काठमाडौं : बुधवार बिहान हेलिकप्टर दुर्घटनामा सात जनाको निधन भयो। मृत्यु हुनेको नामको सूचीमा एक थियो अर्जुन घिमिरे। घिमिरे को हुन् त?
नेपाली सेनाका ३६ वर्षीय जमदार हुन् अर्जुन घिमिरे।
कालीदल गणको दरबन्दीबाट पर्यटन मन्त्री रवीन्द्र अधिकारीको सुरक्षाका लागि परिचालित थिए उनी। जमदार घिमिरे मन्त्री अधिकारीको सुरक्षा कमान्डमा गत भदौ १० गतेदेखि सुरक्षामा खटिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले जानकारी दिए। रामेछाप स्थायी घर भएका घिमिरे काठमाडौंको कीर्तिपुरमा डेरागरी बस्दै आएका थिए। उनका १० वर्षीय छोरा र श्रीमती छन्।
आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना यात्रु र पाइलट चढेको हेलिकप्टर पाथीभरा दर्शनमा जाँदै दुर्घटनामा परेको थियो। त्यसमा परी घिमिरे पनि बिते। गृह प्रवक्ता रामकृष्ण सुवेदीले सातै जनाको शब ल्याउन लागिएको जनाएका छन्। प्रहरीले घटनास्थलमा फेला पारेको शव मध्ये मन्त्री अधिकारी र पिएसओको शव पहिचान थियो। गृह प्रवक्ता सुवेदीले भने, 'सुरक्षाकर्मी र मन्त्रीको मात्र शव पहिचान गर्ने अवस्थामा थियो।' अन्य चिनिएनन्।
मन्त्री अधिकारीको सुरक्षा कमान्ड घिमिरेले नै सम्हाल्दै आएका थिए। प्राय: घिमिरे आफै मन्त्रीको सुरक्षामा खटिन्थे। जमदार घिमिरे १९ वर्षीयको उमेरमा नै सिपाहीबाट नेपाली सेनामा प्रवेश गरेका थिए। २०५८ जेठ महिनाबाट उनले सैनिक सेवा प्रवेश गरेका थिए। घिमिरे मेहनती र इमान्दार अफिसर भएको प्रवक्ता ढकाल बताउँछन्।
मन्त्री रवीन्द्र अधिकारीसँगै चर्चित व्यवसायी आङछिरिङ शेर्पा पनि हेलिकप्टरमा थिए। उनी निजी क्षेत्रको हवाई सेवा यति एयरलाइन्सका मालिक हुन्।