PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

महिला क्रिकेट : थाइल्याण्ड ग्लोबल क्वालिफायरमा छनोट, नेपाल दोस्रो, नेरी सर्वाधिक 'विकेट टेकर'



पहिलोपोस्ट

महिला क्रिकेट : थाइल्याण्ड ग्लोबल क्वालिफायरमा छनोट, नेपाल दोस्रो, नेरी सर्वाधिक 'विकेट टेकर'

काठमाडौँ : घरेलु टोली थाइल्याण्ड आइसीसी वुमन्स वर्ल्ड कपको ग्लोबर क्वालिफायरमा छनोट भएको छ।

घरेलु भूमिमा भएको एसियन रिजनल क्वालिफायरमा अपराजित बन्दै शीर्ष स्थानमा रहेर थाइल्याण्ड २० ओभर र ५० ओभरको वर्ल्ड कपको अन्तिम चरणको छनोटको लागि छानिएको हो।

सात राष्ट्र सहभागि एसियाली छनोटमा थाइल्याण्डले बुधवार युएईलाई ५० रनले पराजित गर्दै ६ खेलबाट १२ अंक जोडेको हो।

पाँच खेल जितेको नेपाल दोस्रो र चार खेल जितेको युएई तेस्रो भयो। नेपालले बुधवारै अन्तिम खेर्लमा कुवेतलाई ३० रनले पराजित गर्दै पाँच जित हात पारेको हो। लिगको दोस्रो खेलमै थाइल्याण्डसँग पराजित भएपछि नेपालको लागि छनोट यात्रा कठिन बनेको थियो।

थाइल्याण्ड दुई वर्ल्ड कपको ग्लोबल क्वालिफायर पुग्दा नेपालले भने दोस्रो स्थानमै चित्तत्र बुझाउनुपर्‍यो।

नेपालको नेरी थापा संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बनिन्। नेरी र थाइल्याण्डकी कप्तान सोर्ननरिन टिपोचले समान १३ विकेट लिइन्। दुवैले ६ खेल खेलेका थिए।

नेरीले एक खेलमा ६ विकेट लिएकी थिइन् भने एक खेलमा ४ विकेट लिएकी थिइन्। उनको उत्कृष्ट बलिङ हङकङ विरुद्ध रहेको थियो। जहाँ उनले ४ ओभरमा ८ रन खर्चेर ६ विकेट लिएकी थिइन्। यस्तै युएई विरुद्ध ३.३ ओभरमा ६ रन खर्चेर ४ विकेट लिएकी थिइन्। टिपोचले मलेसिया विरुद्ध ४ रन खर्चेर ४ विकेट लिएकी थिइन्।

यसैगरी थाइल्याण्डकै नारुएमोल चाइवेइले सर्वाधिक १८१ रन बनाइन्। उनले एक अर्धशतक समेत प्रहार गरिन्। नेपालको तर्फबाट भने कप्तान रुविना क्षेत्री बेलबासीले सर्वाधिक ८७ रन बनाइन्।

रुविनाले लिगको अन्तिम खेलमा कुवेत विरुद्ध ह्याट्रिक विकेट समेत लिएकी थिइन्।

एक महिनाअघि जनवरीमा थाइल्याण्डै भएको टी २० स्म्यास क्रिकेटमा पनि नेपाल थाइल्याण्डसँग फाइनलमा पराजित हुँदै उपविजेता बनेको थियो। त्यस प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। तर एसियन क्वालिफायरमा भने नेपालको प्रदर्शन एकरुपको हुन सकेन। ब्याटिङमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको नेपालले चीन जस्तो टिमलाई हराउन पनि संघर्ष गर्नुपरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell