PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

राजसंस्था र संघीयताबारे जनमत संग्रह गर्न कमल थापाको माग



पहिलोपोस्ट

राजसंस्था र संघीयताबारे जनमत संग्रह गर्न कमल थापाको माग

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र संघीयताबारे जनमत संग्रहको माग गरेका छन्। रिपोर्टर्स क्लबद्वारा सोमवार आयोजित साक्षात्कारमा अध्यक्ष थापाले राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने व्यवस्था कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन गर्न र संघीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्नुपर्ने बताए। 

गणतन्त्रले बेथिती मात्रै बढाएको भन्दै नेता थापाले अब देशमा लोकतन्त्रसहितको राजसंस्थाको आवश्यकता रहेको बताए। यी सबै विषयमा गोलमेच सम्मेलन गर्न सरकारसँग मागसमेत गरे। 

नेता थापाले भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानबिन आयोग गठन गरी विस २०४७ पछिका राजनीतिज्ञ, प्रशासकलगायतको सम्पत्ति छानबिन गर्न पनि माग गरे। उक्त आयोगलाई स्वतन्त्र र निष्पक्षका साथ काम गर्न सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले छानबिनका क्रममा नेपालीले विदेशमा लुकाएर राखेको सम्पति र राष्ट्रियकरण गर्न र शंकास्पद व्यक्तिको बैंक खाता तत्काल रोक्का गरी अवैध कारोवारमा संलग्न व्यक्तिलाई कानूनबमोजिम कारवाही गर्नुपर्नेमा जोड दिए। 

सर्वोच्च अदालतको आदेशबमोजिम एनसेलले तिर्नुपर्ने पूँजीगत लाभकरलगायत सबै कर सरकारले असुल गर्नुपर्नेमा जोड दिँदै उनले वाइड बडी प्रकरणमा संलग्न तथा कर छली प्रकरणमा संलग्नलाई पनि दण्डित गर्नुपर्ने बताए। 

देश टुक्राउन खोज्ने तत्वलाई कडा कारवाही हुनुपर्ने आवश्यकता औल्याउँदै अध्यक्ष थापाले कालापानी, लिपुलेक र सुस्तालगायत क्षेत्रमा अतिक्रमित नेपाली भूमि फिर्ता लिन कुटनीतिक पहल गर्न र सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गरी खुला सीमा व्यवस्थित र नियमन गर्न पनि माग गरे। 

राप्रपाले चैत १ बाट जनसंघर्ष सुरु गर्ने

अध्यक्ष थापाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाईएको २२ बुँदे ज्ञापनपत्रका बारेमा पुष्टि गर्दै फागुन मसान्तसम्म सरकारले सकारात्मक सम्बोधन नगरे चैत्र १ गतेदेखि जनसंघर्ष सुरु गर्ने घोषणा गरे।

२२ बुँदे माग समेटिएको ज्ञापनपत्रमा नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोलमेच सम्मेलन तथा सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिनलगायतका माग समेटिएको जानकारी पनि थापाले दिए।

राप्रपाले सरकारलाई दबाब दिन फागुन १५ गतेदेखि गर्ने राष्ट्रिय स्वाभिमान यात्राको औचित्य पनि थापाले पुष्टि गरेका छन्।

पार्टीले १५ गते ताप्लेजुङका सदरमुकामबाट मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा प्रारम्भ गर्ने पनि जनाए। थपाका अनुसार हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने यात्राको मुख्य उद्देश्य रहेको छ। त्यसैगरी संघीयता कार्यान्वय र चुनौती, धर्म निरपेक्षता, गणतन्त्र लगायतका विषयमा जनताको अभिमत बुझ्नका लागि पनि यात्रा गर्न लागिएको थापाले बताए।

ताप्लेजुङबाट शुरु भएको यात्रा पाँचथर, इलाम हुँदै कञ्चनपुरसम्म पुग्ने र त्यहाँबाट फर्केर बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै काठमाडौँ आएर समापन हुने छ।

ताप्लेजुङबाट काठमाडौंसम्मको १५ दिने यात्राले दुई हजार ८ सय किमि दूरी तय गर्ने र यात्राका क्रममा हिन्दू, बौद्ध र किराँत धर्मलाई चिनाउने मन्दिर, चैत्य मस्जिद बनाइने छ।

यात्राका क्रममा विभिन्न नदी तथा कुण्डका जल काठमाडौँमा आयोजना हुने कलशयात्रामा प्रयोग गरी पशुपतिनाथ मूर्तिमा अभिषेक गराइने, यात्राका क्रममा साना–ठूला १०० भन्दा बढि सभा हुने र सभालाई अध्यक्ष थापाले सम्बोधन गर्नेछन्।

२२ बुँदे मागपत्रलाई सरकारले वेवास्ता गरेमा चैत्र एक गतेदेखि सबै स्थानीय निकायबाट विरोधका कार्यक्रम सुरु गरिने थापाले जानकारी दिए। उक्त विरोधलाई काठमाडौंसम्म विस्तार गर्ने थापाको भनाई छ।

‘पशुपतिले लोहनीसँग एकता गर्नु रहस्यमयी’

अध्यक्ष थापाले पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीचको एकताबारे प्रश्न उठाए। ‘पशुपतिशमशेर राणाले जवाफ दिनुपर्छ हामीसँग किन एकता गर्न चाहनुभएन? किन प्रकाशचन्द्र लोहनीसँग एकता गर्नुभयो?’ थापाले प्रश्न गरे। २ लाख भोट ल्याउने पार्टीलाई छोडेर २० हजार भोट भएको लोहनीसँग राणाले एकता गर्नुको रहस्य गम्भीर हुन सक्ने थापाको भनाई छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell