
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको उद्घाटन समारोहमा नाटक 'रेप मेसिन' मञ्चन भयो।
नाटकको अन्तिम दृश्यमा प्लास्टिकले ढाकिएका पात्र खाडल खन्दै हुन्छ। त्यो खाडलमा भर्खरै बलात्कृतको लास पुरिँदै छ। उभिइरहेका बलात्कारीहरूको अनुहारमा त्यसैले कुनै हिनताबोध छैन। बरु गर्व देखिन्छ। पुर्नेको आँखामा कुनै प्रश्न छैन। उसले घटनाको बेवास्ता गर्छ।
समाजमा महिलाको अवस्था, उनीहरुले भोग्न परेको पीडाहरुको विभिन्न श्रृङ्खलासँगै जोडिन्छ यो दृश्य।
नाटकले हाम्रो समाजमा बलात्कार कसरी संस्थागत हुँदैछ र यसले कसरी पीडितलाई थप पीडित र पीडकलाई शिर उठाएर हिँड्ने बनाइरहेको छ भन्नेकुरा देखाउँछ। बलात्कार मेसिन बनिरहेको समाजमा, बलात्कारलाई समाचारको शिर्षक भन्दा अरु नठान्नेलाई व्यङ्ग्य गर्छ।
केहीसमय पहिला बसमा हस्थमैथुन गरेको भिडियो सार्वजनिक भएको प्रसंग र सार्वजनिक स्थानमा महिलामाथी हुने अन्य दुर्व्यवहारकोफ प्रसङ्ग पनि नाटकमा अटाएको छ। सामाजिक संस्था विवाहले महिलालाई कसरी दास बनाउँदै छ भन्ने कुरा पनि संकेत गरिएको पाइन्छ। महिनावारीको समयमा हुने भेदलाई पनि महिला उत्पिडनको रुपमा प्रस्तुत छ। दीया मास्के र सुरज मल्ल निर्देशित नाटकले प्रश्न समेत गर्छ- पुरूषलाई महिलामाथि अन्याय गर्ने लाइसेन्स कसले दियो? प्रश्न सरकारलाई पनि जसले बलात्कारीको, उतपिडकको ‘खोजी हुँदैछ’ भन्ने बाहेक केही बोल्दैन।
उक्त नाटक एच एस स्टुडियोले प्रस्तुत गरेका थिए।