
काठमाडौँ : भारतले आफ्नो भूमि हुँदै नेपाल आउनका लागि भिसा नदिएपछि नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन आउन लागेको बंगलादेशी नाट्य टोली भारतबाट फर्कन परेको छ।
बिवर्तन नाटक समूह ‘मात्ब्रिङ’ मञ्चनका लागि भारत हुँदै नेपाल आउँदै थियो। बसमार्फत आउँदै गरेको २२ जनाको टोलीलाई आइतबार भिसा दिइएन।
ढाकाबाट २०६ किलोमिटर टाढाको सहर जेसरको नाटक मार्च ३ का दिन काठमाडौँको शिल्पी थिएटरमा मञ्चन हुँदै थियो। नाटकलाई एकेएम युसुफ हसनले निर्देशन गरेका थिए।
महोत्सव संयोजक सोमनाथ खनाल भन्छन्,’मात्ब्रिङ मोफसलमा रहेर नाट्यकर्म गरिराख्नु भएका सम्पूर्णलाई प्रेरणा र उत्सहा हुने आशा थियो। तर कला बोकेर आएकालाई पनि सीमामा रोकियो। के कारणले हो उहाँहरुलाई पनि बताइएन।’
कलाकारलाई पनि आतंकवादीसरह रोक लगाउनुमा उनले आपत्ति जनाए। भने,’हामी नाट्यकर्मी कसैलाई हानी नहुने गरी आफ्नो कुरा अभिव्यक्त गर्छौं। तर पनि किन हामीसँग डराइन्छ।’
बिवर्तन जेसर समूहका व्यवस्थापक सनवर अलाम खानले आफूहरु आश्चर्य र चिन्तामा एकसाथ रहेको बताए। भने,'भिसा नदिनुको कारणसमेत भनिएन। हामीलाई रातभर निद्रा लागेन।' उनले समूह दश दिनपछि कलकत्तामा नाटक लिएर जाने तयारीमा रहेको समेत जनाए। भने,'त्यसका लागि हामीसँग 'ट्राभल प्रफर्मेन्स भिसा' छ।'
खनाले अफगानस्तानको नाट्य समूहलाई ल्याउन पनि उत्तिकै गाह्रो भएको जानकारी दिए। ‘अध्यागमनले थप कागज माग गरेर मात्र प्रवेश दियो। नेपाल आउन त यति गाह्रो छ। त्यो समूहलाई युरोप जान कति गाह्रो होला।’
यसको कारण अफगानस्तानलाई आतंकवादसँग जोडेर हेर्ने प्रवृत्तिलाई मानेका छन्। कला, साहित्य, नाटक आदिको सीमा नहुने र यस्ता घटनाहरुले रचनात्मक एवं सिर्जनशिल परिवर्तनहरुमा असर गर्ने बताउँछन्।
अफ्गानस्तानको पर्वाज नाट्य समूहको ‘ता रेहाए’ फेब्रुअरी २८ र मार्च २ मा क्रमश: थिएटर मल र शिल्पी थिएटरमा मञ्चन हुँदैछ। नाटकले अन्तर जातीय प्रेम कथा निम्त्याउने उताव चढावको कथा भन्छ।
महोत्सव आयोजकले बंगलादेशका लागि नयाँ नाटक ल्याउने तयारी थालेको छ। सोमनाथ खनालका अनुसार ढाकाको नाट्य समूह प्लेनमार्फत नेपाल आउन लागेको हो।