
काठमाडौँ : थाइल्याण्डमा भइरहेको आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर एसियामा नेपालले अन्तिम खेलमा कुवेतलाई पराजित गरेको छ। कप्तान रुविना क्षेत्रीले ह्याट्रिक विकेट लिएको खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको हो।
रुविनाले खेलको अन्तिम ओभरको अन्तिम ३ बलमा विकेट लिँदै ह्याट्रिक विकेट लिइन्। रुविनाले नेपालको जितबा अलराउण्ड प्रदर्शन गरिन्। आक्रमक ब्याटिङ गर्दै १३ बलमा २२ रन बनाएकी रुविनाले ३ विकेट लिएकी हुन्।
७ राष्ट्र सम्मिलित प्रतियोगिता नेपालले पाँच जित हात पारे पनि ग्लोबल क्वालिफायर पुग्ने सम्भवना भने लगभग सकिएको छ। एक खेल खेल्न बाँकी रहेको थाइल्याण्ड र नेपालको समान १० अंक भएको छ। तर थाइल्याण्डको रनरेट नेपालको भन्दा राम्रो छ। र आजै थाइल्याण्डले युएईसँग खेल्नेछ। उक्त खेल जितेमा थाइल्याण्ड अपराजित रहँदै ग्लोबल क्वालिफायर पुग्नेछ।
दोस्रो खेलमै थाइल्याण्डसँग पराजित भएको नेपाललाई बाँकी टिमहरुले पनि चुनौती दिएको थियो।
बैँककस्थित एआइटिजी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको थियो। जवाफमा कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो।
नेपालको लागि बिन्दु रावलले ४९ बल खेल्दै १ चौकाको मद्दतमा नटआउट २८ रन बनाइन्। यस्तै कप्तान रुविना क्षेत्रीले २२, नेरी थापाले १९ र काजल श्रेष्ठले १८ रन जोडे।
४६ रन हुँदा ५ विकेट गुमाएको नेपालको इनिङ्स बिन्दु र नेरीले उकासेका थिए। यी दुईले छैटौँ विकेटका लागि ३७ रनको साझेदारी गरे। यस्तै विन्दु र रुविनाले सातौँ विकेटका लागि ३३ रनको साझेदारी गरे।
रुविनाले १३ बल खेल्दै ३ चौकाको मद्दतमा २२ रन बनाइन्। कुवेतका लागि कप्तान मर्याम ओमार र प्रियदा मुरलीले २-२ विकेट लिइन्।
कुवेतका लागि कप्तान ओमारले सर्वाधिक २९ रन बनाइ। छैटौँ ओभरमा पहिलो विकेटको रुपमा सब्रिन जाकीलाई १२ रन गुमाए पनि ओमा र र मुरलीले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दै कुवेतको इनिङ्स उकासेका थिए।
तर करुणा भण्डारीले १४औँ ओभरमा २ विकेट लिनुका साथै एक रनआउट समेत गराएपछि नेपालले कुवेतमाथि दवाव बनाएको थियो। कुवेतका ओमरले २९, मुरलीले १४ र जाकीले १२ रन बनाइन्। मरियमा हैदरले नटआउट १२ रन बनाइन्।
कप्तान रुविनाले इनिङ्सको अन्तिम ३ बलमा कुवेतका खादिजा खलिल, मदिहा जुवेरी र जिफा जिलानीलाई लगातार आउट गर्दै ह्याट्रिक पुरा गरिन्।
नेपालको लागि करुणाले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिइन्। कप्तान रुविनाले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिइन्। नेरी थापाले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिइन्।