PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

एक ठिटो जसले जिल्लाका प्रहरी प्रमुख र सिडिओलाई नै फनफनी घुमायो



सविन ढकाल

एक ठिटो जसले जिल्लाका प्रहरी प्रमुख र सिडिओलाई नै फनफनी घुमायो

काठमाडौं : सोमवार दिउँसो पोखराको लेकसाइडमा रहेको तेन्जिङ हिलारी होटेलबाट वडा प्रहरी कार्यालय बैदाममा फोन आयो - ‘एक युवकले होटेलमा बसेर खाएको पैसा नतिरेर लफडा गरिरहेको छ।' 

प्रहरी टोली होटेल पुग्यो।

प्रहरी होटल पुग्दा 'म सहसचिव स्तरको मान्छे,' भन्दै ती व्यक्ति कराउँदै थिए। होटेलवाला भने त्यहाँ बसेको खर्च ३५ हजार रुपैयाँ माग्दै थिए। सहसचिव भनेपछि प्रहरी समेत केही हच्कियो। ती 'सहसचिव'को घाँटीमा राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको अध्यक्षको कार्ड झुन्डिएको थियो। त्यसमा लेखिएको नाम थियो - सन्देश रम्तेल।

होटेलको पार्किङ क्षेत्रमा बा २ झ १६६३ नम्बर सेतो नम्बर प्लेटको सरकारी स्कर्पियो पनि थियो। चालक संगम राई पनि सँगै थिए। प्रहरी एकछिन अकमक्क भयो। केही समयमा प्रहरीलाई युवकको व्यवहारमा शंका लाग्यो। शंका लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लियो। प्रहरी नियन्त्रणमा आएपछि सन्देश रम्तेलको पोल खुल्यो।

आफ्नो उमेर १७ वर्ष भएको बताउने सन्देशले सह-सचिव भन्दै देशका विभिन्न स्थानमा ठगी गर्ने र सरकारी सेवा समेत लिने गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले बताए। डिएसपी गुरुङले भने, 'उमेर हेर्दा १७ वर्ष जस्तो देखिँदैन। तर उसले विभिन्न जिल्लामा ठगी तथा सरकारी पदमा भएको भन्दै गलत प्रयोग गरेको देखियो।'

उनी गत फागुन ६ गते पोखरा आएको प्रहरी अनुसन्धानमा खुल्यो। त्यसपछि उनी मुस्ताङ गएर फेरि पोखरा आएका थिए।

प्रहरीकै स्कर्टिङ हिँड्ने र सरकारी तेल हाल्ने !

इलाम घर भएका सन्देशको उमेर २० वर्षभन्दा नभएको प्रहरीको अनुमान छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले प्रयोग गरेको सह-सचिव स्तरको कार्ड र अन्य सरकारी कागज समेत नक्कली देखियो। उनले निजी नम्बर प्लेटको स्कर्पियो गाडी भाडामा लिएर बा २ झ १६६३ नम्बर सेतो नम्बर प्लेटको फेरेका रहेछन्। ‘आफू सरकारको उच्च तहको कर्मचारी भएको देखाउन नक्कली नम्बर हालेको देखियो,' डिएसपी गुरुङले भने। उनले प्रयोग गरेको सरकारी नम्बर प्लेटको गाडी भने सडक डिभिजन कार्यालय डोटीले प्रयोग गरेको देखिन्छ।

उनले गाडी चालक समेत राखेका थिए। विभिन्न जिल्लामा प्रहरी प्रमुख र सिडियोलाई राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको लेटर प्याडमा आफूलाई सुरक्षा थ्रेट भएकाले प्रहरीको स्कर्टिङको व्यवस्था मिलाइ दिन भन्दै लेखेको समेत भेटिएको छ। सोही पत्रका आधारमा देशका केही जिल्लामा उनलाई स्कर्टिङको व्यवस्था समेत मिलेको उनले प्रहरीमा बयान दिएका छन्। डिएसपी गुरुङले भने, 'उनीसँग ७७ वटै जिल्लाका प्रहरी प्रमुख, सिडियोका नम्बर र केहीलाई लेखिएका लेटर समेत छन्। सबै कागजपत्र नक्कली भएको भेटियो,' गुरुङले भने।

उनले पोखरा महानगरपालिकाबाट गाडीमा इन्धन खर्च भन्दै १० लिटर तेलको कुपन समेत लिएको खुलेको छ। सह-सचिव भन्दै ठगीमा सक्रिय उनले कक्षा १२ सम्म अध्ययन गरेको बयान दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell