काठमाडौं : पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटना किन भयो र कसरी भयो भन्नेमा धेरैको चासो छ। आखिर हाइप्रोफाइल मन्त्री, कर्मचारी र व्यवसायी लिएर उडेको हेलिकप्टर कसरी दुर्घटना हुन पुग्यो त?
बिहानदेखि नै मन्त्री अधिकारी तेह्रथुमको चुहान डाँडामा विमास्थल निर्माण क्षेत्रको अवलोकन गर्ने पुगेका थिए। यहाँ आएपछि ताप्लेजुङमा रहेको पाथिभारा मन्दिरको दर्शन गर्ने भन्दै एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टरबाट पाथिभार गएको स्थानीय शिक्षक दीपक उप्रेतीले जानकारी दिए।
उप्रेतीले भने, 'उहाँको टोली बिहान केबुलकारको शिलान्यास गरेर मन्दिर दर्शन गर्न निस्किएको थियो।'
बिहानैदेखि ताप्लेजुङको मौसम बिग्रिएको थियो। देशभर नै बदलीको पूर्व सूचना थियो। बिहानदेखि नै मौसम असमान्य। कार्यक्रममा सहभागी केही मानिसले मौसम खराव भएकाले पाथिभार मन्दिर नजान समेत आग्रह गरेको उप्रेतीले बताए।
पहिलोपोस्टसँगको कुराकानीमा शिक्षक उप्रेतीले भने, 'उहाँलाई कार्यक्रममा सहभागी केहीले मौसम खरावी भएकाले नजान समेत आग्रह गर्नुभएको थियो। तर, मन्दिर दर्शन गर्न भन्दै जानु भएको बुझियो।'
ताप्लेजुङको सिस्नेपानीको ठूलो भीर भन्ने ठाँउमा दुर्घटना भएको हो। बिहानदेखि नै त्यस ठाउँमा हावाहुरीसँगै हिउँ परेको थियो। स्थानीय धनश्याम पौडेलले पहिलोपोष्टसँग भने, 'बिहानदेखि नै हिउँ परेको थियो। दुर्घटना भएको समयमा ठूलो हावा समेत चलेको थियो। सायद, त्यही हावाको कारण दुर्घटना भएको हुनसक्छ।'
पौडेलले दुर्घटना भएसँगै घटनास्थल पुगेका थिए। ‘हामी पुग्दा आगो बलिरहेको थियो। शव यत्रतत्र छरिएको थियो। मन्त्रीको अनुहार भने चिनियो,' उनले भने।
रवीन्द्र अधिकारीसँगै चर्चित व्यवसायी आङ छिरिङ शेर्पा पनि हेलिकप्टरमा थिए। उनी निजी क्षेत्रको हवाई सेवा यति एयरलाइन्सका मालिक हुन्।
हेलिकप्टरमा युवराज दाहाल पनि थिए। उनी प्रधानमन्त्री कार्यालयमा कार्यरत छन्। उनी उपसचिव हुन्। त्यस्तै नागरिक उड्ययन प्राधिकरणका निर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदाश बजिमय, अर्जुन घिमिरे पनि थिए जसले हेलिकप्टर दुर्घटनासँग ज्यान गुमाए।