PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नख्खु विस्फोट : सेक्टर काण्डको पुनरावृत्ति, दुई दिनसम्म विप्लव नेतृत्वको नेकपा किन मौन?



विधुर ढकाल

नख्खु विस्फोट : सेक्टर काण्डको पुनरावृत्ति, दुई दिनसम्म विप्लव नेतृत्वको नेकपा किन मौन?

काठमाडौं : शुक्रवार साँझ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशभर दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावर तथा बीटीएसहरुमा क्षति पुर्यारयो। नेकपाको स्थापनापछि नै एनसेल यसको निसानामा पर्दै आएको थियो। 

सोही क्रममा नेकपाले गराएको विस्फोटमा परी एक जनाको मृत्यु भयो भने दुई जना घाइते। एनसेलको मुख्यालयमा विस्फोट हुँदा लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो। 

घटनालगत्तै विस्फोट विप्लव नेतृत्वको नेकपाले नै गराएको हो भन्ने शंका जताततै भयो। गृहमन्त्री रामबहादुर थापा बादलले देशका ६ वटा प्रदेशका २० जिल्लामा निजी मोबाइल सेवा प्रदायक एनसेलका टावर लक्षित गरी 'आक्रमण गर्ने तत्व'को पहिचान भइसकेको दावी गर्दै केहीलाई पक्राउ गरिएको जनाए। उनले नेकपाको नाम किटेरै विस्फोट गराएको दाबी गरे। 

यी सबै हुँदा पनि विप्लव नेतृत्वको नेकपाको आधिकारिक धारणा दुई दिनसम्म आएन। आइतबार साँझमात्र नेकपाका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले बीबीसी नेपालीसँग कुरा गर्दै विस्फोटको जिम्मेवारी लिए। 

उनले विस्फोटमा सर्वसाधारणको ज्यान गएकोमा आफूहरूलाई 'दुःख लागेको' बताएका थिए। विस्फोटमा आफूहरूले सर्वसाधारणलाई 'निशाना नबनाएको' ओलीको दाबी थियो। एनसेलको 'लुटको प्रतिकार स्वरुप' सो कदम चालिएको तर्क उनले गरे।
'क्रान्तिका दौरानमा यस्ता सानातिना घटना हुन्छन्। यसप्रति हामी गम्भीर रुपले समीक्षा गर्दछौँ र हामी दुःखित पनि छौँ,' उनले भनेका छन्।

घटनालगत्तै छरिएको पर्चा

शुक्रवार साँझ भएको विस्फोट र एनसेलका टावरमा गरिएका आगजनीसँगै केही स्थानमा पर्चासमेत भेटिएका थिए। कञ्चनपुरमा भेटिएको एक पर्चामा 'जय जनता'को नाम उल्लेख छ। कुनै संगठनको नाम उल्लेख नगरी छरिएका पर्चामा एनसेलमाथिको कारवाहीको औचित्य पुष्टि गर्न खोजिएको छ। 


पर्चामा कारवाही किन? भन्दै चार वटा  बुँदा उल्लेख छ।

  • ७२ अर्ब कर नतिरेकाले
  • सर्वोच्च अदालतको फैसलासमेत उल्लंघन गरेकाले 
  • नाफाको केही अंशसम्म पनि नेपालमा लगानी नगरी पूरै रकम विदेश निर्यात गरेकाले
  • राष्ट्रिय स्वाधिनता र सार्वभौम सत्तामाथि खलल पुर्याबउने गरी दलाल पूँजिवादलाई संस्थागत गरेकाले

त्यस्तै पर्चामा चेतावनी पनि दिइएको छ- 'यो सांकेतिक कारवाहीको अवज्ञा गरी अझै पनि यथाशीघ्र कर चुक्ता गर्ने काम नगरिएमा कडा भन्दा कडा कारवाहीमा जान बाध्य हुने चेतावनी पनि यसै पर्चामार्फत् दिन चाहन्छौं।' 

दुई दिन किन मौन बस्यो नेकपा?

घटना भएको दुई दिनसम्म नेकपा मौन बस्यो। घटना लगत्तै नेकपाका अधिकांश नेताहरुको मोबाइल स्वीच अफ भए। शुक्रवार घटना लगत्तै नेकपाका नेताहरु उपलब्ध हुन सकेनन्। 

भोलिपल्ट शनिवार पनि अधिकांश नेताहरु सम्पर्कमा आएनन्। आइतबार एक जिम्मेवार नेता पहिलोपोस्टको सम्पर्कमा आए। विहान सम्पर्कमा आएका उनले घटनाबारे पार्टीले अनुसन्धान गरिरहेको बताए। उनले न त घटनाको जिम्मा लिन चाहे न त इन्कार नै गरे। 
'पार्टीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ। एनसेलमाथि कारवाही हाम्रो एजेण्डा हो। तर, नख्खुको घटनाको विषयमा अनुसन्धान भइरहेको छ। कसले गराएको हो बुझ्दैछौं,' ती नेताले पहिलोपोस्टसँग भनेका थिए। 

आइतबार साँझ नै मिडियामा नेकपाका केही नेतालाई उदृत गर्दै 'घटना विप्लवले गराएको' भन्दै जिम्मा लिएको समाचार प्रकाशित भयो। 
त्यसको केही समयमा नै बीबीसी नेपाली सेवासँग कुरा गर्दै नेकपाका मध्यकमाण्ड इञ्चार्ज ओलीले घटनाको जिम्मेवारी लिए। 

आइतबार विहान पहिलोपोस्टसँग सम्पर्कमा आएका विप्लव नेतृत्वको नेकपाका एक नेताले घटनापछि सबैको शंका आफूहरुमाथि रहेको स्वीकार गर्दै घटनाको विषयमा अनुसन्धान भएपछि मात्र स्पष्ट हुने अनिमात्र आधिकारिक धारण सार्वजनिक गर्ने बताएका थिए।

एनसेलमाथि कारवाही गर्दै आएको नेकपा नख्खुमा सर्वसाधारणको ज्यान गएपछि दबाबमा पर्योल। घटनाले पार्टीलाई क्षति पुग्ने भएपछि दुई दिनसम्म नेकपा घटनाको जिम्मा लिने कि नलिने भन्ने छलफलमै जुट्यो। आन्तरिक रुपमा जिम्मा लिए कसले लिने भन्नेमा पनि विवाद देखियो। 

त्यसपछि नेकपाका मध्यकमाण्ड इञ्चार्ज ओलीले घटनाको जिम्मा लिए। यसपटक नेकपाले वक्तव्य जारी गरेन। सिधै सञ्चार माध्यमको सम्पर्कमा आए। यसअघि जनयुद्धको समयमा माओवादीले घटनाको जिम्मेवारी लिन सञ्चार माध्यमको सम्पर्कमा आउने गर्थे। 

सेक्टर काण्डको पुनरावृत्ति

सेक्टर काण्ड विसं २०४३ मा नेपालमा सशस्त्र विद्रोह सुरु गर्न गरिएको असफल प्रयास थियो। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (मशाल)ले गराएको यो घटना सेक्टर काण्डको रुपमा चिनिन्छ। यही पार्टीले पछि नेकपा (माओवादी)का रुपमा ६ वर्षपछि जनयुद्धको सुरुवात गरेको थियो। 

मोहन वैद्य 'किरण'को नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (मशाल)ले माओवादलाई आफ्नो राजनीतिक सिद्धान्तका रूपमा स्वीकार गर्‍यो। लगत्तै उसले पञ्चायती व्यवस्था विरुद्ध सशस्त्र विद्रोहको तयारी गर्न थाल्यो। पञ्चायतले गरेको चुनावको बहिस्कार गर्दै २०४३ चैत्र १९ गते काठमाडौंको त्रिपुरेश्वरमा रहेको राजा त्रिभुवनको शालिकमा कालो पोतियो र केही प्रहरी चौकीहरूमा आक्रमण भयो। 

त्यस्ता कारवाही सफल हुन सकेन। कमजोर तयारीमा चालिएको अपरिपक्क कदमको रुपमा यी आक्रमणलाई लिइन्छ। घटनाको जिम्मेवारी पार्टीका नेता कार्यकर्ताले आत्मालोचना गर्ने र कावाही गर्ने नगर्ने भन्नेमा विवाद भयो। तीन वर्ष सम्म यो विवाद चलिरह्यो। पछि २०४६ सालमा चितवनको माडीमा भएको पार्टीको महाधिवेशनले सेक्टर काण्डलाई एउटा भूलको रुपमा स्वीकार गर्यो। 

सेक्टर काण्डपछि मशालभित्र घटनाको जिम्मेवारी लिने र नलिनेमा विवाद भएको थियो। त्यतिवेला मशालको बागमती अञ्चल ब्यूरोले घटना गराएको थियो। घटना हुँदा महामन्त्री वैद्य दाङ पुगेका थिए। काठमाडौं आएपछि वैद्यले घटनाको जिम्मा लिए। 
'मैले यो घटनासँग जोडिएका साथीहरूलाई आत्मालोचना गर्नुस् भनेर दबाब दिन सकिनँ। बरु सबै एक–एक पद तल झरौँ भन्ने प्रस्ताव राखेँ र सोही अनुरुप गरियो,' वैद्य भन्छन्, 'यो मेरै प्रस्तावमा भएको थियो। म महामन्त्रीबाट पोलिटब्युरो सदस्यमा झरे, पोलिटब्युरो सदस्यहरु केन्द्रीय समितिमा र केन्द्रीय सदस्यहरु क्षेत्रीय सदस्यमा झरे।' 

केन्द्रीय नेतृत्वमा रहेका अधिकांश नेताहरुको घटुवा भयो। त्यतिवेला यो काण्डमा नमुछिएका एक मात्र नेता थिए 'विश्वास'। वैद्यकै प्रस्तावमा विश्वास पार्टीको महामन्त्री बने। त्यतिबेला उनी ३५ वर्षका मात्र थिए। २०५२ सालमा यिनै विश्वास 'प्रचण्ड' का रुपमा उदाए। उनकै नेतृत्वमा माओवादीले जनयुद्ध सुरु गरेको हो। 

सेक्टर काण्डले मशाललाई एउटा पाठ सिकाएको थियो- 'सशस्त्र संघर्षको सुरुवात शहरबाट होइन, गाउँबाट गर्नुपर्छ।' माओवादी जनयुद्धको सुरुवात गाउँबाट भएर शहरतर्फ अगाडि बढ्दै गएको थियो। शहर पुग्नै लाग्दा माओवादी शान्ति सम्झौता गरी एकै पटक सिंहदरबार छिर्योर। 

नख्खु काण्डले दबाबमा विप्लव


माओवादी सिंहदरबार छिरे पनि क्रान्तिको आवश्यकता हुनसक्ने भन्दै केही नेता संसद र सिंहदरबाट बाहिरै राखिए। मोहन वैद्य सभासद भए पनि राजिनामा दिएर बाहिरिए। बाहिरै रहेका नेतामध्येका एक हुन् विप्लव। 

विसं २०६९ को असारमा पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व गरिरहेको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट अलग्गिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा छुट्टै दल बनाए। सोही माओवादीबाट वैद्यको नेतृत्वमा क्रान्ति हुन नसक्ने भन्दै विप्लव २०७१ साल मंसिरमा वैद्यवाट अलग भए। 

वैद्यदेखि अलग भएको विप्लव समूहले त्यसपछि संघर्षलाई बढायो। हिंसात्मक गतिविधि पनि भए। निर्णायक क्रान्तिको तयारी गरिरहेको भन्ने विप्लवसामु नख्खु काण्डले दबाब बढाएको छ। 

सेक्टर काण्डमा केही प्रहरी र केही कार्यकर्ता घाइते भएकै कारण वैद्यले नैतिकताका कारण घटुवाको बाटो रोजेका थिए। यतिबेला विप्लवमाथि पनि त्यस्तैखाले दबाब बढेको छ। 

सरकारले विप्लवका गतिविधिलाई हिंसात्मक, संविधान विरोधी र आतंककारीको संज्ञा दिइरहेको बेला सर्वसाधारणको मृत्यु भए पछि विप्लवका कार्यकर्तामाथि सरकारको धरपकट बढ्ने पक्का छ। पार्टी भित्र पनि विप्लव र प्रकाण्ड समूहबीच अन्तरविरोध बढिरहेको छ। घटनाको जिम्मेवारी लिने विषयमा पनि नेकपाले जिम्मेवारी लिने नलिने विवादमा जिम्मेवारी ढिलो गरी लिइयो। 
अब प्रश्न उठ्छ, के फेरि सेक्टर काण्ड दोहोरिएको हो त?
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell