
काठमाडौँ : मनवानपुर जिल्ला फुटबल संघको आयोजनामा दोस्रो शहिद स्मृति मकवानपुर गोल्डकप यही फागुन २९ गतेदेखि सुरु हुने भएको छ।
मंगलवार संघले राजधानीमा पत्रकार सम्मलेन गर्दै प्रतियोगिता चैत ९ गतेसम्म हुने जानकारी दिएको हो।
प्रतियोगिता ए डिभिजनका क्लबहरु र मोफसलका लागि १२ टिमसम्म छलफल भइरहेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी गरे। यस बारेमा केही दिनपछि निर्णय हुने र १० टिमको सहभागिता गराउने लामाले बताए।
यस्तै संघले प्रतियोगिताको लागि भुगर्भ सिमेन्टसँग मंगलवारै प्रायोजन सम्झौता गरेको छ। सम्झौतामा संघका अध्यक्ष लामा र भुगर्भ सिमेन्टका अध्यक्ष पिताम्वर गैरेले हस्ताक्षर गरे।
सम्झौता अनुसार भुगर्भ सिमेन्टले प्रतियोगिताको लागि १० लाख बराबर सहयोग गर्ने संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए।
प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख प्राप्त गर्नेछन्। यस्तै उत्कृष्ट खेलाडीले नगद ५० हजार र व्यक्तिगत विधातर्फ उत्कृष्टले २०-२० हजार पाउने लामाले जानकारी गराए।