काठमाडौँ : एनसेल कार्यालयमा भएको विस्फोटको अनुसन्धानमा जुटेको प्रहरीले केही संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिए पनि अधिकांश चिनिएका नेताहरु प्रहरीको 'हाउजिङ'भित्र अटाउन सकेका छैनन्। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घटनाको जिम्मेवारी लिइसकेको छ।
आइतबार साँझ नेकपाका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली विस्फोटको जिम्मेवारी लिएका थिए। तर, अहिलेसम्म विप्लव नेतृत्व समूहका केन्द्रीय तहका नेता भने प्रहरीले पक्राउ गर्न सकेको छैन। आखिर किन? राज्य नै विप्लव नेतृत्वको समूहलाई नियन्त्रणमा लिन चाहँदैन वा उनीहरुको पहुँचमा नै पुग्न सकेको छैन?
गत शुक्रवार साँझ ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर भएको विस्फोटमा घाइते भएका लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो। अन्य दुई जनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले अहिलेसम्म नख्खु प्रकरणमा ६ जनालाई पक्राउ गरेको छ। विप्लव समूहका तीन जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान समेत गरिरहेको छ। तर, एनसेल कार्यालयमा वम विस्फोट गराउने पार्टीका नेताहरु भने कारबाहीको दायरामा छैनन्।
अधिकांश नेता प्रहरीको ‘हाउजिङ’भन्दा बाहिर !
घटना भएको दुई दिनसम्म विष्फोटको विषयमा नेकपा मौन नै बस्यो। घटना लगत्तै नेकपाका अधिकांश नेताहरुको मोबाइल स्वीच अफ भए। शुक्रवार घटना लगत्तै नेताहरु सम्पर्क बाहिर पुगे। तर, प्रहरी भने घटना विप्लव समुहले गरेको भन्ने निचोडमा पुगिसकेको थियो। प्रहरीले तत्कालै केही केन्द्रीय तहका नेताहरुको खोजी गर्यो। तर, उनीहरु प्रहरीको सम्पर्कबाट टाढ नै रहे।
विस्फोटमा एक जनाको मृत्यु भएपछि सबैभन्दा धेरै प्रहरी नै आलोचित भइरहेको छ। प्रहरीको सुरक्षा र घटना पूर्वको सूचनामा पनि प्रश्न उठिरहेको छ। झन् घटना भएको जिम्मेवारी लिइसकेपछि पनि कारबाहीको दायरमा ल्याउन नसक्नुले प्रहरीको प्रतिष्ठामाथि थप आँच आएको छ।
विप्लव समूहका नेताहरुलाई कारबाही गर्ने सरकारको नीति प्रष्ट भएपछि केन्द्रीय तहका नेताहरुको प्रहरीले खोजी गरिरहेको छ। तर, अझै उनीहरुसम्म प्रहरी पुग्न सकेको छैन। एक उच्च तहका प्रहरी अधिकृतले भने, 'मान्छे नै मारिसकेको जिम्मेवारी लिएपछि कारबाहीमा ल्याउनु पर्छ। हामी अहिले उनीहरुलाई खोजी गरिरहेका छौं।'
विप्लव समूहका अधिकांश नेता प्रहरीको घेरा बाहिरै छन्। ‘हामीले सबै केन्द्रीय तहका नेताहरुको फोन लगायत अन्य गतिविधि हेरिसकेका छौं। उनीहरु अहिले देश बाहिर रहेको देखिएको छ,' अनुसन्धानमा जुटेका एक प्रहरी अधिकारीले भने।
प्रहरीको अनुसन्धानको घेरामा अखिल (क्रान्तिकारी)का ललितपुर जिल्लाका अध्यक्ष विनोद लुइटेलको पनि नाम छ। उनको संलग्नता हुन सक्ने भएकाले थप अनुसन्धान गरिरहेको छ। लुइटेल अहिले नेपालमा नभएको खुलेको छ। उनी केही दिन अगाडि नै भारत पुगिसकेको खुलेको छ। लुइटेल नेत्रविक्रम चन्द्रका ज्वाइँ समेत पर्छन्। पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि प्रहरीको खोजी सूचीमा परेका छन्।
प्राविधिक पक्षमा अनुसन्धान गर्दै प्रहरी
नख्खुमा भएको बम विस्फोटमा प्रहरीले अहिले अन्य पक्षसँगै प्राविधिक पक्षको समेत अनुसन्धान गरिरहेको छ। विस्फोटनको समयमा सडकमा रहेको सीसी क्यामरादेखि मोबाइल लोकेसनको समेत अनुसन्धान गरिरहेको छ। ‘हामीले हरेक पक्षबाट हेरिरहेका छौं। केही समयमा नै थप घटनाको पाटो खुल्ने छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भने।
घटना भएको समय कार्यालय सुरक्षामै खटिएका सुरक्षाकर्मीको भूमिका शंकास्दप भएको सीसी क्यामरामा कैद भएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। उनीहरुले शंकास्पद वस्तु कार्यलयको गेट बाहिर फ्यालेको देखिन्छ। उनीहरुले त्यो शंकास्पद वस्तु गेट बाहिर किन फ्याँले? के उनीहरुलाई त्यहाँ बम थियो भन्ने थाहा थियो ? यो प्रश्नको जवाफ प्रहरीले पाउन सकेको छैन। उनीहरुलाई प्रहरीले तारिकमा बोलाएर बयान गरिरहेको छ।
घटनामा एनसेल कम्पनीको सेक्यरिटीको जिम्मेवारी लिएको कम्पनीले पनि सुरुमा असहयोग गरेको प्रहरीको आरोप छ।