
नयाँ दिल्ली : भारतले फेब्रुअरी १४ मा पुलवामा आक्रमणको जवाफ स्वरुप आज बिहानै पाकिस्तानमा रहेको जैश ए मोहम्मदको क्याम्पमा आक्रमण गरेको दावी गरेको छ।
भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई 'सर्जिकल स्ट्राइक' का बारे जानकारी दिएपछि नयाँ दिल्लीमा आक्रमणबारे संचार माध्यमहरुलाई ब्रिफिङ गरिएको छ।
ब्रिफिङमा भारतको विदेश सचिव विजय गोखलेले जैश ए मोहम्मदबाट फेरि आत्मघाती आक्रमण गर्ने तयारी भइरहेको र फिडायिन जाहिदीहरुलाई त्यसको लागि प्रशिक्षण दिइरहेको जानकारी स्रोतबाट पाएको बताए।
आक्रमणको जानकारी पाएपछि सम्भावित आक्रमण हुन रोक्न पाकिस्तानमा रहेको लडाकु प्रशिक्षण शिविरमा बम आक्रमण गरेको उनले बताए।
गोखलेले भने, 'भारतले सम्भावित आक्रमण रोक्न पूर्व स्ट्राइक गर्नु जरुरी थियो। भारतले बालाकोटमा रहेको जैशको सबै भन्दा ठूलो क्याम्प ध्वस्त बनाएको छ।'
आक्रमणबाट ठूलो संख्यामा जैश ए मोहम्मदका लडाकूहरु, प्रशिक्षक, सिनियर कमान्डरहरु र जिहादीहरुको मृत्यु भएको उनले दाबी गरे। सो क्याम्पको नेतृत्व जैशका प्रमुख महसुद अजहरका भाइ माउलाना युसुफ अजर भनेर चिनिने उस्ताद घउरानीले गरिरहेको बताइएको छ।
भारत आंतकवाद विरुद्ध कारवाहीमा तल्लिन रहेको भन्दै उनले घना जंगलको बीचमा रहेको जैशको क्याम्पमा आक्रमण गर्दा सर्वसाधारणको सुरक्षामा विशेष ध्यान दिएको बताए।
वायु सेनाले १२ मिरेज जेट बिमानबाट संदिग्ध क्याम्पहरुमा हजार किलोग्रामको बमहरु प्रहार गरेको बताइएको छ।
अधिकारीहरुले पाकिस्तानको खाइबर पअतुनखवा क्षेत्रमा रहेको जैश ए मोहम्मदको क्याम्प रहेको क्षेत्रमा बम खसालेको दाबी गरेका छन्। बालाकोट,चकोथी र मुजफरवादमा रहेका लडाकुका अखडा धवस्त बनाइएको भारतीय संचार माध्यमले बताएका छन्।
उक्त आक्रमणमा भएको क्षतिबारे भने भारतीय पक्षले केही बताएको छैन।
आक्रमणपछि अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना मन्त्रीहरुसँग छलफलमा रहेको भारतीय संचार माध्यम जनाएका छन्। छलफलमा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल मेत रहेको बताइएको छ।
Delhi: Meeting of Cabinet Committee on Security underway at 7, LKM pic.twitter.com/sCq0MZSB2u
— ANI (@ANI) 26 February 2019
भारत सरकारले आक्रमणको बारेमा आधिकारिक धारणा व्यक्त गरेको छैन। तर, भारतीय नेताहरुले वायुसेनाले गरेको आक्रमणको तारिफ गर्दै सामाजिक संजालमा आफ्नो रायहरु राखिरहेका छन्।
🇮🇳 I salute the pilots of the IAF. 🇮🇳
— Rahul Gandhi (@RahulGandhi) 26 February 2019
आक्रमणका बारेमा पहिलो जानकारी पाकिस्तानको तर्फबाटै दिइएको थियो। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जेनरल असिफ घफूरले भारतीय पक्षले लाइन अफ कन्ट्रोल पार गर्दै पाकिस्तानी भूमिमा आक्रमणमा गरेको बताएका थिए। उनले भारतीय विमानलाई आक्रमण गर्नबाट अवरोध गरेको र सो विमान फर्कन क्रममा बलाकोटमा पेलोड खसाएर भागेको उल्लेख गरेका छन्। भारतीय पक्षले भने पाकिस्तानी सेनाको दाबी बारे उत्तर दिएको छैन।
Payload of hastily escaping Indian aircrafts fell in open. pic.twitter.com/8drYtNGMsm
— Maj Gen Asif Ghafoor (@OfficialDGISPR) 26 February 2019
रेडियो पाकिस्तानका अनुसार भारतीय पक्षको आक्रमणपछि पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेशीले इस्लामावादमा 'एमर्जेन्सी मिटिङ' बोलाएका छन्।
पाकिस्तानबाट हुन सक्ने जवाफी कारवाहीको मध्यनजर राख्दै भारतीय लाइन अफ कन्ट्रोलमा रहेको आफ्ना वायु सेनालाई तयार अवस्थामा रहन निर्देशन दिएको एएनआइले जनाएको छ। यस्तै पाकिस्तानी सेनालाई समेत सम्भावित कारवाहीका लागि तयार रहन निर्देशन दिइएको बताइएको छ।
भारतको जम्मू कश्मिरको पुलवामामा फेब्रुअरी १४ मा गराइएको शक्तिशाली बम आक्रमणमा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो।
भारतले सो आक्रमणको जिम्मेवारी लिएको जैश ए मोहम्मदलाई पाकिस्तानको संरक्षण रहेको भन्दै पाकिस्तानले कडा मूल्य चुकाउनुपर्ने बताएको थियो।
तर, पाकिस्तानले भारतीय दाबीलाई खारेज गर्दै आक्रमणमा आफ्नो राष्ट्रको समूहहरु संलग्न रहेको प्रमाण दिए मिलेर अनुसन्धान गर्ने बताउँदै आएको छ।