PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पर्यटन मन्त्री अधिकारी सहितको शव पहिचान गर्न कति समय लाग्ला?



सागर बुढाथोकी

पर्यटन मन्त्री अधिकारी सहितको शव पहिचान गर्न कति समय लाग्ला?
फोटो रासस

काठमाडौँः खराब मौसमको कारण संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारी लगायत अन्य सात जनाको शव काठमाडौँ ल्याउन ढिलो भइरहेको छ।

काठमाडौँ ल्याए लगत्तै शव पोस्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाजगञ्ज लगिने भएको छ।

ताप्लेजुङमा शव परीक्षण हुन नसक्ने भएपछि शव पहिचानको लागि शिक्षण अस्पताल लग्नु परेको हो। घटनास्थलमा मन्त्री अधिकारी बाहेक अन्यको शव पहिचान गर्न सक्ने अवस्थामा नरहेको गृह प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।

फरेन्सिक एक्सपर्ट डा. प्रमोद कुमार श्रेष्ठका अनुसार शव पहिचान गर्नको लागि डेढ देखि दुई घण्टा लाग्नेछ। 'मैले सुने अनुसार शव डढेर नचिनिने अवस्थामा छ। यस्तो शव पहिचान गर्नको लागि डेढ देखि दुई घण्टा लाग्नेछ 'उनले भने 'शिक्षण अस्पतालमा एक पटकमा दुई जनाको शव परीक्षण गर्न मिल्छ। त्यही अनुसार हिसाब गर्दा चार/ पाँच घण्टामा शव पहिचानको काम सकिन्छ।'

शिक्षण अस्पतालका फरेन्सिक डाक्टर मणि महर्जनले पोस्टमार्टम गर्न डाक्टरको टोली 'स्ट्याण्डबाइ' रहेको बताए। 'शव पहिचानको लागि यहाँ ल्याउने कुरो भएको छ। हामी त्यसकै तयारी गर्दछौँ' उनले भने, 'हाम्रो फरेन्सिक एक्सपर्टको टोलीको छलफल भर्खर सकिएको छ। हामी तयारी अवस्थामा छौँ।'

बुधवार दिउँसो मन्त्री अधिकारी सहित सात जना चढेको हेलिप्टर दुर्घटना हुँदा सबैको मृत्यु भएको थियो। मन्त्रि अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell