
काठमाडौँ : भारतको गुहावाटीमा भइरहको दोस्रो डक्कर टी एओ नर्थ इस्ट इन्टरनेशनल गोल्डकप (यू-२१) मा नेपालको एन्फा यू-२१ टोलीले अन्तिम खेल जितेको छ।
समूह बी अन्तर्गत खेलमा एन्फा टोली भारतको नागाल्याण्डलाई ४-१ ले हरायो।
एनएलआइपिइ स्टेडियममा सोमवार भएको खेलमा नेपालका लागि रेजिन सुब्बा र अभिषेक रिजालले दुई-दुई गोल गरे। नियमित कप्तान छिरिङ गुरुङ पहिलो रोजाईँमा नपरेपछि अभिषेकले एन्फा यू २१ को कप्तानी सम्हालेका थिए।
अभिषेक खेलको म्यान अफ दि म्याच घोषित भए। प्रतियोगितामा ५ खेल खेलेका अभिषकेले दुई ह्याट्रिकसहित कूल ९ गोल गरे।
६ टोली सम्मिलित समूह बी मा नेपालले तीन खेल मात्र जित्न सक्यो। २ खेलमा भने नेपालले पराजय बेहोरेपछि अन्तिम खेलअघि नै समूह चरणबाट बाहिरिने पक्का भएको थियो।
पहिलो खेलमा मेघालयसँग ३-२ ले पराजित भएको एन्फा टोलिले दोस्रो खेलमा त्रिपुरालाई ८-० र तेस्रो खेलमा मणिपुरलाई ३-१ ले पराजित गरेको थियो। तर चौथो खेलमा एन्फा मिजोरमसँग पराजित भएको थियो।