PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

डोजर किनेर ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारबाही हुन्छः पौडेल



पहिलोपोस्ट

डोजर किनेर ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारबाही हुन्छः पौडेल

नुवाकोटः प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले डोजर किनेर ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारबाही गरिने बताएका छन्। विदुर नगरपालिका–५ को वडा कार्यालय भवनको माझीटारमा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जनप्रतिनिधिले शपथ बिर्सिएर कमाउने उद्देश्यले जनताका काम छाडेर आफैँ डोजर किन्दै ठेकेदारी गर्न थालेको गुनासो आइरहेकाले यस्ता जनप्रतिनिधिलाई कारवाही गरिने बताए।

“जनताको काम गर्न आउनुभएका जनप्रतिनिधिले आफैंले डोजर किन्दै ठेकेदारी गर्नु गलत हो। कोही पहिले नै ठेकेदार रहेछन् भने पनि जनप्रतिनिधि भएपछि पुरानो पेशा छोड्नुपर्छ”, उनले भने “जनप्रतिनिधि भएर ठेकेदारी गर्न नपाउने भएका कारण आगामी दिनमा पनि यस्तो गर्नेलाई प्रदेश सरकारले अब हटाएर छाड्छ।”

मुख्यमन्त्री पौडेलले ठेकेदारी गर्ने कार्यमा स्थानीय तहका जनप्रतिनिधिहरु वडाध्यक्ष, उपाध्यक्ष, अध्यक्ष, उपप्रमुख, प्रमुखसमेत क्रियाशील भएको पाइएको बताए। मुख्यमन्त्री पौडेलले जनताका काम गर्न छाडेर विभिन्न बहानामा ठेकेदारी गर्नेलाई प्रदेश सरकारले उन्मुक्ति नदिने बताए।

कार्यक्रममा प्रदेशसभा सदस्य बद्री मैनाली, केशव पाण्डे, हिरानाथ खतिवडा र आशामाया तामाङले संघीयताको आभास दिने आधार कार्यालय वडा कार्यालय भएकोले वडा कार्यालयले दिने सेवा र सुविधाहरु प्रभावकारी भए मात्र संघीयताको वास्तविक अनुहार जनताले देख्न पाउने बताए।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जनताको काम छाडेर ठेकेदारी गर्दै हिँड्ने जनप्रतिनिधिलाई आफ्नो कर्तव्य अनुसारको काम गर्न सचेत गराइने र सचेत गराउँदा पनि नटेरेमा कारबाहीको प्रक्रिया थालिने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell