
काठमाडौँ : थाइल्याण्डमा भइरहेको आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर एसियामा नेपालले चौथो जित हात पारेको छ।
सोमवार भएको खेलमा नेपालले चीनलाई ५ रनले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब ब्याटिङ गर्दै जम्मा ७७ रन बनाएको थियो। जवाफमा नेपाललाई लक्ष्य जोगाउन समेत कठिन परेको थियो।
साइयसन झोउ र झाङ मेइले चौथो विकेटका लागि ३८ रनको साझेदारी गर्दै चीनलाई जिततर्फ डोहोर्याएका थिए। अन्तिम दुई ओभरमा चीनलाई जितका लागि २१ रन चाहिएको थियो।
तर १९औँ ओभरमा नेपालकी कविता कुँवरले १८ रन बनाएकी झोउलाई आउट गर्दै साझेदारी तोडिन्।
अन्तित ओभरमा हान लि लाई आउट गरेपछि नेपालले जित हात पारेको हो।
७८ रनको लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ७२ रन मात्र बनाउन सक्यो।
चीनका लागि झाङ मेइले ३९ बल खेल्दै २ चौकाको मद्दतमा ३३ रन बनाइन्। नेपालकी सीता राना मगरले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन्। कविता कुँवरले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन्।
त्यसअघि टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७७ रन बनाएको थियो। नेपालको लागि ओपनर काजोल श्रेष्ठले सर्वाधिक १८, उपकप्तान सीता राना मगरले ११ र विन्दुर रावलले १० रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।
चीनकी वाङ मेङ र हान लिलीले २-२ विकेट लिए।
गत जनवरीमा थाइल्याण्डमै भएको टी २० स्म्यासमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो। तर एसियन क्वालिफायरमा भने चीनले नेपाललाई कडा टक्कर दियो।
क्वालिफायरमा ५ खेलेको नेपालले ४ जितपछि ८ अंक जोडेको छ। सबै ५ खेल जित्दै अपराजित रहेको थाइल्याण्ड १० अंकहसित शीर्ष स्थानमा छ। युएईले पनि ५ खेलमा ४ खेल जित्दै ८ अंक जोडडेको छ। नेपाल थाइल्याण्डसँग पराजित भएको थियो भने युएई नेपालसँग पराजित भएको थियो। समान अंक भएपनि राम्रो रनरेटको आधारमा युएई दोस्रो र नेपाल तेस्रोमा छ।
अब लिगको अन्तिम खेलमा थाइल्याण्ड र युएई बीच खेल हुनेछ। यस्तै नेपालले कुवेतसँग खेल्नेछ।
यस एसिया रिजनबाट एक टिम मात्र ग्लोबल क्वालिफायरमा छनोट हुने हुँदा नेपालको सम्भावना झिनो बनेको छ।
अब नेपालले कुवेतलाई फराकिलो अन्तरले पराजित गर्ने अनी थाइल्याण्डलाई पनि युएईले पराजित गरेका तीन टोलीको समान १० अंक हुनेछ। यस्तोमा राम्रो रनरेट हुने टिम पहिलो बन्दै टी २० र ५० ओभर दुवैको ग्लोबल क्वालिफायरमा पुग्नेछ।
अंकतालिका: