PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भारत-पाक बढ्दो तनाव: सार्कलाई गति दिन नेपाललाई आग्रह, अन्तर्राष्ट्रिय समुदाय गुहार्दै पाकिस्तान



विधुर ढकाल

भारत-पाक बढ्दो तनाव: सार्कलाई गति दिन नेपाललाई आग्रह, अन्तर्राष्ट्रिय समुदाय गुहार्दै पाकिस्तान

काठमाडौँ: पुलवामा आक्रमणपछि भारत पाकिस्तानबीच तनाव बढ्दै गएको छ। भारतले आजमात्र लाइन अफ कन्ट्रोल (एलओसी) पार गर्दै पाकिस्तानी भूमिमा बम खसालेको छ। 

पाकिस्तानविरुद्ध सर्जिकल स्ट्राइकमा उत्रिएको भारतीय वायु सेनाको विमानले मङ्गलवार बिहान पाकिस्तानी भूमिमा बम आक्रमण गरेको हो। 
अधिकारीहरूले पाकिस्तानको खाइबर पअतुनखवास्थित जैश ए मोहम्मदको क्याम्प रहेको क्षेत्रमा बम खसालेको दाबी गरेका छन्। बालाकोट,चकोथी र मुजफरवादमा रहेका लडाकुका अखडा ध्वस्त बनाइएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

आक्रमणका बारेमा पहिलो जानकारी पाकिस्तानको तर्फबाटै दिइएको थियो। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ  घफूरले भारतीय पक्षले लाइन अफ कन्ट्रोल पार गर्दै पाकिस्तानी भूमिमा आक्रमणमा गरेको बताएका थिए। उनले भारतीय विमानलाई आक्रमण गर्नबाट अवरोध गरेको र सो विमान फर्कन क्रममा बलाकोटमा दुर्घटनामा परेको उल्लेख गरेका छन्। भारतीय पक्षले भने पाकिस्तानी सेनाको दाबीबारे उत्तर दिएको छैन।

भारतीय पक्षको आक्रमणपछि पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेशीले इस्लामवादमा ’एमर्जेन्सी मिटिङ’ बोलाएका छन्।  

भारतको जम्मू काश्मिरको पुलवामामा फेब्रुअरी १४ मा गराइएको शक्तिशाली बम आक्रमणमा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो। भारतले सो आक्रमणको जिम्मेवारी लिएको जैश ए मोहम्मदलाई पाकिस्तानको संरक्षण रहेको भन्दै पाकिस्तानले कडा मूल्य चुकाउनुपर्ने बताएको थियो।

तर, पाकिस्तानले भारतीय दाबीलाई खारेज गर्दै आक्रमणमा आफ्नो राष्ट्रको समूहहरू संलग्न रहेको प्रमाण दिए मिलेर अनुसन्धान गर्ने बताउँदै आएको छ।

तनाव कम गर्न पाकिस्तानको प्रयास

यता पाकिस्तानले पुलवामा घटना लगत्तै दुई देशबीच हुन सक्ने तनाव कम गर्ने प्रयास गरेको गरिरहेको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आतंकवादविरुद्ध दुवै देश मिलेर लड्नुपर्ने भन्दै पाकिस्तानलाई एक मौका दिन आग्रह गर्दै आएका छन्। 

खानले पुलवामा आक्रमण पाकिस्तानमा रहेका आतंकवादी सङ्गठनले गरेको हो भन्ने ठोस सबुद उपलब्ध गराउनसमेत आग्रह गर्दै आएका छन्। ‘यदि भारतले पाकिस्तानलाई कारबाही गर्न योग्य प्रमाण दिन्छ भने पाकिस्तान तत्काल कारबाही गर्न तयार छ,’ उनले भनेका छन्। 

पाकिस्तानले आक्रमणमा आफ्नो संलग्नता रहेको अस्वीकार गर्दै आएको छ। त्यसअघि भारतीय प्रधानमन्त्री मोदीले राजस्थानमा चुनावी र्‍यालीलाई सम्बोधन गर्दै पाकिस्तानसँग संवाद गर्ने समय सकिएको र अब देशभरका जनताले माग गरे बमोजिम ‘एक्सन’को समय आएको बताएका थिए। 

दुई देशबीच बढ्दो तनाबकाबीच पाकिस्तानको सत्तारुढ दल पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआई)का हिन्दु सांसद भारत पुगेका छन्। आफ्नो धार्मिक भ्रमणका क्रममा भारत पुगेका उनले त्यहाँ भारतीय प्रधानमन्त्री मोदी, विदेश मन्त्री सुश्मा स्वराज, सुरक्षा सल्लाकार अजित डोभाललगायतसँग भेट गरेका छन्। 

सत्तारुढ दलका सांसद रमेश कुमारले भेटका क्रममा पुलवामा आक्रमणमा पाकिस्तानको संलग्नता नभएको विश्वास दिलाउन खोजेका थिए। 
‘हामी सकारात्मक दिशामा अगाडि बढ्न चाहन्छौँ। हामी शान्ति चाहन्छौँ मैले यस घटनामा पाकिस्तानको संलग्न नभएको विश्वास दिलाउने कोसिस गरेको छु,’ भेटपछि सत्तारुढ दलका नेता तथा पाकिस्तानको हिन्दु समुदायका प्रमुख नेतासमेत रहेका सांसद कुमारले भने। 

उनको यो भारत भ्रमणले सम्बन्ध सुधारको लागि पाकिस्तानको प्रयास देखाएको छ। उनी पाकिस्तानको हिन्दु काउन्सिलका प्रमुख हुन। भारतमा आयोजना भएको कुम्भ मेलामा १८५ देशबाट सहभागी २२० उच्चस्तरीय प्रतिनिधिका एक सदस्य हुन् कुमार। उनी भारत सरकारको निमन्त्रणामा भारत आएका हुन।

भारतमा भेटवार्ताका क्रममा सांसद कुमारले पाकिस्तान सरकार यस्तो अवस्था नचाहेको र समस्या समाधानका लागि मध्यस्थकर्ताको भूमिका निर्वाचन गर्न तयार रहेको जानकारी दिए। 

अन्तर्राष्ट्रिय समुदाय गुहार्दै पाकिस्तान

यता पाकिस्तानले राष्ट्र सङ्घको मानव अधिकार परिषद्मा समेत काश्मिरको मुद्दाको विषयमा पत्राचार गरेको छ। पाकिस्तानका परराष्ट्र मन्त्री मख्धुम साह मोहमुद कुरेसीले मानवअधिकार परिषद्का उच्च आयुक्तलाई पत्राचार गर्दै पुलवामा आक्रमणपछि काश्मिरमा भारतीय पक्षबाट आक्रमण र धम्कीहरू भएको भन्दै त्यसतर्फ चासो दिन आग्रह गरेका छन्। 

पत्रमा काश्मिरमा जेनेभा कन्भेन्सनको उल्लंघन भएको भन्दै ध्यान दिन आग्रह गरिएको छ। 

त्यस्तै पाकिस्तानी विदेश मन्त्री कुरेसीले बेलायतका विदेशमन्त्रीसँग पनि विषयमा छलफल गरेका छन्। बेलायती विदेशमन्त्रीसँग टेलिफोन कुराकानीमा पुलवामा घटनापछि यस क्षेत्रको शान्ति सुरक्षाको विषयमा छलफल भएको पाकिस्तानको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

पाकिस्तानी विदेशमन्त्रीले पुलवामा घटनापछि भारतले धम्की दिइरहेका बेला पाकिस्तानले घटनाको अनुसन्धान ठोस प्रमाण दिन आग्रह गरेको बताएका थिए। उनले बेलायती समकक्षीसँग समस्या समाधानका लागि पहल गर्नसमेत आग्रह गरेका छन्। 

उनले पोल्याण्डका समकक्षीसँग पनि यसै विषयमा छलफल गरेका छन्। टेलिफोन वार्तामा पाकिस्तान यस क्षेत्रको शान्ति र सुरक्षामा प्रतिबद्ध रहेको बताएका थिए। 

यसबीच पाकिस्तानी परराष्ट्र मन्त्री कुरेसीले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन वार्ता गरेका छन्। 

वार्ताका क्रममा पुलवामा घटना पछि यस क्षेत्रको शान्ति सुरक्षाको विषयमा छलफल भएको पाकिस्तानको परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्तामा पाकिस्तान यस क्षेत्रको शान्ति र सुरक्षाका लागि भारतसँग शान्तिपूर्ण संवादका लागि तयार रहेको कुरेसीले बताएका थिए। 

वार्तामा चिनियाँ विदेश मन्त्री वाङले तनाव कम गर्न पाकिस्तानको प्रयासलाई प्रशंसा गर्दै यस क्षेत्रको शान्ति र सुरक्षा चीनको चाहना भएको बताएका थिए। त्यसका लागि चीन सहयोग गर्न तयार रहेको विदेश मन्त्री वाङले बताएका थिए। 

त्यस्तै पाकिस्तानले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्का अध्यक्षलाई पत्र लेख्दै पुलवामा घटनाको विषयमा जानकारी गराएको छ। 

पत्रमा भारतले पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदाय सामु गलत रूपमा प्रस्तुत गरेको आरोप लगाएको छ। त्यस्तै पाकिस्तानलाई भारतले धम्की दिइरहेको र काश्मिरमा भारतले मानवअधिकार उल्लंघन गरिरहेको आरोप लगाएको छ। पाकिस्तानले लेखेको पत्रमा भारतले आन्तरिक राजनीतिका कारणलाई पाकिस्तानमाथि आरोप लगाउँदै तनावको वातावरण सिर्जना गरेको आरोप लगाएको छ। 

पाकिस्तानका विदेशमन्त्रीले यसबीच युएई, टर्की, जापान लगायतका देशका विदेशमन्त्रीसँग पुलवामा घटनाको विषयमा टेलिफोन वार्ता गरेका छन्। त्यस्तै राष्ट्र सङ्घका महासचिवसमेतलाई पत्राचार गर्दै घटनाको विषयमा जानकारी गराएको छ।

सार्कलाई गति दिन पाकिस्तानको आग्रह

यसैबिच पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कलाई अगाडि बढाउन पहलसमेत गरेको छ। 
सन् २०१६ मा पाकिस्तानमा हुने तय भएको सार्कको १९ औँ शिखर सम्मेलन अन्योलमा छ। उरी आक्रमणले रोकिएको सम्मेलन पुलवामा आक्रमणले थप अन्योलमा पर्दै गएको छ। 

यस्तो अवस्थामा पाकिस्तानी परराष्ट्र मन्त्री कुरेसीले नेपाली समकक्षी प्रदीपकुमार ज्ञवाली टेलिफोन गरी सार्कलाई गति दिन आग्रह गरेका हुन्।
नेपाल सार्कको अध्यक्ष राष्ट्र हो। वार्ताका क्रममा कुरेसीले सार्कको संस्थापक राष्ट्र र अध्यक्ष राष्ट्रको हैसियतले नेपालले यस क्षेत्रको शान्ति र सुरक्षाका लागि सबै देशलाई एक जुट बनाएर लैजान नेपाली समकक्षी ज्ञवालीलाई आग्रह गरेका थिए। 

वार्ताका क्रममा परराष्ट्र मन्त्री ज्ञवालीले सार्कको सदस्य र पाकिस्तानको मित्र राष्ट्रको हैसियतले नेपालले यस क्षेत्रको शान्ति र स्थायित्व चाहेको बताएका थिए। ज्ञवालीले यस क्षेत्रको शान्ति र सुरक्षा सबैको दायित्व भएको बताएका थिए।

त्यस्तै पाकिस्तानी मन्त्री कुरेसीले श्रीलंकाली समकक्षी तिलक मारापानासँग पुलवामा घटना र दक्षिण एसियाको शान्ति र सुरक्षाको विषयमा छलफल गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell