PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

ताप्लेजुङको सिस्नेमा १२ वर्षपछि घुन्साकै नियति: पहिलो पर्यटनमन्त्री र बहालवालाको एकैखाले प्रस्थान



रीना मोक्तान

ताप्लेजुङको सिस्नेमा १२ वर्षपछि घुन्साकै नियति: पहिलो पर्यटनमन्त्री र बहालवालाको एकैखाले प्रस्थान

काठमाडौं : ताप्लेजुङको घुन्सामा १२ वर्षअघि श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटना भएको थियो। २०६३ असोज ७ गते भएको दुर्घट्नामा विश्वकै परिचित संरक्षणविदहरुको निधन भएको थियो। दुर्घटनामा डाक्टर हर्क गुरुङलगायत २४ जनाको निधन भएको थियो।

१२ वर्षपछि त्यही भीआइपीको ज्यान लिने दुर्घट्ना सम्झाउने गरी ताप्लेजुङमै अर्को हेलिकप्टर दुर्घट्ना भएको छ। जिल्ला उही, दुर्घट्नाको कारण पनि उस्तै। '१२ वर्षपछि बगेको खोला फर्कन्छ' भने झैं ताप्लेजुङको पहाडमा फेरि एकपटक हेलिकप्टरमा सवारहरु एक चिहान भए। फेरि पनि देश स्तब्ध। 

बुधवार बिहान करिब ११:३० बजे पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको हो। पाथीभराको दर्शनका लागि हेलिकप्टर उडेको थियो। मन्त्री अधिकारीसहित दुर्घटनामा चर्चित व्यवसायी तथा निजी क्षेत्रको हवाई सेवा यति एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयमा कार्यरत युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका निर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदाश भोछिभोय, सुरक्षा गार्ड अर्जुन घिमिरेको थिए। पाइलट प्रभाकर केसी पनि यही दुर्घटनाको सिकार भए। 

घुन्साको दुर्घट्ना बाक्लो हुस्सुका कारण भएको थियो। दुर्घटनामा परी तत्कालीन वन तथा भु-संरक्षण राज्यमन्त्री गोपाल राई, उनकी श्रीमती मीना, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका सचिव डा. दामोदार प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेलको निधन भएको थियो। 

ताप्लेजुङ सदरमुकामदेखि घटनास्थल पुग्न साँढे दुई दिन पैदल लाग्ने उक्त दुर्घट्नामा विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्र प्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजय कुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, दुई सञ्चारकर्मी लगायत संरक्षण क्षेत्रका स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भएको थियो। 

विश्वमै पहिलोपटक वन जंगलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने क्रममा घुन्साको फलेस्थित धुन्चे पहाडमा ठोकिएर हेलिकोप्टर दुर्घटना भएको थियो।

दुर्घट्नाका मृत्यु भएकाको सम्झनामा प्रत्येक वर्ष असोज ७ गते राष्ट्रिय संरक्षण दिवस मनाइन्छ। विश्वकै चिरपरिचित संरक्षण विदहरुको निधन भएको उक्त दुर्घट्नाबाटै यो दिवस मनाइन थालेको हो। 

आज भएको दुर्घटनाले १२ वर्षपछि त्यस्तै कहालीलाग्दो अवस्थालाई देखायो। युवाबीच प्रिय र सम्भावना बोकेका मन्त्री रवीन्द्र अधिकारी, नेपाली पर्यटन क्षेत्रमा शीर्ष स्थानमा रहेका आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उच्चपदस्थ अधिकारीको एकै ठाउँमा मृत्यु हुनुले घुन्सा फेरि दोहरियो। घुन्सा दुर्घटनामा ज्यान गुमाउने डाक्टर हर्क गुरुङ नेपालको पहिलो पर्यटन मन्त्री थिए भने आज ज्यान गुमाउने रवीन्द्र आखिरी। हार्दिक श्रद्धाञ्जलि।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell