PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बाभारियामा नेपालको पर्यटन सम्भावना खोज्ने अधिकारीको सपना अधुरै, म्युनिख विमानस्थलको व्यवस्थापनसँग थियो अर्को साता वार्ता



विधुर ढकाल

बाभारियामा नेपालको पर्यटन सम्भावना खोज्ने अधिकारीको सपना अधुरै, म्युनिख विमानस्थलको व्यवस्थापनसँग थियो अर्को साता वार्ता

काठमाडौं: ताप्लेजुङमा बुधवार दिउसो हेलिकोप्टर दुर्घटनामा पर्यटन, नागरिक उड्ययन तथा संस्कृति मन्त्री रवीन्द्र अधिकारीको निधन भयो।

सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने उनै अधिकारीको प्रस्तावमा कार्यक्रमहरु अगाडि बढेका थिए। यही कार्यक्रमलाई सफल बनाउन अधिकारी यसबीचमा लागिरहेका थिए।

उनी आज विहीवार पर्यटन सम्बन्धी कार्यक्रममा सहभागी हुन लागि युरोप यात्रामा निस्किसकेका हुने थिए।

विश्व पर्यटन संगठन (युएनडब्लुटीओ) को चौथो युरो–एसियन पर्वतीय पर्यटन सम्मेलनमा सहभागी हुन उनी जर्मनी जाने कार्यक्रम तय भएको थियो। मन्त्रालयका अनुसार मन्त्री अधिकारीसहितको टोली सम्मेलनमा सहभागी हुन जान विमानको टिकट देखि होटल बुकिङसम्म भइसकेको थियो।

परराष्ट्र मन्त्रालयले यस सम्बन्धी तयारीलाई अन्तिम रुप दिइसकेको थियो।

जर्मनीको स्वतन्त्र राज्य बाभारियामा आयोजना हुने कार्यक्रममा उनी त्यहाँ जाँदै थियो। संघीय जर्मनको राज्य भए पनि बाभारिया एक स्वतन्त्र  राज्यको रुपमा रहेको छ। बर्चटेसगाडनमा बर्चटेसगाडन ल्याण्ड रिजन, बाभारियन आर्थिक मामिला तथा उर्जा मन्त्रालय र जर्मन सरकारको आर्थिक मामिला उर्जा मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन हुँदै थियो।

सम्मेलनमा पर्यटन मन्त्री अधिकारीले दोस्रो सत्रमा ‘इन्ट्रोडक्ट्री रिमार्क’ दिने कार्यक्रम थियो। २ देखि ५ मार्चसम्म आयोजना हुने सम्मेलनको आयोजकले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार ३ मार्चमा दोस्रो सत्रको ‘हिमालय पर्यटनको विशेषताः चुनौती र सम्भावना’ विषय प्यान डिस्कसनमा मन्त्री अधिकारीले बोल्ने कार्यक्रम उल्लेख छ।

मन्त्री अधिकारी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरी त्यस तर्फ जाँदै थिए। तर उनको निधन भयो। उनको निधनसँगै नेपाली प्रतिनिधि मण्डलको युरोप भ्रमण स्थगित भएको छ।

मन्त्री अधिकारीको निधन भएसँगै भ्रमण रद्द भएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए। उपाध्याय पनि मन्त्री अधिकारीको भ्रमण टोलीमा सहभागी हुँदै थिए।

‘मन्त्री ज्यूले नेपालको पर्यटकीय सम्भावनालाई स्पष्ट पार्दै पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम थियो। तर, अकल्पनीय घटना भयो,’ प्रवक्ता उपाध्यायले भने।

अधिकारीको नेतृत्वमै सुरु भएको भ्रमण वर्ष २०२० को कार्यान्वयन गर्न नपाउँदै मन्त्री अधिकारी विदा भए। सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएर मन्त्री अधिकारी विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका थिए।

जर्मन भ्रमणकै क्रममा मन्त्री अधिकारीले जर्मनीको वर्लिनमा पर्यटन एक्स्पो ‘आईटीबी बर्लिन’ मा सहभागी हुने कार्यक्रमसमेत थियो। मार्च ४ देखि हुने एक्स्पोमा सहभागि भई नेपालको पर्यटकीय क्षेत्रमा लगानी र पर्यटकलाई निम्तो दिने तयारीमा थिए मन्त्री अधिकारी।

विश्वको अग्रणी ट्राभल सोको रुपमा रहेको ‘आइटीबी एक्स्पो’मा सहभागि हुन नेपाली पर्यटन व्यवसायीहरुसमेत त्यसतर्फ गइसकेका थिए।

आइटीबी एक्सपोको कार्यतालिका अनुसार नेपालका तर्फबाट नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी दीपकराज जोशी दीगो विकासका लागि गन्तव्य व्यवस्थापन शीर्षकको सत्रमा प्यानलिस्टको रुपमा सहभागी हुने कार्यक्रम थियो।

जोशी पनि मन्त्री अधिकारीको प्रतिनिधि मण्डलमा सहभागी हुँदै जर्मन जाँदै थिए। मन्त्री अधिकारीको निधनपछि उनको भ्रमण पनि स्थगित भएको छ।

जर्मन भ्रमणका क्रममा मन्त्री अधिकारीले त्यहाँको म्यूनिख विमानस्थलको अवलोकन गर्दै त्यहाँका अधिकारीसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको थियो।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल सञ्चालनका लागि म्यूनिख एयरपोर्टलाई दिने छलफल चलिरहेको थियो। सोही विषयमासमेत मन्त्री अधिकारीले त्यहाँको व्यवस्थापन समूहसँग छलफल गर्ने तयारीमा थिए।

तर उनको यो काम पनि अधुरै रह्यो। अर्को वर्षभित्र सञ्चालनमा आउने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण यो सरकार बनेपछि थप तीब्र गतिमा थियो। मन्त्री अधिकारी यसमा सक्रिय भएका थिए। तर, अब उनले यो विमानस्थल सञ्चालन भएको भने देख्न भने पाउने छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell