PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

जब एसपी सा’प नै शिक्षक बने...



पी बी खड्का

जब एसपी सा’प नै शिक्षक बने...

सुर्खेत : मध्याह्नको करीब १२ बजेको थियो। वीरेन्द्र नगरस्थित प्रतीक्षा मन्टेश्वरी स्कुलका विद्यार्थी लामवद्ध भएर प्रहरीको गेटभित्र प्रवेश गरे। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुखसहितको टोली स्वागत गर्न हतारिए। हातहातमा पुष्पगुच्छा लिएर गेटबाट प्रवेश गर्दै गरेका विद्यार्थीलाई पुष्पगुच्छा दिएर स्वागत गरे प्रहरी प्रमुख वसन्त रजौरे सहितको टोलीले। साना उमेरका विद्यार्थी भने प्रशन्न मुद्रामा देखिन्थे। सम्भवत पहिलो पटक प्रहरीसँग हात मिलाउँदै पुष्पगुच्छा समाएका हुन्।

एसपी रजौरेले प्रहरी कन्ट्रोल कक्ष, हिरासत कक्ष, मुद्दा फाँट लगाएतका शाखाहरु विद्यार्थीलाई अवलोकन गराए। नम्र बोली र नरम व्यवहार गर्दै विद्यार्थीसित कुराकानी गर्न सुरु गरे। केही बेरको कुराकानीपछि विद्यार्थी ननजिकिने कुरै भएन।  अनि उनीहरुले जिज्ञासा राख्न थाले। एसपी रजौरेले पालैपालो सबैको जिज्ञासा मेटाए। विभिन्न शाखाहरुको अवलोकनपछि सभाहलमा प्रवेश गराएर आफ्नै घरको अभिभावक जस्तै गरेर उनले विद्यार्थीसँग छलफल सुरु गरे। प्रहरीले सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत ‘प्रहरीसँग एकदिन’ कार्यक्रमका लागि उक्त मन्टेश्वरीका बालबालिकालाई छलफलका लागि बोलाएको हो। प्रहरीले सोही कार्यक्रमलाई सफल बनाउन उमेर समूह अनुसारको पाठ्यक्रम तयार पारेर विगतका दिनदेखि छलफल चलाउँदै आएको छ। 

यसपटक एसपी रजौरेले प्रतीक्षा मन्टेश्वरीका साना बालबालिकालाई मल्टिमिडिया प्रोजेक्टर मार्फत् प्रहरीका गतिविधि, सुरक्षा रणनीति, विद्यार्थीले अपनाउनुपर्ने सुरक्षा, सावधानी र ट्राफिक नियमका सम्बन्धी समेत छलफल गरे। एसपी रजौरेले आफैँ करीब २ घण्टाको छलफल गराएका थिए।  

प्रहरीसँग घुलमिल भएको पहिलो पटक विभु उपाध्यायलाई प्रहरीको बोली, व्यवहार आफ्नै घरको बुबा, दाइहरुको जस्तै लाग्यो। जसरी पहिले प्रहरी भन्दा बित्तिकै डर लाग्थ्यो, त्यसो नभएको अनुभव सुनाइन्। ‘खासै केही नै लागेन। प्रहरी भन्दा बित्तिकै खुब डर लाग्थ्यो,’ विद्यार्थी विभु उपाध्यायले भनिन्, ‘आखिर हाम्रै बुबा, दाइजस्तै लाग्यो। केही नि हुने रै'न्छ।’

प्रहरीले पढाएको निकै मन परेको भन्दै धेरै कुरा सिकेको उनले बताइन्। ‘आगो र पानीसँग खेल्न नहुने, धारिलो हतियार छुन नहुने, कोही नचिनेको व्यक्तिले दिएको खानेकुरा नखाने, घरका अभिभावकको स्वीकृति विना बाहिर अन्य ठाउँमा नजाने, सडक, बाटोमा हिँड्दा ट्राफिक नियमको पालना गर्नुपर्ने कुरा सिकेँ,’ उनले भनिन्, ‘अबदेखि हामी प्रहरीले जे भनेका छन् त्यस्तै गर्छौं। घरमा पनि गएर भन्छौं।’

त्यस्तै, प्रहरीको कार्यालयमा भएको सीसी टिभी समेत अवलोकन गरे विद्यार्थीले। एसपी रजौरेले अवलोकन गराउँदै वीरेन्द्रनगर बजार भित्र कहाँ के भइरहेको छ, कसले के गरेको छ, सबै जानकारी यहाँ हुन्छ भन्दै देखाए। जसले गलत काम गरेको छ, चोरी गरेको छ, केही नराम्रो काम गरेको छ, दुर्घटना भएको छ भने हामीले तत्काल प्रहरी पठाएर  कारवाही गर्ने उल्लेख गरे। 

प्रहरीले यत्तिमात्रै नभएर जिल्लाका विभिन्न विद्यालयमा गएर सुरक्षा विशेष छलफल चलाउँदै आएको छ। जिल्लाका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीसँग यस्तो कार्यक्रम गरिरहेको छ प्रहरीले। चालु आर्थिक वर्षको कार्तिक महिनादेखि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीसँग छलफल र अन्तरक्रिया गर्दै आएको छ।

प्रहरीले जनसमुदाय समक्ष सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नै जनचेतनामूलक तथा अन्तर्क्रिया कार्यक्रम गरिरहेको छ। जिल्लाका २७ वटा प्रहरी इकाईहरुबाट बालबिबाह, सवारी दुर्घटना न्युनीकरण, घरेलु हिंसा, लागू औषध दुर्व्यसन, अपराध लगायतका सचेतनामूलक कार्यक्रम गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell