङ शाखाद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले पार्टी सभापति देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार नभएको बताए।
फागुन ५ गते पर्साको वीरगञ्जमा जिपी कोइराला फउण्डेसनको कार्यक्रममा शेखरले सभापति देउवाको कडा आलोचना गरेका थिए। कार्यक्रममा फाउण्डेसनकी अध्यक्ष सुजाता कोइराला, पार्टीका महामन्त्री शशांक कोइराला पनि उपस्थित थिए। तिनै कोइरालालाई १२१ किलोको मालाले स्वागत तथा सम्मान गरिएको थियो।
त्यसको तीन दिनपछि वीरगञ्ज पुगेका देउवाले शेखरमाथि मुख छाडेका थिए। उनले ‘त्यो शेखर आजकल बढ्दा बोल्दै हिडेको छ। कांग्रेस कोइरालाहरुको मात्र होइन’ भन्दै जथाभावी बोल्दै हिँडे अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए। ‘कांग्रेस पार्टी कसैको बपौती होइन, यो नेपाली जनताको पार्टी हो, पार्टीलाई कमजोर गर्ने जो कोहीलाई कारबाही हुनेछ’, देउवाको भनाई थियो।
देउवाले नामै तोकेर कारवाहीको चेतावनी दिएपछि शेखरले सभापति पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति नदिन चेतावनी दिएका हुन्। ‘पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठ्यारो लाग्छ भने त्यसमा मेरो केही भन्नु छैन’, उनले भने, ‘पार्टी सभापति देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार होइन।’
उनले कांग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्नेमा जोड दिए। पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नहुने कोइरालाको धारणा छ।
केन्द्रीय सदस्य डा कोइरालाले सङ्गठनलाई मजबुत बनाउन १४औँ महाधिवेशनका लागि केन्द्रीय समितिले अहिलेदेखि नै अभियानमा लाग्नुपर्ने भन्दै नेपाल विद्यार्थी सङ्घमा भएको विवादले परिणाम राम्रो नदिने संकेत गरे। उनले नेपाल विद्यार्थी संघमा लाग्ने विद्यार्थीको उमेरको हद ३२ वर्ष रहेको र यसलाई बढाउने वा नबढाउने कुरामा पार्टीमा छलफल भइरहेको बताए।