PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'क्याप्टेन'मा प्रियंकाको अनमोलसँग स्क्रिन सेयर: साउथ इन्डियन फिल्ममा काम गर्ने धोको



रीना मोक्तान

'क्याप्टेन'मा प्रियंकाको अनमोलसँग स्क्रिन सेयर: साउथ इन्डियन फिल्ममा काम गर्ने धोको

काठमाडौं: प्रियंका एम्भी अहिले दंग छिन्। डेब्यू फिल्म 'क्याप्टेन'को प्रचारमा रम्दै छिन्। युवा स्टार अनमोल केसीसँग पहिलो फिल्ममा स्क्रिन सेयर गर्न पाउँदा खुशीको सीमा छैन। फिल्म प्रदर्शनको संघारमा पनि छ।

हुन त फिल्ममा उनको मुख्य भुमिका छैन। तर, चलेको ब्यानरबाट दर्शकमाझ आफ्नो अभिनयको छवि छोड्न तयार छिन् उनी।

अडिसनको ढोका पार गरेर नै उनी टिममा आबद्ध भएकी हुन्। अनमोलको अभिनयमा 'क्याप्टेन' बन्ने घोषणा भएपछि अभिनेत्रीहरुको खोजी भयो। फिल्मकी कार्यकारी निर्माता जिया केसी र निर्देशक दीवाकर भट्टराईले नयाँ अनुहार खोजी गर्दै थिए। त्यही क्रममा मोडल प्रियंकाको इनस्टाग्रामको प्रोफाइल फोटोमा उनीहरुको नजर पर्‍यो।

उनलाई अडिसनको लागि बोलाइयो।

प्रियंकाले अडिसन दिइन् अनि छनौटमा परिन्। भन्छिन् 'वर्कसप भयो म पनि छानिएँ। '

२०१३ देखि उनले मोडलिङ थालेकी थिइन्। फोटोसुटदेखि अनि क्यालेन्डरका लागि फोटोसुट गराइसकिन्। उनलाई पहिलादेखि नै फिल्म गर्ने मन थियो। तर, राम्रो अफरको प्रतिक्षामा थिए उनी।

फिल्महरुको अफर त उनलाई मोडलिङ गरिरहँदा नै आउँथ्यो। तर फिल्ममा आफ्नो भुमिका चित्त बझ्दो हुन्थेन। 'क्याप्टेन'मा उनलाई आफ्नो भूमिका मन पर्‍यो। त्यसैले फिल्मको लागि मेहनत गरिन्।

सम्झन्छिन् 'म डेब्यू अभिनेत्री हुँ। टिममै अभिनय सिकें।'

उनका बुवा दक्षिण भारत केरलका हुन्। आमा नेपाली। उनको जन्म नेपालमै भयो। पढाइ पनि यतै। मोडलिङ पनि यतै थालिन्। अहिले उनलाई नेपालीसँगै साउथ इन्डियन फिल्ममा काम गर्ने धोको छ। उनले नेपालका ठूला ब्यूटी पेजेन्टमा सहभागी हुन नपाएको दुखेसो पोखिन्।

'ब्यूटी पेजेन्टमा सहभागी हुन पाइनँ। किनकि मलाई इन्डियन भनेर ठाउँ नै दिएनन्', उनले सुनाइन्।

आज मोडलिङकै कारण 'क्याप्टेन'मा अभिनय गर्ने पाएको उनी बताउँछिन्। थप्छिन् 'आफूलाई त नेपाली नै हुँ जस्तो लाग्छ। बाबा र आमा यतै होइसिन्छ। यतै जन्मे, यतै हुर्के तर ब्यूटी पेजेन्टमा म अटाउँदिन कहिल्यै।'

प्रियंका अहिले सिजेआइएम कलेजमा एमबीए गर्दै छिन्। उनको चौथौ सेमेस्टरको पढाइ चलिरहेको छ। स्नातकोत्तर सकेर उनलाई अभिनयमै करियर बनाउने रहर छ।

२३ वर्षीया प्रियंका र अनमोलको संजोग के छ भने, उनी दुई पहिला एउटै विद्यालय पढ्थे। चाँदबाग स्कूल।

अनमोल उनीभन्दा सिनियर विद्यार्थी। स्कूलका दिन सम्झनछन् 'अनमोल म भन्दा सिनियर थियो। त्यतिबेला एकदम क्यूट थियो उ। उसले एउटा डान्स कम्पिटिसनमा भाग लिँदा फस्ट भएको थियो। त्यहाँदेखि नै सबैजना अनमोलको फ्यान थिए। सायद उ त्यतिखेर ५ कक्षामा पढ्थ्यो।'

उनले अनमोल अभिनित पछिल्ला फिल्महरु हेर्न छुटाएकी छैनन्। अब त उनी अनमोलसँगै स्क्रिनमा आफूलाई हेर्न उत्साहित छिन्।

निकै आशावादी छिन् 'क्याप्टेन'बाट। उनलाई अभिनयमा अनमोलले पनि धेरै सहयोग गरेको बताउँछिन्।

उनलाई फिल्ममा अभिनय गर्न परिवारको साथ र सहयोग छ। भोलिका दिनमा बायोग्राफीमा आधारित फिल्म गर्ने रहर छ प्रियंकालाई।

डेब्यू अभिनयबाट दर्शकबाट प्रियंकाले कस्तो साथ पाउलिन् त्यो त फागुन १७ पछि नै थाह हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell