
काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले मान्यता नदिएपनि नेपालमा मोफसलको गोल्डकप खेलिरहेको क्यामरुनको दाउफिन्स फुटबल क्लबले यस सिजन तेस्रो नकआउट गोल्डकपको उपाधि जितेको छ।
दाउफिन्सले सोमवार नेपाल पुलिसलाई सडनडेथमा पराजित गर्दै २१औँ तिलोत्तमा गोल्डकपको उपाधि जितेको हो। क्यामरुनी क्लबले यसअघि धरानमा बुढासुब्बा गोल्डकप र पोखरामा मनकामना केवलकार कपको उपाधि जितेको थियो।
सुरुमा सुदूरपश्चिम खप्तड गोल्डकप खेल्न आएको दाउफिन्सले त्यसपछि लगातार मोफसलमा खेल्दै आएको छ। तर एन्फाले भने यस क्लबलाई खेल्न मान्यता नदिएको जनाएको छ।
आइतवार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले दाउफिन्सलाई नेपालको नकआउट फुटबल टुर्नामेन्ट खेल्न मान्यता नदिएको प्रष्ट पारे। 'हामीले मान्यता दिएका छैनौँ। अब हामी भन्दा माथिको निकाय राष्ट्रिय खेल परिषद्ले नै मानयता दिएको छ। हामीले के गर्ने?' शेर्पाले भनेका थिए।
एन्फाले मान्यता नदिएपनि दाउफिन्सले भने निरन्तर खेलिरहेको छ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा भएको तिलोत्तमा गोल्डकपमा दाउफिन्स र पुलिसबीचको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। तर पेनाल्टीमा पनि दुवै टोलीले प्रहार गरेका पाँच पाँच पेनाल्टी प्रहार गोलमा परिणत भएपछि खेलको निर्णय सडन डेथबाट भयो। जहाँ पुलिसका तेज तामाङ गोल गर्न चुक्दा मियाले निर्णायक पेनाल्टी गोल ग्दै दाउफिन्सलाई उपाधि जिताए। तेजको प्रहार दाउफिन्सका गोलकिपरले रोकेका थिए।