PahiloPost

Nov 6, 2025 | २१ कात्तिक २०८२

चिनियाँ सामानमाथिकाे करबृद्धि स्थगन गर्ने ट्रम्पको घोषणा



पहिलोपोस्ट

चिनियाँ सामानमाथिकाे करबृद्धि स्थगन गर्ने ट्रम्पको घोषणा
फाेटाे : AP

वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा ‘सन्तोषजनक प्रगति’ भएको भन्दै चिनियाँ सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताएका छन्।

दुई मुलुकबीचको व्यापार सम्झौताका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिखर वार्ता हुने अपेक्षा गरिएको पनि राष्ट्रपति ट्रम्पले जानकारी दिए। ‘अर्को दुई साताभित्रै ‘निकै ठूलो समाचार’ आउनेछ’, ट्रम्पले भने। वार्तामा थप प्रगति भएमा अमेरिकाको फ्लोरिडास्थित राष्ट्रपति ट्रम्पको मार–ए–लेगो रिसोर्टमा चिनियाँ राष्ट्रपति सीलाई भेट्ने योजना रहेको पनि ट्रम्पले बताए।

आइतबार सम्पन्न भएको तर चार दिनदेखि वासिङ्टनमा जारी वार्तामा दुई मुलुकका वरिष्ठ अधिकारीहरुले भाग लिएका थिए। 

अमेरिकाले वार्तामा सहमति नभए आगामी मार्च १ तारिखदेखि नै लागू हुनेगरी करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने राष्ट्रपति ट्रम्पले घोषणा गरिसकेका छन्। तर राष्ट्रपति ट्रम्पले वार्ता निकै सन्तोषजनक रुपमा अघि बढेकाले मार्च १ तारिखको सीमालाई बढाउन आफू तयार रहेको बताएका छन्। 

‘चीनसँग जारी व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेकामा मलाई खुशी लागेको छ। खासगरी, चीनले बौद्धिक सम्पत्तिको संरक्षण, प्रविधि हस्तान्तरण, कृषि, सेवा, मुद्रा तथा अरु विविध विषय समेतका महत्वपूर्ण संरचनागत मुद्दामा सकारात्मक जवाफ दिएको छ’, ट्रम्पले ट्वीट गर्दै भनेका छन्।

‘वार्ता निकै सकारात्मक रुपमा अघि बढेकाले सम्झौतालाई अन्तिम रुप दिन फ्लोरिडामा शिखर बैठकको तयारीमा लागेका छौं’, ट्रम्पले भनेका छन्, ‘अमेरिका र चीनका लागि निकै सन्तोषजनक सप्ताहान्त।’

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि वार्तामा निकै सकारात्मक प्रगति भएको जनाएको छ। चिनियाँ व्यापार वार्ता प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्री लिउ हे ले गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell