
हेलिकप्टर दुर्घटनामा सबैको मृत्युको दुखद् खबर फैलनुअघि प्रल्हाद केसी सामान्य मुडमै थिए। दुर्घटनाको खबर पाएको केही समयपछि उनी विमानस्थलतिर हान्निए। 'अहिलेसम्म केही थाहा छैन। मौसम खराब रहेछ,' उनले घटनालाई सामान्य लिँदै पहिलोपोस्टसँग भनेका थिए, 'एयरपोर्ट पुगेपछि सबै थाहा भइहाल्छ।'
जतिखेर उनी विमानस्थल पुगे, त्यतिखेर पुष्टि भइसकेको थियो मन्त्रीसहित हेलिकप्टरमा यात्रारत सबैको मृत्यु भइसकेको छ। सामान्य घटनाको अपेक्षा गर्दै विमानस्थल पुगेका प्रल्हादसामु बज्रपात भइसकेको थियो। एयर डाइनेस्टीको जुन विमान दुर्घटनामा परेको थियो, त्यसका पाइलट प्रभाकर प्रल्हादका कान्छा छोरा हुन्।
आज बिहान क्याप्टेन प्रभाकर ताहचलस्थित घरबाट तेह्रथुम जाने भन्दै हिँडेका थिए। मन्त्री रवीन्द्र अधिकारीसहितको टोलीलाई लिएर उनी उडेका थिए। त्यहाँबाट उनीहरु पाथीभरा मन्दिर दर्शनका लागि उडेका थिए।
दिउँसो दुई बजे एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टर दुर्घटना भएको खबर आउँदा त्यसको डिटेल विवरण आएको थियो। जसले पाइलट केसीका बाबु प्रल्हादलाई त्यति अत्याएको थिएन। छोरोलाई एयरपोर्टमा जिवितै भेट्ने अपेक्षासहित उनी घरबाट विमानस्थल पुगेका थिए। तर, उनको त्यो अपेक्षा उनी एयरपोर्ट पुग्नुअघि सार्वजनिक भएको समाचारले नामेट भइसकेको थियो।
खबर सार्वजनिक भएको एक घण्टाभन्दा बढी बित्दा पनि मानवीय क्षति र घटनाको थप विवरण कतैबाट पाएका थिएनन् प्रल्हादले।
खबरपछि घरमा केही समय बिताएर उनी विमानस्थल गएका हुन्। नागरिक उड्डयन प्राधिकरणले पाइलटसहित सातै जनाको मृत्यु पुष्टि गरिरहँदा उनी भने एयरपोर्टतिरको बाटोमै थिए।
त्यतिखेर पहिलोपोस्टसँग कुरा गर्दै उनले भनेका थिए, 'केही थाहा नै छैन। मौसमले गर्दा समस्या आयो होला। म एयरपोर्ट जाँदैछु, थप जानकारी लिन।'
तर, छोरा सकुशल फर्कन्छ भन्ने आशाले बाटोमै बिट मारिसकेको थियो जुन उनलाई थाहा थिएन।
दुई वर्षयता एयर डाइनेस्टीमा कार्यरत् क्याप्टेन प्रभाकर त्यसअघि श्री एयरलाइन्सको हेलिकप्टर चलाउँथे। भर्खर २६ वर्षका छोरो गुमाउँदा बुबा प्रल्हादको अवस्था कस्तो भयो होला?