
काठमाडौ : पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स्थलमा पाँच जनाको शव फेला परेको छ। शवको पहिचान हुन सकेको छैन।
आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना यात्रुसहित ७ जना चढेको हेलिकप्टर पाथीभार जाँदै गर्दा दुर्घटना परेको थियो। घटनास्थलमा प्रहरी पुगिसकेको र पाँच जनाको शव फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। एसएसपी सुवेदीले भने, 'पाँच जनाको शव फेला परेको जानकारी आएको छ। को को हुन् भन्ने खुलेको छैन।'
एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टर दुर्घटना भएको थियो। मन्त्री रवीन्द्र अधिकारीसँगै चर्चित व्यवसायी आङ छिरिङ शेर्पा पनि हेलिकप्टरमा थिए। उनी निजी क्षेत्रको हवाई सेवा यति एयरलाइन्सका मालिक हुन्।
हेलिकप्टरमा युवराज दाहाल पनि थिए। उनी प्रधानमन्त्री कार्यालयमा कार्यरत छन्। उनी उपसचिव हुन्। त्यस्तै नागरिक उड्ययन प्राधिकरणका निर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदाश बजिमय, अर्जुन घिमिरे पनि छन्। घिमिरे पनि प्रधानमन्त्री कार्यालयमा कार्यरत रहेको बताइएको छ।