PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

रवीन्द्र अधिकारीको छाप: सार्वजनिक बसमा विद्यार्थीलाई सहुलियतको पहलदेखि पारसको शाहज्यादा पद खारेजीको मागसम्म



विधुर ढकाल

रवीन्द्र अधिकारीको छाप: सार्वजनिक बसमा विद्यार्थीलाई सहुलियतको पहलदेखि पारसको शाहज्यादा पद खारेजीको मागसम्म

काठमाडौं:  पर्यटन नागरिक उड्ड्यन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारीको मंगलवार हेलिकोप्टर दुर्घटनामा परी निधन भयो।

विद्यार्थी राजनीतिबाट नै लोकप्रियता हासिल गरेका अधिकारी पछिल्लो निर्वाचनमा ह्याट्रिक गर्ने नेता मध्य एक हुन्। २०२६ वैशाख २२ मा सालमा कास्कीको भरतपोखरी गाविसको जामुनाबोटमा इन्द्रप्रसाद अधिकारी र लक्ष्मी देवी अधिकारीका जेठा छोराका रुपमा जन्मिएका अधिकारी सानैदेखि राजनीतिमा सक्रिय थिए।

प्रवेशिका परीक्षा उतीर्ण गर्ने बित्तिकै वन विज्ञान अध्ययन संस्थानमा भर्ना भएका थिए। तर उनले पछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन सुरु गरेका थिए। त्यसको दुई वर्षपछि नै अधिकारी तत्कालिन नेकपा माले निकट अनेरास्वियुको क्याम्पसको कमिटिको अध्यक्षमा निर्वाचित भएका थिए। अधिकारी २०४५ सालमा स्ववियु सदस्यमा निर्वाचित भए। २०४५ सालमा नै उनी अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्षमा निर्विचत भए। अर्को वर्ष उनी अनेरास्वियुको गण्डकी अञ्चल अध्यक्ष र केन्द्रीय सदस्य बनेका थिए। उनी २०४९ सालमा २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापतिमा निर्वाचित भए।

त्यसको चार वर्षपछि २०५३ मा सम्पन्न स्ववियु निर्वाचनमा अधिकारी त्रिवि केन्द्रीय क्याम्पस किर्तीपुरको स्ववियु सभापतिमा निर्वाचित भए। उनी स्ववियु काउन्सिलको अध्यक्षमासमेत निर्वाचित भए।

विद्यार्थी राजनीतिबाट एक पछि अर्को नेतृत्व गर्दै आएका अधिकारीमा २०५६ अनेरास्ववियुको नेतृत्वमा आए। उनी अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भए।

अधिकारी त्रिविबाट व्यवस्थापनमा स्नोकोत्तर उपाधि हासिल गरेका थिए।

पञ्चायत विरोधी आन्दोलनका क्रममा उनी ०४६ सालको आन्दोलनमा पटक पटक जेल परे। उनी त्यसवेला ६ महिना जेल बसेका थिए। अधिकारी विद्यार्थी जीवनदेखि नै शिक्षामा भएको शिक्षामा भएको निजीकरण र व्यापारीकरण, प्राविधिक शिक्षाको विस्तार र गुणस्तरीयताका लागि आन्दोलनमा उत्रिए।

तत्कालिन शाहज्यादा पारस शाहको ज्यादतीविरुद्ध उनको पद खारेज गर्नुपर्ने भन्दै पाँच लाख २३ हजार हस्ताक्षर राजदरबारमा उनकै नेतृत्वमा बुझाइएको थियो।

सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिलाउन पहल गरेर रवीन्द्र अधिकारी धेरैको नजरमा परेका थिए।

उनले २०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका थिए। उनी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित भए। २०४८ सालमा आइपुग्दा उनी पार्टीको जिल्ला कमिटीमा परे। त्यसपछि उनी पार्टी राजनीतिमा पनि निरन्तर रुपमा रहिरहे। अधिकारी २०६० र २०६३ मा तत्कालिन नेकपा एमालेको जिल्ला सचिव बने। ०६२/६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन बिरुद्दको आन्दोलनमा पटक-पटक गरी पाँच महिना जेल बसेका छन्।

अधिकारी तत्कालिन नेकपा एमालेको राष्ट्रिय परिषद् सदस्य, अञ्चल कमिटी सदस्य हुँदै केन्द्रीय कमिटी, स्कुल विभाग र संसदीय विभागको सदस्यसमेत रहेर काम गरेका थिए।

जेठ ३ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को केन्द्रीय सदस्यसमेत भएका थिए।

अधिकारीको संसदीय यात्रा

अधिकारी संसदीय निर्वाचनमा ह्याट्रिक गर्ने नेता हुन्। उनले २०६४ र २०७०को संविधानसभा निर्वाचन र २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कास्की ३ बाट प्रत्यक्ष निर्वाचन प्रणालीमा निर्वाचित भएका थिए।

अधिकारी २०५६ सालमा भने कास्की १ बाट तत्कालिन नेकपा एमाले विभाजन हुँदा नेकपा मालेबा उम्मेदवार बनेका थिए। तर त्यसवेला उनी पराजित भएका थिए।

उनी संविधानसभाको सदस्य हुँदा सार्वजनिक लेखा समितिको सदस्यका रुपमा काम गरेका थिए। उनले संविधानसभामा राष्ट्रिय हितको संरक्षण समिति र युवाहरुको दबाब समिति निर्माण गरी संबिधान सभा निर्माणमा निरन्तर खबरदारी गरेका थिए।

२०७० को निर्वाचनबाट गठन भएको दोस्रो संविधानसभा उनी संसद्को विकास समितिको सभापतिको रुपमा काम गरेका थिए।

मन्त्रीका रुपमा अधिकारी

पछिल्लो पटक २०७४ सालमा प्रतिनिधसभामा निर्वाचित भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्को क्याविनेटमा चैतमा नागरिक उड्डयन तथा पर्यटन मन्त्रीको रुपमा सिंहदरवार प्रवेश गरेका थिए।

मन्त्री भएलगत्तै अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई तिब्रता दिए। उनकै सक्रियतामा सन् २०२० लाई नेपालले नेपाल भ्रमण वर्षको रुपमा मनाउँदै छ। देशभरका विमान स्थलको सुधार तथा अन्तर्राष्ट्रिय विमानस्थलको सुधारका लागि उनले पहल गर्दै आएका छन्।

पछिल्लो पटक अधिकारी नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारमा मुछिएका थिए। यस प्रकरणले उनको पार्टी भित्र र बाहिर आलोचना भएको थियो।

अधिकारीकी श्रीमती विद्या भट्टराई र २ छोराहरु विराज र स्वराज छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell